“हाम्रो घरमा पनि पारिवारिक भेला गरौं !”
पारिवारिक भेलाचाहिँ उत्तम पारिवारिक सञ्चार माध्यम
विद्यालयमा कक्षा बैठक भन्ने हुन्छ, अनि कम्पनीहरूमा टोली बैठक र कार्यकारी सम्मेलन जस्ता विभिन्न किसिमका भेलाहरू आयोजना गर्ने गरिन्छ । कुनै सङ्गठन सञ्चालनको निम्ति भेलाचाहिँ स्वाभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा सङ्गठन हो, जसमा समझदारी र सहमतिको निम्ति भेला आवश्यक हुन्छ ।
कसैले “पारिवारिक भेला गर्ने गर्नुभएको छ ?” भनेर सोध्यो भने “एक-अर्कासित मुश्किलले भेट हुन्छ,” “मेरो बच्चा अझै सानो छ,” “भेलामा खै के कुरा गर्ने र ?,” “उनीहरूले मैले भनेको सुने भइहाल्यो नि, भेला किन चाहियो र ?” यसरी प्राय: मानिसहरू पारिवारिक भेला आवश्यक नरहेको कुरा बताउने गर्छन् । व्यस्त औद्योगिक जीवनका कारण बुबा बाहिरको काममा, आमा घरायसी काममा, छोरा-छोरीहरू विद्यालयको अध्ययनमा व्यस्त रहने गर्छन् । यसकारण प्राय:जसो परिवारमा धेरै सदस्यहरू नभए तापनि पारिवारिक भेला गर्न गाह्रो हुन्छ । भेला भइहाल्यो भने पनि बताउने कुरा खासै नभएकोले कोही भेलाको बीचैमा उठेर जाने गर्छन् ।
पारिवारिक भेलाचाहिँ परिवारभित्र उब्जेका ठूला-साना समस्याहरूलाई हल गर्ने पहिलो कदम मात्र होइनकि परिवारजनबीच मेलमिलाप र नजिकको सम्बन्ध बनाउने सञ्चार-माध्यम पनि हो । यदि तपाईंले अझैसम्म गरिहेर्नुभएको छैन भने अबदेखि नै भए पनि गरिहेर्नुहोस् । सुरुमा अलि अनौठो लाग्न सक्ला, तर पछि बिस्तारै तपाईंले अर्को भेला कहिले हुने होला भनेर पर्खन थाल्नुहुनेछ ।
पारिवारिक भेला गर्नुको राम्रो पक्ष
जुनसुकै परिवारमा पनि व्यक्तिगत विचारहरूलाई आपसमा बाँडेर वार्तालाप गर्न सकिन्छ । यो कुरालाई मध्यनजर गर्ने हो भने पारिवारिक भेलाचाहिँ ईमानदार भएर हृदय खोल्ने एकदमै राम्रो अवसर हो । प्रत्येक सदस्यको सोचाइ र महसुस जान्न सकिने भएकोले सदस्यहरूबीचको आपसी सम्बन्ध मजबूत बनाउन सकिन्छ । यसको साथै सदस्यहरूले एक-अर्काको सोचाइ र रुचिको ख्याल राखेको कुरालाई विश्वास गरेर आफ्नो उपस्थितिलाई अझ महत्त्वपूर्ण ठान्न पुग्नेछन् ।
पारिवारिक भेलामा बुबा-आमाले एकतर्फी निर्णय लिने गर्नुभएको कुरा उठ्यो भने कुराकानीको सीमा बढ्ने गर्छ । एकसाथ नियमहरू बनाउने र समस्याहरू समाधान गर्ने गऱ्यो भने सबै जना एउटै डुङ्गामा यात्रा गरिरहेका छन् भन्ने महसुस हुनेछ । यसो गर्दाखेरि परिवारका सदस्यहरूबीच टिमवर्क हुनुको साथै कलह पनि कम हुन सक्छ ।
पारिवारिक भेला नियमित बन्यो भने छोरा-छोरीहरूले आफ्ना विचारहरू अभिव्यक्त गर्ने मौका पाउनेछन् । त्यसो हुँदा विद्रोहलाई कम गर्दै उनीहरूले कुनचाहिँ उपयुक्त कारण वा माग होइन भन्ने जानेर एकोहोरो ढिपी लगाउनेछैनन् । यसो गर्दै उनीहरूले अन्य व्यक्तिको विचारलाई सुनेर बुझिदिन सिक्नेछन्, अनि उनीहरूमा तर्कसङ्गत बोली बोल्ने र विचार व्यवस्थित गर्ने बानी बस्नेछ ।
पारिवारिक भेलाद्वारा बुबा-आमाले छोरा-छोरीहरूलाई अझ प्रभावकारी ढङ्गले हुर्काउन सक्नेछन् । छोरा-छोरीहरूको अनुरोधलाई नकार्नुको सट्टा “यसबारे पारिवारिक भेलामा कुरा गर्दा कसो होला ? अर्को भेलाको विषय राम्रो हुने भयो” भन्न सक्नुहुन्छ । बुबा-आमाले छोरा-छोरीहरूको अनुरोधलाई भेलाको विषय बनाउँदा अनावश्यक विवाद हुन पाउँदैन, र अर्को पारिवारिक भेलासम्म समस्याहरूले ठूलो रूप लिन सक्दैन ।
नियमित रूपमा पारिवारिक भेला गर्ने एक जना गृहिणीले छोरा-छोरीहरूप्रति गनगन गर्दा-गर्दा थकित भएर आफू उनीहरूबाट टाढिँदैगएको जस्तो लागेकोले पारिवारिक भेला गर्न थालेको कुरा बताइन् । अन्तत: पारिवारिक भेलाद्वारा उनले छोरा-छोरीप्रति गनगन गर्नु वा उनीहरूलाई गाली गर्नुभन्दा पनि उनीहरूसँग कुराकानी गर्न सकेकी थिइन् ।
पारिवारिक भेला गर्दा कस्तो कुरा गर्नुपर्छ ?
पारिवारिक भेला सुरु गर्नुअघि परिवारजनको राम्रो पक्ष वा सुधार हुँदैगएको पक्षलाई लिएर प्रशंसा गरिदिने अथवा आफू धन्यवादी भएको कुरा आपसमा बाँड्ने गर्नुहोस् । यसो गर्नाले तपाईंले परिवारको मनोबल बढाउन सक्नुका साथै उज्यालो र मैत्रीपूर्ण माहोल बनाउन सक्नुहुनेछ ।
भेलाको शीर्षकचाहिँ सबै सदस्यहरूले साझा गर्न सक्ने, जुनसुकै विषय राख्दा पनि हुन्छ । फोहोर सङ्कलन, घर सरसफाइ जस्ता घरायसी कामहरू विभाजन, परिवारजनलाई असुविधा भएको पक्ष अथवा सुधार गर्नुपर्ने पक्षसम्बन्धी केही नियम बनाउने कुरा गर्नुभए पनि हुन्छ । परिवारको आर्थिक अवस्था अथवा जन्म दिन, राष्ट्रिय बिदा, विद्यालय परीक्षा जस्ता आगामी कार्यक्रमबारे छलफल गर्नुभए पनि हुन्छ । यसको साथै कुनै मेन्यू बनाउनलाई सबैको रायहरू सङ्कलन गर्दा पनि हुन्छ । सबैले सजिलै पहुँच गर्न सक्ने ठाउँमा छलफलको विषयलाई टाँसेर राखिदिनुभयो र भेलाअघि परिवारजनलाई यसबारे सोच्ने समय दिनुभयो भने भेलाले अझ सक्रिय रूप लिनेछ । निर्णय गरिएको कुरा सबैले याद गर्न सक्ने गरेर एक ठाउँमा टाँसेर राखिदिनुहोस् ।
यदि पारिवारिक भेलाचाहिँ कसैलाई मूल्याङ्कन गर्ने समय बन्यो भने गम्भीर विवाद हुन सक्छ । त्यसैले सदस्यको गल्तीलाई औँल्याउने अथवा आलोचना गर्ने कुरा गर्नुहुँदैन । यदि तपाईं कुनै बच्चालाई अनुशासन सिकाउन चाहनुहुन्छ भने भेलामा होइनकि बरु व्यक्तिगत रूपमा ऊसित कुरा गर्नुभए हुन्छ ।
पारिवारिक भेला गम्भीर हुनुहुँदैन । तपाईं विभिन्न चीजको बारेमा कुरा गर्न सक्नुहुन्छ : एक-आपसमा माफी माग्ने कुरा, पुस्तकमा पढेको कुनै असल वाक्य, साथीबाट सुनेको रमाइला कहानी, आफूमा घटेको कुनै घटना, जीवनसम्बन्धी बुद्धि समाविष्ट असल कहानी र शिक्षा, समाजका केही मामिला इत्यादि ।
कहिलेकहीँ तपाईंले कुनै विशेष तयारी गर्न पनि सक्नुहुन्छ : कविता वाचन गर्ने, कुनै पुरानो तस्वीरद्वारा पुरानो स्मृतिलाई याद गर्ने, सदस्यहरूसँगै खेल खेल्ने, एक-अर्कालाई पत्र लेखेर सुनाउने अथवा सानो तर अर्थपूर्ण उपहार आदानप्रदान गर्ने । यदि तपाईंले यसरी भावनात्मक बन्धन बाँध्नुभयो भने परिवारजनले एक-अर्कालाई औधी प्रेम गर्न पुग्नेछन् ।
पारिवारिक भेला यसरी गर्न कोसिस गर्ने
‘पारिवारिक भेला’को विषयमा सोच्दा धेरै मानिसहरूले त्यसलाई बोझको रूपमा लिने गर्छन् । परिवार सबै एकसाथ भेला भएर कुराकानी गर्ने हो भनेर सोच्दै आरामले गर्दा हुन्छ । भेलाको निम्ति त्यस्तो ठोस प्रक्रिया नभए पनि प्रायः भेला सुरु भएको कुरा बताएर, शीर्षकको सुझाव दिएर त्यससम्बन्धी छलफल गर्ने कार्यसँगै भेला समाप्त गर्नुभए हुन्छ । बीचमा थप्न मन लागेका विषयहरू थप्न सकिनेछ । प्रक्रियाहरू एकदमै जटिल भयो भने भेला बोझ बन्न पुग्छ, तर माहोलअनुसार भेला लचकदार बन्यो भने उचित हुनेछ । प्रभावकारी पारिवारिक भेलाको निम्ति केही सुझावहरू छन् :
१. सबै सदस्यहरू सहभागी हुने
पारिवारिक भेलाचाहिँ सबै सदस्यहरूलाई पायक पर्ने समयमा गरेमा पूरै परिवारको लागि राम्रो हुन्छ । यदि जुवाइँ अथवा बुहारी वा सासू-ससुरा पनि सँगै बस्ने व्यक्ति हो भने उहाँहरूलाई पनि सहभागी गराउनुपर्छ । सानो शिशु वा बच्चा छ भने ऊ सुतिसकेपछिको समयमा भेला गर्दा हुन्छ । यदि कुनै सदस्यलाई भेलामा सहभागी हुन मन पर्दैन भने भेला हुनुको राम्रो पक्ष र त्यसको परिणामको विषयमा वर्णन गरिदिएर उहाँलाई अर्को भेलामा सहभागी हुने गराउनुपर्छ ।
२. नियमित रूपमा गर्ने
आवश्यक पर्दा मात्र भेला गर्ने होइनकि निश्चित मिति तोकेर नियमित रूपमा भेला गर्नु उचित हुन्छ । हप्ताको एक चोटि भेला गर्नु उचित हुन्छ, तर यदि कारणवश तोकिएको समयमा गर्न सकिएन भने तोकिएको दिनभन्दा एक दिनअघि वा पछि गर्न सकिन्छ । पारिवारिक भेलालाई अन्य प्रतिज्ञासरह महत्त्वपूर्ण ठान्नुपर्छ, अनि भेलामा दखल पार्ने कुनै काम गर्नुहुँदैन । टिभी खोलिएको छ भने निभाउने, फोन गर्नुपर्ने छ भने फोनमा छोटो कुरा गर्ने अथवा स्थगित गर्ने गर्नुपर्छ ।
३. कार्य विभाजन गर्ने
भेलाको नेतृत्व गर्ने सभापति र भेलाको अभिलेख राख्ने सचिव नियुक्त गर्नुहोस्, एक जनाले नै हरेक पल्ट गर्नुभन्दा पालैपालो गर्दा हुन्छ । पहिलो पटक भेला गर्न लागेको हो भने अथवा बच्चाहरू साना छन् भने बुबा-आमाले नै भेलालाई डोऱ्याउँदा उचित हुन्छ, तर माध्यमिक तहमा पढ्ने वा सोभन्दा माथिका बच्चाहरू छन् भने उनीहरूलाई नै डोऱ्याउन लगाउँदा उचित हुन्छ ।
४. आपसमा आदरसूचक बोली बोल्ने
भेलाको समयमा आदरसूचक बोली प्रयोग गर्दा उचित हुन्छ । आदरसूचक बोली बोल्दाखेरि सुन्ने व्यक्तिप्रति आदरको भाव लिन पुगिने हुँदा आफू स्वतः सचेत हुन पुगिन्छ । परिवारका सदस्यहरूले केही गरिदिऊन् भन्ने चाहँदा “… गरिदिनुभए राम्रो हुनेथियो” भन्दै मूड खराब नहुने गरी सल्लाह र आशापूर्ण बोली बोल्नुपर्छ ।
५. सबैलाई बोल्ने मौका दिने
पारिवारिक भेलामा प्रायः बुबा-आमाले धेरै बोल्ने गर्नुहुन्छ, अनि छोरा-छोरीहरूले भन्दा बढी एकाधिकार चलाउने गर्नुहुन्छ । पहिला बच्चाहरूलाई नै बोल्न दिएर उनीहरूको विचार सुनेपछि बुबा-आमाले बोल्दा उचित हुन्छ । हिचकिचाउने छोरा-छोरीहरूको अवस्थामा चाहिँ उनीहरू तयार छन् भने उनीहरूलाई बोल्न हौसला दिनुपर्छ । सबैलाई बोल्ने मौका मिल्ने गरी भेलाका सभापति विचारशील हुनुपर्छ ।
६. सर्वसम्मत निर्णय लिने
बहुमतको कदरचाहिँ प्रजातन्त्रको सिद्धान्त हो, तर पारिवारिक भेलामा सबै जनाको सहमतिमा निर्णय लिँदा उचित हुन्छ । किनकि फरक सोचाइ लिएको सदस्यलाई आफू एकलै पारिएजस्तो लाग्न सक्छ । यदि सबै जना निर्णयमा सहमत भएनन् भने अर्को उपाय सोच्ने समय लिनको निम्ति त्यसलाई अर्को भेलासम्म रोकेर राख्नुपर्छ । त्यसो गर्दा पनि भएन भने बुबा-आमाले नै अन्तिम निर्णय लिएर छोरा-छोरीहरूलाई सम्झाउनुपर्छ ।
७. निर्णय गरिएको कुरालाई जसरी पनि कार्यान्वयन गर्ने
कुनै कुराको निर्णय लिइएको छ भने त्यसलाई कार्यान्वयन गरे/नगरेको निश्चित गरेर, नगरेको अवस्थाको निम्ति कुनै सजाय तोक्न सकिन्छ । सजायचाहिँ अन्य सदस्यको हित हुने किसिमको हुनुपर्छ । यसो गऱ्यो भने सजाय पाउने व्यक्तिलाई नै खुशी मिल्न सक्छ । बुबा-आमाले प्रतिज्ञा पूरा गरेर उदाहरण देखाइदिएमा छोरा-छोरीहरूले त्यो उदाहरणलाई पछ्याउनेछन् । बुबा-आमाले कुनै प्रतिज्ञा गरेर पूरा नगर्दा छोरा-छोरीहरूले बुबा-आमाको कुरालाई हलुको ठान्न पुग्नेछन् ।
८. ध्यान दिनुपर्ने कुरा
- आफ्नो विचारमा मात्रै जिद्दी नगर्ने
- अर्को व्यक्ति बोलिरहेको छ भने बीचमा नबोल्ने वा उसको आलोचना नगर्ने
- धेरै योजनाहरू नबनाउने
- धेरै दबाब नदिने
- भेला धेरै लामो समयसम्म नगर्ने (एक घण्टा वा सोभन्दा कम गर्दा उचित हुन्छ ।)
सबै सदस्यहरू एकसाथ भेला हुँदा मेलमिलाप कायम गर्न सकिने भएकोले पारिवारिक भेला अर्थपूर्ण छ । यसकारण भेला घरमै गर्नुपर्छ भन्ने छैन । एकसाथ कुनै परिकार खाँदैगर्दा वा वनभोज जाँदैगर्दा पनि भेला गर्न सकिन्छ । त्यसको अतिरिक्त लामो यात्रा जाँदैगर्दा पनि भेला गर्न सकिन्छ । भेला समाप्त भएपछि ताली बजाउने वा एक-अर्कालाई अँगालो हाल्ने गर्नुहोस् । त्यसो गर्दाखेरि परिवारजनलाई केही उपलब्धि हासिल भएको महसुस हुनेछ ।