
‘खरबूजा सौखिन’ र ‘खरबूजा प्रेमी’
यीचाहिँ मैले मेरी बहिनीलाई दिएका उपनामहरू हुन् । उनलाई खरबूजा एकदमै मन पर्छ, तर मलाई चाहिँ त्यो खाँदाखेरि बीच-बीचमा बीउहरू आइरहने भएकोले अलि झन्झटिलो लाग्छ । बहिनी कामबाट घर आएपछि आमाले काटेर फ्रिजमा राखिदिनुभएको खरबूजा लिएर आफ्नो कोठामा जान्छिन् । अनि उत्साहित हुँदै सबै खरबूजा धमाधम खान्छिन् । उनले गर्मीयाममा त्यसो गरेको प्रायः म दिनहुँ देख्दछु ।
मैले आमालाई खरबूजा कहिले-कहिले किनेर ल्याउने गर्नुहुन्छ भनेर सोध्दाखेरि उहाँले एक हप्तामा एक चोटि किन्ने गरेको कुरा बताउनुभयो । मेरी बहिनी एकलैले एक महिनामा लगभग ५ वटा खरबूजा खाने गर्दिरहेछिन् । खरबूजा खाँदा-खाँदा कस्तो अमन नभएको होला भनेर म छक्क पर्थें । उनले जाडोयाममा समेत “खरबूजा खान मन लाग्यो” भन्ने गर्छिन् । कस्तो अचम्म !
पक्कै पनि आमाले खरबूजा सिद्धियो कि भनेर दिनहुँजसो फ्रिज खोलेर हेर्नुहुन्छ होला, किनभने मैले फ्रिज खोलेर हेर्दैपिच्छे जहिले पनि त्यहाँ खरबूजा हुन्छ । केही दिनअघि आमाले एउटा टिभी कार्यक्रम ध्यान दिएर हेरिरहनुभएको थियो । त्यस्तो विशेष के रहेछ भनी हेर्दा त त्यहाँ राम्रा खरबूजाहरू छान्ने उत्तम उपायहरू उल्लेख गरिएको रहेछ । कुन आकारको छान्ने भन्ने कुराको लागि खरबूजालाई उचालेर कतिको भारी छ हेर्ने, खोक्रो आवाज आउँछ कि भनेर त्यसको मुनिपट्टि औँलाले ट्वाक-ट्वाक हिर्काउने, रङ पहेँलो छ कि छैन इत्यादि विभिन्न उपायहरू टिभीमा उल्लेख गरिएको थियो ।
आमाले उत्तम खरबूजा छान्ने कुरामा त्यसरी ध्यान दिनुको कारणचाहिँ मेरी बहिनीलाई त्यो एकदमै मन पर्ने भएकोले हो । आमाले गहना छानेझैँ गरी उत्तम खरबूजा छानेर पसीना बगाउँदै त्यसलाई बोकेर घर ल्याउनुभएको स्वरूपलाई कल्पना गर्दाखेरि म स्तब्ध भएँ । आमाले यति परिश्रम गरिरहनुभएको कुरा के मेरी बहिनीलाई थाहा छ होला ?
हामीहरू सानो छँदादेखि हामीले खान चाहेको कुरा वा हामीलाई मन पर्ने खानेकुराहरू आमाले कहिल्यै बिर्सिनुभएन । हामीले खान मन लागेको कुरा बताएको केही दिनभित्रै उहाँले त्यो हाम्रो भोजन टेबिलमा राखिदिनुहुन्छ । अनि हामीले त्यो मनले चाहेजति खाएर अब पुग्यो भन्नेसम्म हामीलाई खुवाउनुहुन्छ । हामी प्रत्येकको रुचि फरक-फरक भएकोले सबैको रुचिअनुसारका परिकारहरू पकाउँदा उहाँलाई धेरै थकाइ लाग्छ होला ।
आमाको लगातारको प्रेमलाई मैले “मीठो छ” मात्र भनेर चुकाउन खोजेको कुराप्रति म क्षमाप्रार्थी भएँ । अझै पनि आमाले मौनतापूर्वक हामीलाई मीठो भोजन र प्रेम दिइरहनुभएको छ । म पनि अब त्यो प्रेमको अनुकरण गर्दै मीठा खानेकुराहरू पकाइदिएर परिवारको निम्ति सेवा गर्नेछु ।