आमा र स्ट्रबेरी

बाग उन जा / गुमी, कोरिया

8,666 भ्यु

म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो ।

एक दिन म साह्रै बिरामी परेकीले विद्यालयबाट छुट्टी लिन चाहन्छु भनेर आमालाई भनें । घरमा एकलै रहँदा मेरो हेरचाह गर्न कोही नहुने भएकोले आमाले विद्यालय जानू भन्नुभयो । २ घण्टा हिँडेर विद्यालय आइपुग्दा मलाई यति गाह्रो भएको थियो, कि म डेस्कमा घोप्टो परेर बसें । मेरो अवस्था देखेर शिक्षिकाले मलाई घर पठाउन खोज्नुभयो । २ घण्टाको बाटो हिँड्नुपर्ने कुरा सोचेर मैले केहीबेर त्यहीँ आराम गर्छु भनें । तर अवस्था झन् गम्भीर भएर विद्यालय छुट्टी हुँदासम्म त ममा उठ्ने शक्तिसमेत थिएन ।

त्यो समयमा अप्रत्याशित रूपले मेरी आमा पसीनाले भिज्दै विद्यालयमा आउनुभयो । वास्तवमा मेरो कोठा नजिकको शिक्षकले घरबेटी आन्टीलाई फोन गर्नुभएर मेरो अवस्थाबारे थाहा गराउनुभएको रहेछ । आमाको भिजेको ढाडमा बोकिएर घर फर्केपछि म ३ दिनसम्म थला परें । बिरामी छोरीलाई विद्यालय जान कर गरेकोमा सायद क्षमाप्रार्थी हुनुभएर होला आमाले के खान चाहन्छ्यौ भनेर सोध्नुभयो । जाउलोसमेत निल्न गाह्रो भएको अवस्थामा मैले स्ट्रबेरी खान मन छ भनें ।

त्यो समयमा स्ट्रबेरी यति महँगो थियो, कि त्योचाहिँ धनीहरूका लागि मात्र थियो । अझ त्यस बेला स्ट्रबेरी फल्ने समय पनि भएको थिएन । पाउन साह्रै कठिन भएको हुनुपर्छ, तर आमाले मेरो इच्छा सुन्नेबित्तिकै पर्याप्त मात्रामा स्ट्रबेरी किन्नुभयो । मेरा दिदीहरू बाहिर जानुभएको समयमा आमाले मलाई स्ट्रबेरी दिनुभएर छिटो खान भन्नुभयो । स्वादिष्ट स्ट्रबेरीहरू देखेपछि मैले आफू बिरामी भएको कुरासमेत बिर्सेर एउटा पनि बाँकी नराखी सबै खाएँ । त्यतिखेर यदि मैले ‘आमा, हजूर पनि एउटा खानुहोस् न’ भनेकी भए सायद अहिले म उहाँप्रति क्षमाप्रार्थी हुनुपर्ने थिएन होला ।

अहिले स्ट्रबेरी सामान्य बनेको छ, तर पनि स्ट्रबेरी फल्ने हरेक मौसममा मेरी आमाले एक टोकरी स्ट्रबेरी किनेर मलाई दिनुहुन्छ । के विगतमा भएको कुरा मलाई जस्तै, आमालाई पनि एउटा क्षमायाचनाको स्मृतिको रूपमा रहेको होला त ?