ताजभन्दा पनि सुन्दर मन
सन् २०१५मा १७ वर्षीय किशोरी मिन्ट खानिता फासाङले थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगिता जितिन् । प्रतियोगिता सकिएलगत्तै उनी आमाकहाँ दौडेर गइन् र घुडा टेकेर आमालाई दण्डवत् गरिन् । फोहोर उठाएर गुजारा चलाउने आमाले सडकमा ठूलो फोहोरको अगाडि घोप्टो परेर आफूलाई दण्डवत् गरिरहेकी छोरीलाई पिठ्युँमा थपथपाइन् । कुनै एक प्रतक्षदर्शीले यो दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरै मानिसहरूले खानिताको सन्तानोचित प्रेमको प्रशंसा गरे ।
गरिब परिवारमा जन्मिएकी खानिताले कलेज जानको लागि फोहोर सङ्कलन कार्यमा आफ्नी आमालाई सघाउने गर्थिन् । साथीको सहयोगमा उनले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । राम्रो जिउडाल, सुन्दर मन र सुन्दर स्वरूप भएकी खानिताको प्रवेशिका फारम उनकी साथीले भरिदिएकी थिइन् । प्रतियोगिता जितेपछि खानिताले भनिन्, “मैले आज यो सौन्दर्य प्रतियोगिता जित्न सकेकोचाहिँ मेरी आमाको प्रेरणाले गर्दा हो । जिउनका लागि मेरी आमा र म कडा परिश्रम गर्छौं, त्यसैले लाज मान्नुपर्ने कुनै कारण छैन ।”
गरिब परिवारका बाबजुद लज्जित नभईकन आमाप्रति कृतज्ञ भएकी ती किशोरीको सुन्दर मन तिनको ताजभन्दा बढी चम्किलो थियो ।