पिङ्क लेन्स प्रभाव

प्रेममा पर्दा मस्तिष्कको केन्द्रबाट डोपामिन हर्मोन उत्पन्न हुने भएकोले एकदमै खुसी र आनन्दित महसुस हुन्छ । स्वाभाविक रूपमा, अनुहार जीवन्त र उज्यालो देखिन्छ, धेरै मुस्कुराउन पुगिन्छ र यो संसार झन् धेरै उज्यालो र सुन्दर लाग्न थाल्छ । सधैँ राम्रो मुड हुने भएकोले पहिला रिस उठ्ने कुरा पनि अबचाहिँ सामान्य लाग्छ । आफूले माया गरेको व्यक्तिको कमजोर पक्ष देखिँदैन, तर राम्रा पक्षहरू मात्र देखिन्छन् । मनोविज्ञानमा, यो प्रक्रियालाई पिङ्क लेन्स प्रभाव भनिन्छ । गुलाबी चस्मा लगाउँदा आफूले प्रेम गरेको मानिस जे गर्दा पनि राम्रो लाग्छ ।
त्यो चस्मालाई कहिल्यै खोल्नु नपर्ने भए कति राम्रो हुन्थ्यो होला ! पिङ्क लेन्स प्रभावको अधिकतम समयावधि भनेको ३ वर्ष हो । व्यक्तिअनुसार फरक हुन सक्छ, तर समय बित्दैजाँदा बिस्तारै अर्को व्यक्तिको कमजोरी देखिन थाल्छ र पहिला राम्रो लागेको गुणसमेत अवगुण लाग्न थाल्छ । तर वास्तविकतामा अर्को व्यक्ति उस्तै हुन्छ, केवल तपाईंको मन परिवर्तन भएको हो ।
यद्यपि साँचो प्रेम त्यही क्षणदेखि सुरु हुन्छ । जब हामी अर्को व्यक्तिलाई उनीहरू जस्तो छन् त्यस्तै रूपमा स्वीकार गर्छौं, उनीहरूका कमजोरीहरूलाई आत्मसात गर्दै एक-अर्काको ख्याल राख्छौं, तब प्रेम र विश्वास अझ बलियो हुन्छ र त्यस्तो सम्बन्ध कहिल्यै टुट्दैन ।