
म उच्च माध्यमिक विद्यालयको तेस्रो वर्षमा अध्ययनरत छँदाको कुरा हो । मलाई पाकेट खर्च आवश्यक पर्दाखेरि बुबा-आमासँग नमागीकन मैले आफ्ना सामानहरू अनलाइनमार्फत बिक्री गर्ने गर्थें । प्रयोग भइसकेका सामानहरू बिक्री गर्दाखेरि हुने फाइदाहरू धेरै छन् । त्यसबाट मैले खर्च पाउन सक्ने मात्र होइन, आफूलाई नचाहिका सामानहरूलाई व्यवस्थित गर्दै आर्थिक व्यवस्थापनको भाव पनि लिन सक्थें । बाहिरी रूपमा अन्य विद्यार्थीले जस्तै कोठामा लगनशीलताका साथ पढिरहेको जस्तो देखिए तापनि मचाहिँ प्रयोग भइसकेका सामानहरू बिक्री गर्ने कामप्रति आकर्षित भएर ‘कसरी यो व्यापारद्वारा नाफा कमाउने होला ?’ भन्नेतर्फ केन्द्रित थिएँ ।
आफ्नो अमूल्य समयलाई सामान किनबेच कार्यमा खर्चने क्रममा मेरो शैक्षिक योग्यता परीक्षा(SAT) नजिकै थियो । त्यस बेला प्रहरी चौकीबाट फोन आयो । ठगी कार्यको लागि मसँग सोधपूछ गरिने कुरा बताइयो । बज्रपातजस्तै आइलागेको त्यो फोन कलले मलाई बितेको समयलाई फर्केर हेर्ने गरायो । तब मलाई एउटा व्यापार मामिला झल्याँस्स याद आयो । कुरो बुझिहेर्दा, मेरो सामान किन्न चाहेका एक जना व्यक्तिले अर्कै व्यक्तिलाई पैसा दिएर मबाट सामान ल्याइदिन भनेको रहेछ । अनि मबाट सामान लिएको व्यक्तिले मुख्य व्यक्तिकहाँ सामान नपुऱ्याईकन आफैले राखेको रहेछ । पैसा पठाउने व्यक्तिको हातमा सामान नपरेपछि बेच्ने व्यक्ति अर्थात् मैले नै सामान नदिएको होला भन्ने असमझदारी उत्पन्न भएको रहेछ ।
म अलि सानै भएकोले प्रहरी चौकीबाट मेरा बुबा-आमालाई फोन आयो । त्यो दिन बुबाले मलाई कोठामा बोलाउनुभयो । वधशालातिर घिसारिँदै मार्न लगिएको भेडा डराएजस्तै, मेरो डरको सीमा रहेन । उहाँ रहनुभएको कोठासम्म जाने बाटो एकदमै लामो र भयानक लाग्यो । डरले काँप्दै मैले ढोका खोलें । बुबा त कठोर अनुहार पारेर बसिरहनुभएको थियो । यसो-यसो भन्नुपर्ला भनेर तयार पारेका शब्दहरू दिमागबाट पूरै हराए । जसोतसो मैले सुरुदेखि अन्त्यसम्मका सम्पूर्ण घटनाक्रमबारे वर्णन गरिदिएँ । मेरो कुरा सबै सुन्नुभएपछि बुबाले मुख खोल्नुभयो ।
“त्यो तिम्रो व्यक्तिगत जिद्दी हो । छानबिनकर्ताहरूले पहिल्यै तिमीलाई दोषी ठहराएका छन् । के तिमीलाई उनीहरूले विश्वास गर्लान् र ? उनीहरूले तिमीप्रति शङ्का गर्दै अपराधीको रूपमा व्यवहार गरे पनि, म सधैँ तिम्रो साथमा हुनेछु । म तिमीलाई विश्वास गर्छु ।”
त्यस बेला सबै डर विलीन भएर ममा राहतको भाव जाग्यो । मैले पढाइमा ध्यान दिनुपर्नेथियो । मैले अन्यत्र मन लगाएर प्रहरी आउनेसम्मको अवस्था निम्त्याउँदा पनि बुबाले मलाई गाली गर्नुभएन, बरु उल्टै मलाई सान्त्वना दिनुभयो । तीन वा चार चोटिको अनुसन्धानपछि यथार्थ कुरो बाहिरियो । म निर्दोष साबित भएँ । अनि मैले सुरक्षितसाथ शैक्षिक योग्यता परीक्षा दिन सकें ।
पहिला मप्रतिको बुबाको सोचाइ मलाई पटक्कै थाहा थिएन, तर म समस्यामा पर्दैपिच्छे सधैँ मेरो साथमा रहनुहुने व्यक्ति नै मेरा बुबा हुनुहुन्छ भनेर मैले सोच्न पुगें । त्यस दिन बुबाबाट आएको न्यानो बोली मेरो निम्ति अविस्मरणीय कुरा बन्यो । म कठिन अवस्थाबीच गुज्रिँदैपिच्छे त्यसले मलाई थाम्ने गर्छ ।