ब्राजिलको आलागोवस राज्यको एउटा सानो सहर हो, पेनेदु । ७० हजारभन्दा कम जनसङ्ख्या भएको पेनेदुमा जागिर पाउन मुश्किल हुने भएकोले यहाँका धेरै मानिसहरू घरमै समय बिताउने गर्छन् । हामीले परमेश्वरको वचन सुनाउँदैछौं भन्यौं भने सायद फुर्सद भएर होला, उनीहरू स्वेच्छाले सुन्न त सन्छन्, तर सजिलै स्वीकार गर्दैनन् । सत्यता होस् या नहोस्, उनीहरू लामो समयदेखि धाउँदैगरेको आफ्नो मण्डली परिवर्तन गर्ने कुरालाई बोझको रूपमा लिन्छन् ।
केही महिनासम्म एक आत्मा पनि सियोनमा नडोरिएकोले हामी थकित हुनैलाग्दा, नयाँ यरूशलेम प्रचार उत्सवको बारेमा हामीले सुन्यौं । हुन त म र पति मात्र थियौं, तैपनि हामीले उत्सवको आनन्द उपभोग गर्ने निर्णय गर्दै नयाँ सङ्कल्पसाथ प्रचार सुरु गऱ्यौं ।
एक दिन हामीले मण्डली नै मन नपराउने एक जना व्यक्तिलाई भेट्यौं । उहाँले आफूमा भएका सबै गुनासोहरू पोख्नुभएपछि हामीले उहाँलाई “एकैछिन सत्यताको बारेमा जानकारी दिऊँ कि ? यदि रुचि लाग्दैन भने हामी जान्छौं” भन्दाखेरि उहाँ केही बेर सोचेर वचन सुन्न राजी हुनुभयो । तब हामीले तुरुन्त बाइबल खोलेर स्वर्गीय माताको गवाही दियौं । त्यो दृश्य हेरिरहनुभएकी उहाँकी आमाले ढोका पछाडिबाट हामीलाई बूढी औँला उठाउनुभयो । मण्डली मन नपराउने आफ्नो छोराले बाइबलको वचन सुनेको कुराप्रति उहाँ सन्तुष्ट देखिनुहुन्थ्यो ।
कुराकानी गर्ने क्रममा थाहा भयो, कि आमा जानुहुने मण्डलीप्रति छोरामा धेरै गुनासोहरू रहेछ । मण्डलीमा बढी नै लागिपर्नुभएकी आमाको कारण दिक्क भएका ती छोराको मन बुझाउन गाह्रै देखिन्थ्यो । अनि लामो समयदेखि अर्कै मण्डली धाइरहनुभएकी ती वृद्ध आमालाई पनि सत्यता स्वीकार्न गाह्रो लागेकोले हामीले बाइबल बन्द गऱ्यौं ।
केही दिनपछि, सुरुमा भेटेको व्यक्तिको घरभन्दा ठीक पछाडिको घरको ढोका हामीले ढकढक्यायौं । तर अचम्मको कुरा, सोही व्यक्तिकी आमाले ढोका खोल्नुभयो । त्यो घरमा दुई वटा ढोका छ भन्ने हामीलाई थाहै थिएन । पहिलै भेटिसकेका हामीलाई उहाँले स्वागत गर्नुभयो । यो पक्कै पनि परमेश्वरको योजना हो भन्ने सोच्दै हामीले उहाँलाई स्वर्गीय माताको बारेमा जानकारी दियौं ।
“पिता हुनुहुन्छ भने माता पनि हुनुपर्छ नि !”
गम्भीरतापूर्वक बाइबल अध्ययन गर्नुभएकी ती आमाले थुप्रै प्रश्नहरू सोध्नुभयो । उहाँ लामो समयदेखि जीवनको पानीको निम्ति तिर्खाइरहेको जस्तै देखिनुहुन्थ्यो ।
आमाले घरबाट टाढा रहेको मण्डलीमा २० वर्षदेखि पैदल गइरहेको कुरा बताउनुभयो । तर केही महिनादेखि खुट्टा दुखेर मण्डली जान नसक्नुभएको रहेछ, तर त्यसबीच उहाँको घरमा आएर अथवा फोन गरेर उहाँको हालखबर सोध्ने व्यक्ति एक जना पनि नभएको कुरा बताउनुभयो । उहाँले स्वर्गदूतहरू मेरो घरमा पठाइदिनुहोस् भन्दै व्यग्रतापूर्वक प्रार्थना गरिरहनुभएको रहेछ । तब त्यसरी हामीसँग भेट भएर उहाँले मुक्तिको खबर सुन्नुभयो ।
त्यसको एक हप्तापछि उहाँ स्वर्गीय परिवारको सदस्य बन्नुभयो । साँचो परमेश्वरको सन्तान बन्न पाएकोमा उहाँ अत्यन्तै खुशी हुनुभयो । त्यसको अघिल्लो दिनमा उहाँलाई निद्रा नै लागेनछ । “म एकदमै खुशी छु, यो सब पिता-माताको अनुग्रह हो” भन्दै उहाँ मुस्कुराइरहनुभयो । उहाँ अहिले खुट्टा दुख्दैन भन्नुहुन्छ, अनि आराधनाको दिनमा अलि अगाडि नै सियोन आएर आराधनाको तयारी गर्नुहुन्छ ।
आमाले “स्वर्गीय पिता-माताले मेरो आँखा खोलिदिनुभएजस्तै मेरो वरिपरिका मानिसहरूको आँखा पनि खोलिदिनुहुनेछ” भन्दै आफ्ना साथीहरूसँग हाम्रो परिचय गराइदिनुभयो । त्यसैले हामीहरू भेटघाट(भिजिट) गर्नमै व्यस्त भयौं । आमाको उमेरका उहाँका साथीहरूले तुरुन्तै सत्यता ग्रहण नगरे तापनि परमेश्वरको मण्डली असल छ भन्दै उहाँले आफ्ना परिवारसँग चिनजान गराइदिनुभयो ।
खेलकुदमा स्ट्राइकरलाई गोल गर्न सहयोग गर्ने व्यक्तिलाई ‘असिस्ट(assist)’ भनिन्छ । गोल गर्नमा निर्णायक भूमिका निभाउने भएकोले कहिलेकहीँ असिस्ट खेलाडीहरूले गोल गर्ने खेलाडीहरूले भन्दा पनि बढी प्रशंसा पाउँछन् । आमा लगायत परमेश्वरले डोऱ्याउनुहुने सुसमाचार कार्यमा सहयोग पुऱ्याउने आत्मिक असिस्टहरूका कारण पेनेदुभरि सुसमाचार तीव्र गतिमा प्रचार भइरहेको छ ।
नयाँ यरूशलेम प्रचार उत्सवद्वारा नयाँ मन लिने गराउनुभई अमूल्य फलहरू उपहारस्वरूप प्रदान गर्नुभएका स्वर्गीय पिता-मातालाई धन्यवाद चढाउँदछु । परमेश्वरको शक्ति र सहयोगद्वारा आगामी दिनमा पनि लगनशीलताका साथ सुसमाचारको पाइला सार्दै, परमेश्वरले हामीलाई पेनेदुमा सुम्पनुभएको मिसन चाँडै पूरा गर्नेछौं ।