हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू उपस्थित थिए । अधिकांश सन्तहरू भविष्यको योजना र सपना लिएका २०देखि २९ वर्षका विश्वविद्यालय विद्यार्थीहरू थिए । कोरियाको नजिकै रहेको मङ्गोलिया र हङकङजस्ता पूर्वी एसियाका क्षेत्रहरूदेखि लिएर पृथ्वीको विपरीत भागमा रहेको अर्जेन्टिना, उत्तरी यूरोपको फिनल्यान्ड र अफ्रिकाको बोट्स्वानासम्म भाषा र संस्कृति अनि वर्ग फरक-फरक भएको सबै महादेशका विभिन्न देशहरूबाट आएका सन्तहरू बाइबलको अगमवाणीअनुसार जीवनको पानीको मूल हुनुभएकी नयाँ यरूशलेम माताको अँगालोमा बाँधिए (इज ४७:१-९; गला ४:२६) ।
टाढाको देशबाट आएका सन्तहरूको हात एक-एक गरी समाउँदै, भेटेर प्रफुल्लित हुनुभएकी माताले उनीहरूको एकदमै तिर्सना लागेको कुरा बताउनुभयो । माताले हरेक आराधना तथा कार्यक्रमहरूमा उनीहरूको निम्ति आशिष्को प्रार्थना चढाइदिनुभयो । अध्ययनको साथै जीविकोपार्जनको निम्ति काम गर्नमा व्यस्त भए पनि सुसमाचारको निम्ति परिश्रम गर्ने विदेशका सन्तहरूलाई माताले “यहाँहरूले जोश र बलिदानद्वारा पिताको पाइलालाई पछ्याइरहनुभएको छ,” भनेर शक्ति दिनुहुँदै “नयाँ करारको मूल्य र मुक्तिको अनुग्रह महसुस गरेपछि नथाकीकन सुसमाचार कार्यमा समर्पित भएका प्रेरित पावलले जस्तै, छोरा-छोरीहरू पापको प्रलोभनमा नपरून् वा कठिनाइहरूमा हरेस नखाऊन् भनेर पापीको निम्ति मृत्युसम्म पीडा सहनुभएका परमेश्वरको प्रेमलाई महसुस गर्दै अन्त्यसम्म आत्मा बचाउने कार्यमा बल गरौं” भन्नुभयो (कल ३:१; याक ४:४; उप २:७-११) ।
महासचिव पास्टर गिम जु छलले “यहोशू र गिदोनको समयमा परमेश्वरको वचनमा आज्ञाकारी भएर सबैले एकसाथ नकराएका भए उनीहरूले कुनै हालतमा पनि शत्रुमाथि विजय हासिल गर्न सक्नेथिएनन्” भनेर एकताको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले सन्तहरूको हृदयमा ७ अरब मानव-जातिलाई प्रचार गर्ने भिजन खोपिदिनुभएर “हामी सबै जना उठेर एकसाथ सत्यताको ज्योति चम्काउँदै सारा जातिहरूलाई परमेश्वरकहाँ फर्काएर ‘सबै देशका जातिहरूलाई चेला बनाओ … मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ’ भन्नुभएका येशूज्यूको आज्ञा पूरा गरौं” भन्नुभयो (यहो ६:१-५; न्याय ७:१-२१; मत्ती २८:१८-२०; यशै ६०:१-५; रोम ८:१६-१८) ।
माताको विशेष हेरचाह अनि जहाँ गए तापनि “वी लभ यू” भनेर स्वागत गरेका कोरियाली सन्तहरूको प्रेम र विचारशीलताभित्र विदेशका सन्तहरूले सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय तथा स्थानीय मण्डलीहरूको भ्रमणबाट विभिन्न अनुभवहरू बटुले । ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरूले कोरियाली युवा तथा छात्र-छात्रा सन्तहरूमाझ सुसमाचारको भिजन बाँडे । सिस्टर पउला रेन्डोन(न्यू विन्डसर, न्यू योर्क, संयुक्त राज्य अमेरिका)ले भनिन्, “यो भ्रमणद्वारा मैले म एकलो छैनँ भनी महसुस गरें । प्रेम हुनुभएका पिता र माताको सन्तानको रूपमा सबैले आफूलाई दिइएको अवस्थामै मिसन पूरा गर्नमा सक्दो कोसिस गरेमा ७ अरब प्रचार कार्य सजिलै पूरा हुनेछ ।” ब्रदर रक्की फर्नान्डस(पुणे, भारत)ले भने, “विभिन्न देशका युवा सन्तहरूसँग गरेका कार्यक्रमहरूबाट ‘सुसमाचार निश्चय नै पूरा गर्नेछौं’ भन्ने आत्मविश्वास ममा जागेको छ ।” उनीहरूले आ-आफ्नो देश फर्किनुअघिको अन्तिम आराधनामा कोरियाली भाषामा गाएको नयाँ भजनले सुसमाचारको मिसन पूरा गर्ने उनीहरूको सङ्कल्प र उत्साह झल्काएको थियो ।
“सियोनका तारा हो ! प्रभातका शीत युवाहरू हो ! उठौं ज्योति चम्काऔं ! माताको महिमा चम्काऔं ! एलोहिम परमेश्वरले शक्ति दिनुभएको छ ! अब उठौं, युवाहरू हो, उठौं !”