समय सुनौलो हुन्छ, विशेष गरी परिवारसँग समय बिताउँदा समय सुनौलो हुन्छ

परिवारसँग समय बिताउँदा पारिवारिक सद्भाव र एकता बलियो हुन्छ ।

32,904 भ्यु

५३ वर्षीया एक महिला आफ्नो स्वास्थ्य जाँचको नतिजा हेर्न अस्पताल पुग्छिन् । तब डाक्टरले उनीसँग बाँच्नका लागि केवल ९ महिना मात्र रहेको कुरा बताउँछन् । त्यस्तो अप्रत्याशित नतिजा सुनेर ती महिला अवाक हुन्छिन् । यो एउटा भाइरल भिडियोको दृश्य हो (इन्टरनेट प्रयोगकर्ताहरूले कुनै विशेष कम्पनी वा उत्पादनको प्रचारका लागि ब्लग वा सामाजिक सञ्जालमार्फत स्वेच्छाले बनाएको भिडियो) । वास्तवमा उनलाई भनिएको त्यो ९ महिनाचाहिँ उनी बाँच्न सक्ने समय होइन, तर उनले आफ्नो परिवारसँग बिताउने समय हो । मानव आयुलाई ८५ वर्ष मान्ने हो भने, ५३ वर्षीया ती गृहिणिको बाँकी समय ३२ वर्ष हुन्छ । यदि यो ३२ वर्षको समयबाट काम गर्ने, सुत्ने, टिभी हेर्ने, स्मार्टफोन प्रयोग गर्ने, र एक्लै बिताउने समय घटाउने हो भने, परिवारसँग बिताउने समय केवल ९ महिना मात्र हुन्छ ।

आधुनिक मानिसहरूले सधैं “म व्यस्त छु” भन्ने गर्छन् । उनीहरू व्यस्त छन्, किनभने उनीहरू अबेरसम्म काम गर्छन्, थकित हुन्छन्, र उनीहरूसँग गर्नुपर्ने कामहरू धेरै हुन्छन् । … यसरी काममा व्यस्त भएर आफ्नो परिवारसँग समय बिताउन नसकी दौडिरहेका मानिसहरू अनगिन्ती छन् । अनेकन कम्पनी र सरकारी कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई कामपछि आफ्नो परिवारसँग समय बिताउन प्रोत्साहित गरिरहेका छन्, तर अझै पनि यो कुरा लागू हुन समय लाग्ने देखिन्छ । किनभने कामकाजका कारण परिवारसँग समय बिताउने कुरा सधैँ पछि सरिरहेको हुन्छ ।

परिवारसँग बिताएको समय र खुशीको सूचकांक अविभाज्य हुन्छ । उच्च खुशी सूचकांक भएका देशहरूको एउटा सामान्य विशेषता भनेको उनीहरूले परिवारसँगको समयलाई महत्त्वपूर्ण ठान्छन् । यो नै खुशी परिवारको निम्ति चाहिने अत्यावश्यक कुरा हो ।

प्रेम भनेको समय दिनु हो

बाल दिवसमा बालबालिकाहरू कुन उपहार सबैभन्दा बढी चाहन्छन् होला ? भिडियो गेम, स्मार्टफोन, पाकेट खर्च ? सन् २०१५मा एक जागिर अनुभव थिम पार्क कम्पनीले एउटा सर्वेक्षण गरेको थियो, जसअनुसार बालबालिकाले सबैभन्दा बढी चाहेको उपहार नै ‘आफ्ना बाबु-आमासँगको समय’ थियो । बच्चाहरूले महँगा उपहारभन्दा पारिवारिक जमघटहरू मन पराउँछन् ।

मनोवैज्ञानिक डा. डेभिड वाल्सका अनुसार, आमा-बाबुले आफ्नो बच्चासँग बिताउने समय दोब्बर बढाउनुपर्छ र उनीहरूका लागि खर्चने पैसा आधा घटाउनुपर्छ । किनभने भौतिक उपहारले क्षणिक आनन्द दिन्छ, तर परिवारसँग बिताएको हर्षपूर्ण समयचाहिँ लामो समयसम्म यादगार भइरहन्छ । यसै कुरासँग सम्बन्धित सन् २०१६को तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकाको एक प्राथमिक विद्यालयले नयाँ सेमेस्टर सुरु गर्ने विद्यार्थीहरूलाई गृहकार्य नदिने घोषणा गऱ्यो । साधारण गृहकार्यले बच्चाहरूलाई परिवारसँग बिताएको समयजस्तो मद्दत गर्न सक्दैन भन्ने उनीहरूको तर्क थियो । तसर्थ उनीहरूले विद्यार्थीहरूलाई गृहकार्य दिनुको सट्टा घरमा आफ्नो परिवारसँग बढी समय बिताउन र सम्बन्ध निर्माण गर्न आग्रह गरे ।

“गुलाफको महत्त्व त्यसमा खर्चिएको समयमा निर्भर हुन्छ”

सेन्ट-एक्सुपेरी(Saint-Exupéry)को उपन्यास ‘द लिटिल प्रिन्स’(The little prince)मा एउटा स्यालले सानो राजकुमारलाई यही भनेको थियो । यदि कुनै कुरामा रुचि र स्नेह छ भने, त्यसमा समय बिताउनु स्वाभाविक हो । “प्रेम भनेको समय दिनु हो” भन्ने भनाइजस्तै, परिवारसँग समय बिताउनुचाहिँ “म आफ्नो परिवारलाई प्रेम गर्दै उनीहरूको ख्याल राख्छु, र उनीहरूको साथमा हुँदा खुशी हुन्छु” भन्ने अर्थ हो ।

समयको मात्राभन्दा गुणस्तर बढी महत्त्वपूर्ण छ

मानिसहरूले बिदाको समयमा परिवारसँग समय बिताउने कुरा बताए पनि उनीहरू प्रायः सुत्ने वा टिभी हेर्ने गर्छन् । पारिवारिक समय बिताउनुको उद्देश्यचाहिँ सुमधुर सम्बन्ध बनाउन र एक-अर्काबीच तालमेल निर्माण गर्नको निम्ति हो । तर यदि सबैजना शारीरिक रूपमा एउटै ठाउँमा भए पनि आफ्नै काम गरिरहेका छन् भने कसरी सहानुभूति र तालमेलको सम्बन्ध निर्माण गर्न सकिन्छ र ?

समयको भौतिक मात्राभन्दा पनि समयको गुणस्तर अझ महत्त्वपूर्ण छ । परिवारसँग अर्थपूर्ण समय बिताउनको लागि एकसाथ जुनसुकै कार्य गर्दा हुन्छ । ध्यान दिएर हेर्ने हो भने, टिभीको अगाडि निष्क्रिय भएर बस्नुबाहेक परिवारहरूले सँगै गर्न सक्ने धेरै राम्रा कामहरू छन् । परिवारले चाहेको कुरालाई एकसाथ गर्नु राम्रो हो, र त्यसलाई उद्देश्य बनाएर कार्यान्वयन गर्नु अझ उत्तम हो । त्यो कुरा एकदमै भव्य हुनुपर्छ भन्ने जरुरी छैन । कुनै ठाउँमा घुम्ने, व्यायाम गर्ने, हाइकिङ जाने, खेलकुद गर्ने, सरसफाइ गर्ने, खाना पकाउने अथवा एकसाथ गर्न सकिने जुनसुकै कार्य गर्न सकिन्छ । आफू एकलैले भोजनको तयारी गर्दा गाह्रो हुन्छ, तर परिवारको साथमा गर्दा त्यो कार्य हर्षपूर्ण र यादगार हुन्छ ।

हामीले याद गर्नैपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, त्यो नै हामीले परिवारसँग समय बिताउन र हरेक क्षण हर्षपूर्ण बनाउनका लागि हरप्रयत्न गर्नुपर्ने कुरा हो । परिवारको सदस्यलाई गाडी चलाउन सिकाउँदा रिसाइयो अथवा कुकिज बनाउन सिकाउँदा उनीहरूको आलोचना गरियो भने हाम्रो अमूल्य समय बर्बाद हुनेछ र त्यो एउटा खराब स्मृति बन्नेछ ।

परिवार महत्त्वपूर्ण भएकोले परिवारसँग बिताउने समय पनि महत्त्वपूर्ण हुन्छ । तसर्थ टेलिभिजन, स्मार्ट फोन वा कम्प्यूटर प्रयोग गर्नुको सट्टा आफ्नो बहुमूल्य परिवारप्रति ध्यान केन्द्रित हुनुपर्छ ।

हर्षपूर्ण सम्झनाले परीक्षालाई पार गर्न मद्दत गर्छ

“घर वा बाल्यकालको सम्झनाजस्तो बलियो र उच्च सम्झनाहरू अरू केही हुँदैनन् । मानिसहरूले उच्च शिक्षाको कुरा गर्छन्, तर बाल्यकालमा सिकेका राम्रा र यादगार कुराहरू नै सबैभन्दा उत्कृष्ट शिक्षा हो । यस्ता राम्रा यादहरू लिएर जिउने हो भने मानिसको जीवन अन्त्यसम्मै सुरक्षित हुनेछ ।”

यो भनाइ महान् रुसी लेखक दोस्तोएभ्स्की(Dostoevsky)ले आफ्नो पुस्तक ‘द ब्रदर्स कारामाजोभ’(The Brothers Karamazov)मा लेखेका थिए । वास्तवमा एउटा अनुसन्धानले प्रमाणित गरेको छ कि, परिवारसँग खाना खानेजस्तो सामान्य गतिविधिले पनि बाल अपराध कम गराउँछ । एउटा स्थानीय प्रहरी निकायले हिंसाग्रस्त घरपरिवारमा पारिवारिक तस्बिर खिच्दा घरेलु हिंसा कम भएको कुरा देखाएको थियो । आफ्नो परिवारसँग समय बिताउँदा खुशी मान्ने मानिसहरूले खेल, इन्टरनेट वा लागूपदार्थको सहारा लिँदैनन् । परिवारसँगको राम्रा सम्झनाहरू घरलाई सधैँ स्वस्थ बनाउने खोपजस्तै हो ।

कुनै एक समयमा एउटा कम्पनी टाट पल्टिएकोले त्यसका कार्यकारी प्रमुख र उनको परिवार एउटा सानो भाडाको घरमा सर्न बाध्य भए । तर त्यस्तो कठिन अवस्थाको बाबजुद पनि त्यो कार्यकारी प्रमुखको परिवार एकतामा रह्यो । त्यसको रहस्य नै ‘सम्झनाहरूको खेल’ थियो । विगतका हर्षपूर्ण सम्झनाहरूको बारेमा कुरा गर्दै, उनीहरूले जीवनमा धेरै राम्रा कुराहरू भएको कुरा महसुस गरे र एक-अर्काको महत्त्व महसुस गरे ।

घरभरि पारिवारिक सम्झनाहरू समेटिएका तस्बिर र सामग्रीहरू राखेर खुशीको सम्झना गरिहेरौं । परिवारसँग हाँस्दा र रमाइलो गर्दा जम्मा हुने खुशीका सम्झनाहरूले हाम्रो हृदयलाई समृद्ध बनाउँछ र जीवनमा आउने परीक्षाहरूलाई पार गर्न मद्दत गर्दछ ।

“बुबा, म अर्को छुट्टीमा तपाईंसँग निश्चय नै समय बिताउनेछु”, “आज मैले साथीलाई भेट्नुपर्नेछ”… । यो र त्यो कारण दिँदै परिवारसँग बिताउने समय सारिरहेका छौं कि भनेर हामीले आफूलाई फर्केर हेर्नुपर्छ । हामीले हाम्रो परिवार सधैँ साथमा हुनेछ भनेर सोच्न सक्छौं । तर हामीलाई दिइएको समय सीमित छ । आफ्नो आमा-बाबुको असल छोरा-छोरी बन्ने र बच्चाहरूलाई बुबा-आमाको आवश्यकता पर्ने समय धेरै लामो हुँदैन । “हामी परिवार भएकाले जुनसुकै बेला पनि सँगै हुन सक्छौं” भन्ने सोचाइ लिँदा समय बितेर जान्छ र, ‘त्यो समय’ फेरि कहिल्यै फर्केर आउन सक्दैन ।

व्यस्त भए पनि आफ्नो परिवारसँग समय बिताउँदै खुशी बाँड्ने कार्य गरौं । हन त जीवनको कुनै पनि क्षण महत्त्वहिन हुँदैन तर त्यसमध्ये पनि परिवारसँग बिताएका क्षणहरू अझ महत्त्वपूर्ण र अमूल्य हुन्छन् ।