कसैको चित्त नदुखाउने र आफ्नो पनि दुख्न नदिने

मानिसहरूले प्रायः आफ्नो नजिकका व्यक्तिहरूबाट चोट पाउने र उनीहरूलाई नै चोट पुऱ्याउने गर्छन् । कसैलाई पनि चोट नपुऱ्याउने गरी सुमधुर पारिवारिक सम्बन्ध निर्माण गर्नका लागि आपसी समझदारी र एक-अर्काको भावनाको कदर गर्न आवश्यक छ ।

29,588 भ्यु

घाउ भनेको चोटपटक लागेको वा क्षति भएको शरीरको भाग हो । शरीर मात्र नभएर मनमा पनि चोट लाग्छ । शरीरका चोटहरू देखिन्छन्, तर मनका चोटहरू अदृश्य हुन्छन् । त्यसैले तिनीहरूलाई प्रायः बेवास्ता गरिन्छ । देखिने चोटलाई उपचार गरी निको पार्न सकिन्छ तर मनमा लागेको चोटलाई निको पार्न गाह्रो हुन्छ ।

“चोट नपाएको कुनै आत्मा हुन्छ र ?” भन्ने एउटा कविको भनाइझैँ, सबैले आफ्नो जीवनमा कम्तीमा एक चोटि चोट पाएकै हुन्छन् । अनि, हरेक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा अरूलाई चोट पुऱ्याएकै हुन्छन् । त्यसैले जीवन भनेकै निरन्तर चोट पुऱ्याउने, पाउने र अरूसँगको सम्बन्ध सुधार्ने प्रक्रिया हो भन्दा अतिशयोक्ति हुँदैन ।

चोट पुर्‍याउन सजिलो छ, तर त्यसबाट निको हुन समय र प्रयास दुवै चाहिन्छ । चोटको गहिराइअनुसार त्यो चोट निको हुन दिन वा महिनौँ लाग्न सक्छ तर केही चोटहरू कहिल्यै निको नहुन पनि सक्छन् । चोट गम्भीर हुँदा, बहुमूल्य सम्बन्ध गुम्ने अवस्थासमेत हुन्छ । त्यसैले, आफ्ना प्रियजनहरूसँग खुशी जीवन बिताउनका लागि उनीहरूलाई चोट नपुऱ्याउने अभ्यास मात्र होइनकि सक्रिय भएर त्यो चोट निको पार्नका लागि मद्दत पनि गर्नुपर्छ ।

चोट नपुऱ्याउनका लागि दूरी कायम गर्नुपर्छ

आमा-बाबुले साना बालबालिकाहरूलाई चोट पुऱ्याउँदा उनीहरूमा ठूलो असर पर्न सक्छ । पति-पत्नीबीचको झगडा, छोरा-छोरीबीचको भेदभाव, अत्यधिक अनुशासन र सजाय, आफ्ना छोरा-छोरीमा रिस पोख्ने र अरू बच्चाहरूसँग तुलना गर्ने जस्ता कुराहरूले बच्चाहरूलाई चोट पुऱ्याउँछ । “तिमी सधैँ मलाई मन नपर्ने काम गर्छौ”, “के तिमी राम्ररी गर्न सक्दैनौं ?”, “यस्ता बोलीहरूले बच्चाहरूको मनमा मात्र नभएर मस्तिष्कमा पनि हानि पुऱ्याउँछ ।”

आमा-बुबाले पनि आफ्ना छोरा-छोरीबाट चोट पाउँछन् । छोसन इल्बो नामक एउटा कोरियाली प्रेसले “आफ्ना छोरा-छोरीले बोलेको सबैभन्दा पीडादायी शब्द” शीर्षकमा २०५ जना अधबैँसे मानिसहरूलाई समेटेर एउटा सर्वेक्षण गरेको थियो, जसको परिणामअनुसार “मेरो बुबासँग कुरा गर्न गाह्रो छ” भन्ने उत्तर बढी मात्रामा आएको थियो । बुबा-आमाको मन दुखे पनि उहाँहरूले त्यो नदेखाउने भएकोले बच्चाहरूलाई आमा-बुबाको मन दुखेको कुरा थाहा हुँदैन । त्यसैले आफ्नो बच्चाहरूबाट पाएको चोट पनि निकै पिडादायी हुन्छ ।

पति-पत्नीबीचको सन्दर्भमा पनि उस्तै हो । मनमुटाव भएका अधिकांश दम्पतिहरूलाई आफूले पाएको चोट सम्झना हुने भएकोले सम्बन्ध सुधार गर्न गाह्रो हुन्छ । उनीहरूको मनमा बाँकी रहेका तीता भावनाहरूले सानो कुरामा पनि झगडा उत्पन्न गराउँछ, जसका कारण उनीहरू फेरि त्यो चोट बोकेर बस्न बाध्य हुन्छन् । झगडाको विषय बिर्सिन सकिए पनि, बोलीले दिएका चोटहरू प्रायः बिर्सिन सकिँदैन ।

घरचाहिँ भावनात्मक चोटहरू निको पार्ने र सान्त्वना मिल्ने ठाउँ हो, तर कहिलेकहीँ यो ठाउँ चोटको स्रोत पनि बन्न सक्छ । त्यसोभए किन मानिसहरूले आफ्ना नजिककाहरूलाई चोट पुऱ्याउँछन् होला ? कुनै व्यक्तिसँग नजिक हुँदा त्यो व्यक्तिलाई आफूजस्तै ठान्न पुगिन्छ । अर्को शब्दमा भन्नुपर्दा उनीहरू फरक विचार भएका फरक व्यक्ति हुन् भन्ने कुरा बिर्सन पुगिन्छ ।

केही नभनी अरूले आफ्नो भावना बुझून् भन्ने चाहना र अर्को व्यक्तिले आफ्नो अपेक्षाअनुसार गरिदेओस् भन्ने सोचाइले यस्तो अवस्था उत्पन्न हुन्छ । यसकारण कहिलेकहीँ नचाहँदा नचाहँदै अविवेकी भएर कठोर शब्दहरू बोल्न पुगिन्छ । जे गरे पनि मेरो परिवारले बुझिदिनेछन् भन्ने सोचाइ र परिवार भएकोले यति त सहनुपर्छ भन्ने गलत औचित्यले परिवारलाई चोट पुर्‍याउँछ ।

आफ्नो नजिकका कसैलाई पनि चोट नपुऱ्याउनका लागि मनोवैज्ञानिक दूरी कायम राख्नु आवश्यक छ । परिवारसँग एकदमै घुलमिल भए पनि हामीले उनीहरूसँग बोल्न नहुने कुराहरू र सीमा नाघ्न नहुने कुराहरू पनि छन् । यसको अर्थ परिवारका सदस्यहरूसँग भावनात्मक दूरी राख्नुपर्छ भन्ने कुरा होइन, तर उनीहरूको सम्मान गर्नुपर्छ र उनीहरूमा पनि छनौट गर्ने स्वतन्त्रता छ भनेर स्वीकार्नुपर्छ भन्ने कुरा हो । मनोवैज्ञानिक दूरी ठीकसँग कायम गर्दा बोली वा कार्यद्वारा अरूलाई चोट पुऱ्याउने कुराप्रति सावधान हुन पुगिन्छ र अझ विचारशील भएर सोच्न पुगिन्छ ।

अर्को व्यक्तिको पीडाप्रति सहानुभूति दर्शाएर माफी माग्ने

प्रायः मानिसहरू लामो समयसम्म आफूलाई चोट पुगेको कुराको सम्झना राख्छन्, तर अरूलाई चोट पुऱ्याएको कुराबारे भने अनभिज्ञ हुन्छन् । अनि कसैलाई चोट पुर्‍याएको कुरा याद भए पनि, त्यसलाई मनमा खासै राख्दैनन् । तर उल्टै “मैले तिमीलाई चोट पुऱ्याएकै छैन ।”, “यति सानो कुरामा पनि तिमी किन रिसाउँछौ ?”, वा “यति सानो कुरा पनि बुझ्दैनौ ?” भन्दै आफ्नो बचावा गर्न खोज्छन् । यदि जसलाई चोट पुर्‍याएको छ उहीसँग गुनासो गऱ्यो अथवा त्यो व्यक्ति दुखी हुँदा पनि बेवास्ता गऱ्यो भने, समस्या हुनेछ । महत्त्वपूर्ण कुराचाहिँ आफ्नो दृष्टिकोण नभएर, अर्को व्यक्तिलाई चोट लागेको छ भन्ने यथार्थता हो ।

वास्तवमा, आफूले अरूको भावनामा चोट पुऱ्याएको कुरा स्वीकार्न सजिलो हुँदैन । अरूको भावनामा चोट पुऱ्याउने मनसाय नभए पनि अर्को व्यक्तिले असहज महसुस गर्दा अवस्था निराशाजनक हुन सक्छ । तर जानमा होस् या अजानमा, यदि आफ्नो कारणले कसैको चित्त दुखेको छ भने आफ्नो गल्ती स्वीकारेर त्यो सम्बन्धलाई बचाउन कोसिस गर्नुपर्छ । अजानमै कसैको चित्त दुखाएको छ भने पनि माफी माग्दा राम्रो हुन्छ । सम्बन्ध जति नजिक हुन्छ त्यति नै बेवास्ता गर्न पुगिन्छ । यस्तो अवस्थामा चित्त दुखेको व्यक्तिको मन पूर्ण रूपमा बन्द हुन सक्छ ।

ईमानदारितापूर्वक मागेको माफीले चोट निको बनाउँछ र त्यो व्यक्तिलाई प्रभावित तुल्याउँछ । माफी माग्दा सीधै “माफ गर्नुहोस्” मात्र नभनिकन आफ्नो गल्तीलाई स्वीकार्दै त्यसलाई अभिव्यक्त गर्दा अझ प्रभावकारी हुन्छ । त्यसो गर्नको लागि ध्यानपूर्वक अर्को व्यक्तिको कुरा सुन्नुपर्छ । चोट पाएको व्यक्तिको कुरा सुनिदियो भने उनीहरूको मन बिस्तारै खोलिन थाल्छ ।

अर्को व्यक्तिले आफूलाई गलत तरिकाले बुझेको भए पनि उनीहरूले मनको कुरा व्यक्त गर्दा बीचमा नरोकिकन उनीहरूको कुरा सुनिदिनु एकदमै महत्त्वपूर्ण हुन्छ । यदि कुनै कुरा व्यक्त गर्न मन छ भने, अर्को व्यक्तिले बोलिसकेपछि आफ्नो कुरा व्यक्त गर्नुपर्छ । अर्को व्यक्तिको कुरा ध्यान दिएर नसुनी के प्रतिक्रिया दिने भनेर सुचियो, अथवा उनीहरूको कुरा कहिले सकिएला भन्ने कुरामा मात्र केन्द्रित भयो भने उक्त व्यक्तिको कुरा ध्यानपूर्वक सुन्न सकिँदैन । सुरुमा उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुपर्छ ।

त्यसरी ध्यान दिएर उनीहरूको कुरा सुन्दा सहानुभूति दिन सकिन्छ र उनीहरूको दुःख र कष्टलाई राम्ररी बुझ्न सकिन्छ । कष्टप्रति संवेदनशील हुने र आफूले चोट पुऱ्याएको अवस्थामा ईमानदार भएर माफी माग्ने व्यक्तिसँग जो कोही पनि खुलेर कुरा गर्न सक्छ ।

क्षमायाचनाको शक्तिचाहिँ हामीले सोचेभन्दा ठूलो हुन्छ । माफी माग्दा दुखेको घाउ क्षणभरमै निको हुन्छ । माफी माग्नु भनेको हार होइन, तर हृदयमा भएका गहिरा घाउहरू निको पार्ने अद्भुत उपाय हो र आफ्ना प्रियजनहरूसँगको सम्बन्धलाई उकास्ने साहसी कार्य हो ।

मानसिक रोग प्रतिरोधात्मक क्षमता निर्माण गर्ने

सामान्यतया मन दुख्दा आफ्नो सन्तुलन, निर्णय गर्ने क्षमता र आत्मसंयम गुमाउन पुगिन्छ । अनि क्रोधित हुँदै “कसरी मलाई तिनीहरूले यस्तो गर्न सक्छन् ?” भनेर सोच्दै उनीहरूलाई पनि त्यस्तै पीडा दिनको लागि प्रतिशोधको भावना लिन पुगिन्छ । तर के आफूले भोगेको पीडा अरूलाई दिँदा त्यो पीडा हराउँछ त ? जब कसैलाई घृणा गर्न थालिन्छ, तब उसले सही कुरा गर्दा पनि असहमत भइन्छ र उसले असल काम गर्दा पनि असन्तुष्ट भइन्छ । यी सम्पूर्ण कुराद्वारा मनको चोट अझ गहिरिँदै गएर त्यो सम्बन्ध जोगाउन मुस्किल हुन्छ ।

कसैलाई पनि चोट पाउन मन लाग्दैन । तर भविष्यमा अरूले आफूसँग कस्तो बोली बोल्छन् भन्ने कुरा अड्कल्न गाह्रो हुने भएकोले त्यस्ता कुराहरूप्रति सजग हुँदै आफ्नो प्रतिरक्षा शक्ति बढाउनुपर्छ ।

एउटै कुरा भए पनि कोही त्यो कुराबाट दुखी हुन्छन् भने कोही चाहिँ हुँदैनन् । त्यसैले चोट लाग्ने कारणचाहिँ कुनै व्यक्तिको अवस्था, बोली वा व्यवहार मात्र नभएर त्यो परिस्थितिलाई स्वीकार्ने उसको भावनात्मक अवस्था पनि हो । यस्ता कुराहरूलाई हृदयमा खोपियो भने जीवनमा आउने समस्याहरूलाई आत्मविश्वासका साथ राम्ररी समाधान गर्न सकिन्छ । आफूभन्दा फरक मानिसहरूलाई उनीहरू जस्तो रूपमा छन् त्यस्तै रूपमा स्वीकार्ने, उनीहरूले गर्ने कार्यको पछाडि कुनै स्वाभाविक कारण छ भनी सोच्ने, कसैमाथि अत्यधिक आशा गर्ने बानी हटाउने, अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्न प्रयास गर्ने, भावनाहरूलाई नियन्त्रण गर्ने, परिस्थितिलाई निष्पक्ष रूपमा हेर्ने – यी सबै मानसिक प्रतिरोधात्मक क्षमता बलियो बनाउने प्रभावकारी उपायहरू हुन् ।

वास्तवमा, हामीले हाम्रो दैनिक जीवनमा भोग्ने चोटहरू मुख्यतया कुनै दुर्भावना वा नियतविनाका सामान्य कुराहरूबाट उत्पन्न हुन्छन् । योचाहिँ अर्को व्यक्ति खराब भएकोले होइनकि, आफ्नो भावनाप्रति बफादार हुने क्रममा अरूप्रति विचारशील हुन नसकेको अथवा तिनीहरूको फरक सोचाइ र अवस्था भएकोले गर्दा हो । अर्को कारणचाहिँ तिनीहरू आफूलाई व्यक्त गर्नमा कमजोर भएकोले गर्दा हो । फरक मानिसहरूसँग जिउने क्रममा यस्ता अवस्थाहरू निश्चित रूपमा भोग्न पुगिन्छ ।

कसरी स्वीकार गर्ने र निको हुने भन्ने कुराको आधारमा चोटले मानिसलाई परिपक्व र बलियो बनाउँछ । अनि जति परिपक्व हुँदै गइन्छ त्यति नै चोटप्रतिको हाम्रो दृष्टिकोण र व्यवहार लचिलो हुँदै जान्छ । कसैलाई घृणा गर्दा जस्तोसुकै कार्य गरे पनि त्यो कार्य गर्ने क्षमता घट्नेछ र खुशी हुन सकिनेछैन । घृणा र क्रोधमा समय र ऊर्जा खर्चिनका लागि के हाम्रो जीवन छोटो छैन र ? स-साना कुराहरूमा मन दखाउनुको सट्टा ती कुराहरूमा धन्यवादी र आनन्दित होऔं ।

भनिन्छ, “यदि चोट पाउन मन छैन भने कसैलाई प्रेम नगरौं ।” प्रेममा चोट हुन्छ । प्रेमचाहिँ सकारात्मक कुराहरूका साथै पीडा सहने प्रतिज्ञा हो । के परिवारले अनगिन्ती पीडाहरूका बाबजुद निःशर्त प्रेम गर्दैन र ? बलियो सम्बन्ध भएको परिवारले एक-अर्कालाई प्रेम गर्न छोड्दैन, बरु चोट र कलहलाई जित्ने उपायहरू खोजिरहन्छ । जब परिवारका सबै सदस्यहरूले एक-अर्काप्रति विचारशील हुँदै प्रेम व्यक्त गर्छन् तब त्यो घर सबै चोटहरू निको हुने संसारको सबैभन्दा न्यानो आश्रय बन्नेछ ।