शैतानको योजनाअनुसार पापी आत्माहरूलाई बचाउन येशूज्यू यो पृथ्वीमा शरीरमा आउनुभयो, र पापबलिको रूपमा बलिदान हुनुभयो । बाइबलमा “पापको ज्याला मृत्यु हो” भनिएको छ । त्यसैले पापी आत्मालाई बचाउनको निम्ति पाप नभएको धर्मी मानिस मर्नैपर्छ । पुरानो करारको समयमा पापी मानिसलाई छोडिदिँदा त्यो छोडिदिने व्यक्ति त्यसको सट्टामा मर्नुपर्थ्यो (१राजा २०:४२)। स्वर्गीय संसारबाट आएका पाहुनाहरू, अध्याय १३ ‘पहिलो आदम र अन्तिम आदम’बाट】

१. शाब्दिक अर्थ

ग्रीक भाषामा छुटकारालाई ‘λυτρον [Lutron]’ भनिन्छ, जसको अर्थ दास वा बन्दीको रिहाइको सट्टामा माग गरिने रकम (फिरौती) हो ।

२. इतिहासमा उल्लेख गरिएको छुटकाराको अर्थ (१ राज २०:१-४३)

इस्राएलका राजा आहाबले अरामका राजा बेन-हददका सेनाविरुद्ध युद्ध गरे । उनले बत्तीस राजाहरू, उनीहरूका घोडाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा (इस्राएलको राजधानी) घेरा हालेर त्यसलाई आक्रमण गरे । अरामका राजा बेन हददले इस्राएललाई आत्मसमर्पण गर्न भने तर आहाब राजाले तिनीहरू विरुद्ध लड्ने निर्णय गरे ।

त्यसपछि परमेश्वरका एक जना अगमवक्ता आहाब राजाकहाँ आए, र परमेश्वरले अरामका सेनालाई इस्राएलको हातमा सुम्पनुहुने [परमेश्वरले इस्राएललाई अरामको सेनामाथि विजयी हुन दिनुहुनेछ] कुरा बताए । परमेश्वरको वचनअनुसारै इस्राएलले युद्धमा ठूलो विजय हासिल गऱ्यो ।

अरामका राजा त्यहाँबाट भागे, र उनले “तिनीहरूका ईश्वरहरू [इस्राएलका परमेश्वर] त पहाडहरूका ईश्वरहरू हुन् । यसैकारण तिनीहरू हामीहरूका निम्ति साह्रै शक्तिशाली थिए । तर यदि हामीले तिनीहरूसित मैदानमा लडाइँ गऱ्यौं भने, हामी तिनीहरूभन्दा अझ शक्तिशाली हुनेछौं” भनी आफूलाई सान्त्वना दिए ।

यसरी इस्राएलले अगमवक्ताको सल्लाहलाई हृदयङ्गम गऱ्यो र अरामी सेनाले अर्को वर्ष पक्कै पनि आक्रमण गर्नेछ भन्ने कुरा विश्वास गर्दै सेना निर्माणमा व्यस्त भयो । तर जब उनीहरू अरामका सेनाहरूसित भिड्नलाई निस्के, तब उनीहरूको सैन्य शक्ति अरामको सैन्य शक्तिसँग तुलना गर्न नसकिने थियो । यस्तो लेखिएको छ, “इस्राएलीहरूले उनीहरूको विपरीत छाउनी बनाए । इस्राएलीहरू बाख्राका दुई ससाना बगालजस्तै थिए, तर अरामीहरूचाहिँ मैदानका चारैतिर फैलिएर बसे” (१ राजा २०:२७) ।

इस्राएलका राजा अगाडि उभिएका परमेश्वरका अगमवक्ताले फेरि परमेश्वरको इच्छा सुनाए । “परमप्रभु यसो भन्नुहुन्छ: ‘अरामीहरूले परमप्रभु त डाँडाहरूका ईश्वर हुन्, बेँसीका ईश्वर होइनन् भनी सम्झन्छन् । यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्’ ।” परमेश्वरको सहयोगमा इस्राएली सेनाले ठूलो विजय हासिल गर्‍यो । अरामका राजासँग इस्राएलका राजालाई आफू र आफ्ना मानिसहरूलाई छोडिदिन बिन्ती गर्नुबाहेक अर्को कुनै विकल्प थिएन । अरामका राजाको कुरा सुनेर आहाबले गर्व गरे । अनि परमेश्वरले उनको हातमा सुम्पिनुभएको बेन-हदद राजा र उनका प्रजालाई छोडिदिए ।

केही समयपछि, परमेश्वरको वचन प्राप्त गरेका एक जना अगमवक्ताले युद्धमा घाइते भएको सिपाहीको भेष धारण गरे र आँखामा फेटा बाँधेर राजा आहाबकहाँ गए ।

जसै राजा छेउबाट गए, तब ती अगमवक्ताले बोलाएर भने, “हजूर, म तपाईंको दास लडाइँको मुखैमा परेको थिएँ, र कसैले कोही एक जना कैदी लिएर मकहाँ आएर मलाई भन्यो, ‘यस मानिसलाई रक्षा गरिराख् । कथम्‌कदाचित्‌ यो मानिस भाग्यो भने, कि त तेरो ज्यान जानेछ कि एक तोडा चाँदी तैंले तिर्नुपर्नेछ’ । जब म कुनै काममा यताउता व्यस्त थिएँ, तब हजूर, त्यो मानिस त अल्पियो ।” (१ राजा २०:३९-४०)

आहाब राजाले अगमवक्ताले बोलेका कुरा सबै सुने तर त्यो कुरा उनलाई लक्षित गरिएको थियो भन्ने कुरा उनले थाहा पाएनन् ।

“तैंले त आफ्नो इन्साफ आफै गरिस् । त्यही नै तेरो इन्साफ हो ।”

मृत्युदण्ड दिनुपर्ने अरामका राजालाई इस्राएलका राजा आहाबले छोडिदिएका कारण परमेश्वरको वचन आहाबलाई यसरी सुनाइयो ।

“परमप्रभु यसो भन्नुहुन्छ: मैले मार्न निश्चय गरेको मानिसलाई तैंले छोडिदिइस् । यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसको प्रजाको साटो तेरो प्रजा हुनेछ ।”

यहाँ भनिएजस्तै कसैलाई छुटकारा दिनु भन्नाले पाप नगरेको व्यक्ति, मर्नुपर्ने पापीको सट्टामा मर्नु हो ।

३. हाम्रो सट्टामा बलिदान हुनुभएका ख्रीष्ट

पुरानो करारको समयमा, इस्राएलीहरूले पाप गर्दा त्यो पापको प्रायश्चित गर्न पशुबलि गर्थे र वेदीमा त्यो रगत छर्कंन्थे । नयाँ करारको समयमा चाहिँ छुटकाराको वास्तविकता हुनुभएका ख्रीष्टको रगतद्वारा यो अगमवाणी पूरा भयो ।

अब येशूज्यूको रगतमा विश्वास गर्ने र उहाँका शिक्षाहरू पालन गर्ने सबै आत्माहरू दोषी ठहराइने छैनन् तर ख्रीष्टद्वारा मोल तिरिएर बचाइनेछन् ।

“. . . जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२८, मर्क १०:४५

येशूज्यूले मर्नुपर्ने पाप गरेका मानव-जातिलाई बचाउन आफ्नो जीवनको समेत पर्वाह गर्नुभएन । उहाँको उदात्त प्रेम अब स्वर्गीय सन्तानहरूको हृदयमा खोपिएको छ र यो सधैँभरि अविस्मरणीय रहनेछ ।