मानिसको नियम

62,327 भ्यु
लेख सुन्नुहोस् 13:44

परमेश्वरका मानिसहरूले परमेश्वरका आज्ञाहरू पालन गर्नु स्वाभाविक हो । हिजोआज परमेश्वरका प्रजा हौं भनेर दाबी गर्ने अधिकांश ख्रीष्टियानहरूले परमेश्वरको आज्ञा पालन गर्नुको सट्टा बाइबलमा नभएको मानिसको नियम पालन गरिरहेका छन् । मानिसको नियमका केही उदाहरणहरू यस प्रकार छन् :

१. आइतबार सेवा

परमेश्वरले शबाथ-दिनलाई साप्ताहिक आराधनाको रूपमा तोकिदिनुभयो (प्रस २०:८)। तर हिजोआज धेरै मानिसहरूले शबाथको सट्टा आइतबारको सेवा पालन गरिरहेका छन् । आइतबारको सेवाचाहिँ बाइबलमा नभएको मानिसको नियम हो जुनचाहिँ गैर-ईसाइ सूर्य देवता पुज्ने विधिबाट उत्पन्न भएको हो ।

२. क्रिसमस

मानिसहरूले सामान्यतया डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा सोच्ने गर्छन् । अनि अधिकांश मण्डलीहरूले यो दिनलाई येशूज्यूको जन्मदिनको सम्झनामा मनाउने गर्छन् । तर डिसेम्बर २५ येशूज्यूको जन्मदिन नभएर सूर्य देवताको जन्मदिनबाट सुरु भएको मानिसको नियम हो ।

३. क्रूस पूजा

परमेश्वरले हामीलाई मूर्तिहरूको पूजा नगर्न, कुनै मूर्तिहरू नबनाउन र तिनीहरूको सेवा नगर्न भन्नुभयो (प्रस्थान २०:४-५)। तर हिजोआज प्रायः मण्डलीहरूमा क्रूसलाई मण्डलीको चिन्हस्वरूप राख्ने गरिन्छ । क्रूसचाहिँ ख्रीष्टियान धर्म सांसारिक हुँदैगएपछि ख्रीष्टियान धर्ममा भित्रिएको गैर-ख्रीष्टियान चिन्ह मात्र हो ।

४. घुम्टोको नियम

बाइबलमा प्रार्थना गर्दा स्त्रीहरूले शिर घुम्टोले ढाक्नुपर्ने तर पुरुषहरूले चाहिँ शिर ढाक्न नहुने विषयमा शिक्षा दिइएको छ (१ कोर ११:१-१६) । तर प्रायः मण्डलीहरूले परमेश्वरले स्थापना गर्नुभएको नियमलाई पछ्याउनुको सट्टा मानिसले बनाएका सिद्धान्तहरू पछ्याइरहेका छन् । क्याथोलिक मण्डलीमा पोप, पुजाहारी र पादरी कर्मचारीहरूले टोपी लगाएर प्रार्थना वा आराधना गर्छन् । अनि प्रोटेस्टेन्ट मण्डलीहरूमा चाहिँ, स्त्रीहरूले शिर घुम्टोले नढाकी प्रार्थना गर्छन् । यी सम्पूर्ण आज्ञाहरू बाइबलको शिक्षाभन्दा फरक मानिसको नियम हो ।

५. थ्याङ्क्सगिभिङ डे

हिजोआज, धेरै मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई महत्त्वपूर्ण चाडको रूपमा मनाउने गर्छन् । तर थ्याङ्क्सगिभिङ डेचाहिँ बाइबलमा परमेश्वरले आज्ञा गर्नुभएको चाड होइन तर मानिसले बनाएको नियम हो । थ्याङ्क्सगिभिङ डेचाहिँ बेलायतबाट अमेरिका आएका तिर्थ यात्रीहरूले शरदको पहिलो फसलमा तिनीहरूका परमेश्वरलाई धन्यवाद चढाएपछि सन् १६२०मा सुरु भएको थियो । यसरी यो परम्परा जारी रह्यो र अन्ततः १८औँ शताब्दीमा राष्ट्रपति वाशिङ्टनद्वारा यो दिन अमेरिकी सार्वजनिक बिदाको रूपमा घोषणा गरियो ।

बाइबलमा मानिसको नियम पालन गर्नेहरूलाई के भनिएको छ भन्नेबारे हेरौं ।

“ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ । तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’ ।” मत्ती १५:७-९

येशूज्यूले मानिसको आज्ञा पालन गर्नुचाहिँ व्यर्थमा परमेश्वरको उपासना गर्नु हो भन्नुभयो । के व्यर्थमा परमेश्वरको उपासना गर्नेहरूले मुक्ति पाउन सक्छन् होला ? तिनीहरूले जतिसुकै व्यग्र भएर परमेश्वरमा विश्वास गरे पनि मानिसको आज्ञा पालन गरेकाले कदापि मुक्ति पाउन सक्दैनन् ।

परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढा छ । मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन् । यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूका सबैभन्दा चतुर मानिसहरूको चतुर्‍याइँ लोप हुनेछ ।” यशै २९:१३-१४

मानिसको आज्ञा पालन गर्नेहरूको के लोप हुनेछ भनिएको छ ? तिनीहरूको बुद्धि नष्ट हुनेछ र चतुऱ्याइँ लोप हुनेछ भनिएको छ । जतिसुकै चतुर वा धर्मशास्त्रमा डाक्टरेट गरेको व्यक्तिहरू भए पनि यदि तिनीहरूले मानिसको आज्ञा पालन गरे भने तिनीहरूले कदापि बाइबलको सत्यता बुझ्न र महसुस गर्न सक्दैनन् । किनभने परमेश्वरले तिनीहरूका बुद्धि नष्ट गर्नुहुनेछ र चतुऱ्याइँ लोप गर्नुहुनेछ । बाइबलको सत्यता बुझ्न नसक्नेहरूचाहिँ मुक्तिको बाटोमा अगाडि बढ्न नसक्ने कुरा स्वभाविक हो ।

मानिसका नियमहरूचाहिँ शैतानको पक्षमा उभिएका मानिसहरूले बनाएको अधर्म कुरा हो । मानिसको आज्ञा पालन गऱ्यो भने परमेश्वरका आज्ञाहरू पालन गर्न सकिँदैन र सही तरिकाले परमेश्वरको सेवा पनि गर्न सकिँदैन । यसको अतिरिक्त मुक्तिको प्रतिज्ञा प्राप्त गर्न सकिँदैन र स्वर्गीय राज्य पनि प्रवेश गर्न सकिँदैन । तसर्थ हामीले आशिष् पाउनका लागि मानिसको नियम होइनकि परमेश्वरको आज्ञा पालन गर्नुपर्छ ।

समीक्षात्मक प्रश्नहरू
मानिसका नियमहरू के-के हुन् ?
मानिसको नियम पालन गर्दा परमेश्वरको उपासना गर्न पुगिन्छ भन्ने कुरा येशूज्यूले कसरी भन्नुभयो ?

मानिसको नियम

13:44
0:00 13:44

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।