परमेश्वरले दियाबलसको शक्तिलाई नष्ट गर्न र आफ्ना सन्तानहरूलाई अनन्त जीवन दिन निस्तार-चाड स्थापना गर्नुभयो । हुन त हाम्रा सियोनका परिवारहरूलाई निस्तार-चाडको महत्त्व राम्ररी थाहा छ, तापनि निस्तार-चाडद्वारा विपत्ति पार हुने कारण के हो भन्नेबारे हामीले अझ ध्यानपूर्वक अध्ययन गर्न आवश्यक छ ।
निस्तार-चाडको साँचो अर्थ के होला ? हामीबाट विपत्ति पार गराउने निस्तार-चाडको शक्तिको स्रोत के होला ? परमेश्वरको सामु विनम्र भएर यसबारे बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं ।
निस्तार-चाडचाहिँ करीब ३,५०० वर्षअघि स्थापना गरिएको परमेश्वरको चाड हो । इस्राएलीहरू मिश्रमा दासत्वको जीवन जिइरहेका बेला परमेश्वरले तिनीहरूलाई छुटकारा दिन फारोलाई आज्ञा गर्नुभयो । तर फारोले मानेन र परिणामस्वरूप परमेश्वरले मिश्रमाथि दश विपत्तिहरू झारिदिनुभयो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चोधौँ दिनको साँझमा परमेश्वरले मिश्रमाथि, पहिले जन्मेकाहरू सबै मर्ने दशौँ विपत्ति झारिदिनुभयो । तर परमेश्वरको इच्छाअनुसार घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा निस्तार-चाडको थुमाको रगत लगाइएका घरहरूबाट भने विपत्ति पार भएर गयो । त्यो दिन नै निस्तार-चाडको दिन थियो ।
“पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू । यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछ । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।”प्रस १२:११-१३
त्यस रात सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, मिश्रका सबै पहिले जन्मेकाहरू मरे । मिश्रमा एउटा नमरेको कुनै घर थिएन (प्रस १२:२९-३०) । तर आफ्नो घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा निस्तार-चाडको थुमाको रगत लगाएका इस्राएली परिवारहरू भने विपत्तिबाट बचे ।
जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोडेर, निस्तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न ।प्रस १२:२३
यहाँ, इस्राएलीहरूबाट चाहिँ विपत्ति किन पार भएर गयो भन्ने कुरालाई हामीले ध्यानपूर्वक सोच्न आवश्यक छ । त्यसको कारण नै निस्तार-चाडको थुमाको रगत थियो, जसले मानिसहरूसँग कुनै सरोकार राख्दैनथ्यो । चाहे बुद्धिमान् होस्, अथवा धनी वा राजमहलमा बस्ने मानिस नै किन नहोस्, तिनीहरूबाट यो विपत्ति पार हुन सकेन । तर निस्तार-चाडको थुमाको रगतको चिन्ह भएका घरहरूबाट मात्र विपत्ति पार हुन सक्यो ।
हामी उत्कृष्ट अथवा सक्षम व्यक्ति भएकाले विपत्ति हामीबाट पार हुने होइनकि हामीभित्र निस्तार-चाडको थुमाको रगत भएकोले विपत्ति हामीबाट पार हुने हो । हामीलाई सुरक्षा गर्ने र पहरा दिने परमेश्वरको त्यो अदृश्य प्रेम र अनुग्रहलाई हामीले गहिरिएर सोच्नुपर्छ । परमेश्वरले हामीलाई विपत्तिबाट बचाउनुहुन्छ, तर यस पापमय संसारका सबै झूटा देवताहरूमाथि चाहिँ इन्साफ आइपर्नेछ । हामीहरू निस्तार-चाडमा मात्र ध्यानकेन्द्रित हुनुहुँदैन, तर हामीलाई सुरक्षा गर्ने परमेश्वरको प्रेमको बाहुलीलाई पनि हामीले महसुस गर्नुपर्छ ।
एउटा यस्तो काल्पनिक कथा छ । एक दिन स्याल र बाघको भेट भएछ । स्यालले बाघलाई भनेछ, “के तपाईंलाई थाहा छ ? जनावरहरू त तपाईंसँग भन्दा मदेखि धेरै डराउँछन् नि !” उसले आफू नै जङ्गलको सबैभन्दा डरलाग्दो जनावर रहेको दाबी गरेछ ।
यसो हेर्दा, बाघको एक झाप्पु भेट्यो भने पुक्लुक्कै ढल्ला जस्तो देखिने जाबो एउटा जनावरले आफूलाई जनावरहरूको राजा दाबी गरेको देखेर बाघ साह्रै छक्क परेछ । तब स्यालले भनेछ, “तपाईंलाई विश्वास लाग्दैन भने मेरो पछि आउनुहोस् । तब जनावरहरू मदेखि डराउँछन् कि डराउँदैनन् भन्ने कुरा तपाईंलाई थाहा हुनेछ ।”
स्यालले निकै आत्मविश्वासका साथ त्यसो भनेको देखेपछि बाघलाई मनमा जिज्ञासा लागेछ, र ऊ स्यालको पछि-पछि लागेछ । नभन्दै सबै जनावरहरू डराएर भाग्न थाले । खरायो जस्तो सानो जनावरदेखि लिएर भालुजस्ता ठूला जनावरहरूसमेत सबै भागे ।
तब स्यालले बाघलाई गर्वसाथ भनेछ, “देख्नुभयो त ? सबै जनावरहरू मदेखि डराउँछन् ।”
खासमा जनावरहरूचाहिँ स्याललाई देखेर होइनकि, स्यालको पछि-पछि आइरहेको बाघलाई देखेर डराएर भागेका हुन् ।
मानिस-मानिसबीच पनि उस्तै अवस्था देखिने गर्छ । कहिलेकहीँ केही बच्चाहरूलाई देखेर वयस्कहरूसमेत डराउने र हच्किने गर्छन् । वास्तवमा ती बच्चाका बुबा-आमा अलि धनाढ्य अथवा अलि प्रतिष्ठित छन् भने प्रायः यस्तो अवस्था सृजना हुने गर्छ । वास्तवमा वयस्कहरू ती बच्चाहरूलाई देखेर होइनकि ती बच्चाहरूको समृद्ध पृष्ठभूमि देखेर हच्किएका हुन् ।
हामीले सत्यता सुनाउँदैपिच्छे हाम्रो शत्रु, दियाबलस हामीदेखि डराएर पछि हट्नुको कारण पनि हामीभित्र निस्तार-चाडको थुमाको रगत भएकोले हो । निस्तार-चाडको रातमा मिश्रका सबै देवताहरूमाथि परमेश्वरको इन्साफ आइपरेको थियो । त्यसैले दियाबलस सबैभन्दा डराउने कुरा नै निस्तार-चाडको थुमाको रगत हो भनी हामी जान्न सक्छौं ।
प्रेरितहरूले निस्तारको थुमाको वास्तविकता नै ख्रीष्ट हुनुहुन्छ भनी गवाही दिए ।
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ । हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी … चाड मनाऔं ।१ कोर ५:७-८
हाम्रो निस्तारको थुमा हुनुभएका ख्रीष्टले आफ्नो अनमोल रगत बगाउनुभएर हाम्रो निम्ति स्वयम् बलिदान हुनुभयो । यसकारण बाइबलले निर्देशन गरेबमोजिम हामीले यस महान् चाड, निस्तार-चाड अनिवार्य मान्नुपर्छ । हामीसित ठूलो विश्वास र शक्ति भएकोले होइन तर हामीभित्र ख्रीष्टको अनमोल रगतले भएको दियाबलस हामीदेखि डराउने हो ।
तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ ।१ पत्र १:१८-१९
उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौं ।एफि १:७
हामीले आफ्नो ज्ञान र बुद्धिद्वारा नभएर ख्रीष्टको रगतद्वारा उद्धार र पाप-क्षमा पाएका हौं । बाइबलले मुक्तिचाहिँ हामीबाट नभएर ख्रीष्टको अनमोल रगतबाट आउँछ भन्ने शिक्षा दिएको छ ।
ख्रीष्टको बलिदानको रगतले हामीलाई बचाउँछ भन्ने कुरालाई याद गर्दै हामीहरू सधैँ नम्र भएर परमेश्वरको इच्छामा आज्ञाकारी होऔं ।
हामीलाई व्यर्थका कुराहरूदेखि अर्थात् पाप र मृत्युदेखि छुटकारा दिलाउने निस्तार-चाडको थुमाको रगतको बारेमा येशूज्यूले यस्तो शिक्षा दिनुभयो ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु । … त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ ।”यूह ६:५३-५७
ख्रीष्टको रगतद्वारा, विपत्ति मात्र होइनकि पाप र मृत्युसमेत हामीबाट हटेर जान्छ । ख्रीष्टको अनमोल रगत हामीमा रहोस् भनेर नै परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाड भन्ने जीवनको सत्यता दिनुभएको हो ।
“ ‘… मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”मत्ती २६:१७-१९, २६-२८
… उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर ।” … अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”लूक २२:७-८, १९-२०
परमेश्वरले आफ्नो रगतद्वारा स्थापना गर्नुभएको करार नै निस्तार-चाड हो । निस्तारको थुमाको रगतविना विपत्ति पार हुन सकिँदैन, नता दियाबलसलाई परास्त गर्न नै सकिन्छ । त्यसैले निस्तारको थुमाको वास्तविकता हुनुभएका ख्रीष्टले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई आफ्नो देह र रगत दिनुभयो । अनि उहाँको देह खाएमा र रगत पिएमा हामी उहाँमा रहने र उहाँ हामीमा रहनुहुने प्रतिज्ञा गर्नुभयो ।
तापनि हिजोआज धेरै मण्डलीहरूले निस्तार-चाड मान्न आवश्यक छैन भनेर जिद्दी गर्ने गर्छन् । के साँच्चै निस्तार-चाड मान्न आवश्यक छैन होला ? निस्तार-चाडको थुमाको रगत छैन भने शैतानले जुनसुकै बेला पनि हामीलाई सजिलै आक्रमण गर्न सक्छ । त्यसैले निस्तार-चाड नमान्ने मानिस परमेश्वरका प्रजाबाट बहिष्कार गरिओस् भनेर परमेश्वरले भन्नुभयो ।
“इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढा-टाढा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार-चाड मानोस् । … तर जो मान्छे शुद्ध छ, र यात्रामा पनि छैन, त्यसले निस्तार-चाड मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढाएन । त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्’ ।”गन्ती ९:१०-१३
परमेश्वरका प्रजाबाट बहिष्कार भएकाहरू विपत्तिबाट बच्न सक्दैनन्, र अन्ततः तिनीहरू मुक्ति पाउन नसकी नरकको भागीदार हुनेछन् । पुरानो करारको समयमा परमेश्वरको आज्ञाअनुसार परमेश्वरका प्रजाहरूले निस्तार-चाडको थुमाको रगत घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाएर विपत्ति पार भएका थिए । नयाँ करारको समयमा चाहिँ परमेश्वरले आफ्ना प्रजालाई निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा विपत्तिबाट बचाउनुभई मुक्ति दिनुहुन्छ । त्यसैले निस्तार-चाडविना परमेश्वरका प्रजा बन्न सकिँदैन र निस्तार-चाड नमान्ने जो कोही पनि परमेश्वरका प्रजाबाट बहिष्कार गरिनेछन् भनी परमेश्वरले स्पष्टसँग भन्नुभयो ।
हामीबाट विपत्ति पार गराउने त्यो शक्ति किन ख्रीष्टको अनमोल रगतमा नै भएको होला ? किनकि त्यो रगतमा परमेश्वरको असीम प्रेम र बलिदान समावेश छ । यशैया अगमवक्ताले, ७०० वर्षपछि देखा पर्नुहुने येशूज्यूको स्वरूपबारे यस प्रकारले अगमवाणी गरे ।
… ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन । ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित । ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन् । ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं । निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं । तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं । हामी सबै भेडाझैँ बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । …यशै ५३:१-१२
पाप गर्नेचाहिँ वास्तवमा हामीहरू थियौं तर हामीले भोग्नुपर्ने सबै कष्ट ख्रीष्टले भोग्नुभयो । हाम्रो पापको भारी बोक्नुहुँदा उहाँ छेडिनुभयो, काँडाले घोचिइनुभयो र क्रूसमा स्वेच्छाले प्राणसमेत अर्पण गर्नुभयो । येशूज्यूले हामीप्रतिको उहाँको प्रेमलाई स्पष्टसँग देखाउनुभयो । उहाँको अनमोल रगत बगेको कुरा नै उहाँको प्रेमको निश्चित प्रमाण हो । त्यसैले परमेश्वरको यस्तो असीम प्रेम र बलिदानलाई बुझेका विनाशक स्वर्गदूतहरू, साथै दियाबलस पनि हाम्रो नजिक आउने आँट गर्न सक्दैनन् ।
करारको रगत निस्तार-चाडमा ख्रीष्टको पवित्र प्रेम समावेश छ । उहाँले आफ्नो शरीर च्यातिने र रगत बग्नेसम्मको चरम कष्ट र पीडाद्वारा हामीलाई जीवन दिनुभयो । परमेश्वरको त्यो महान् बलिदान र असीम प्रेमको अगाडि सबै प्राणीहरूले घुँडा टेक्छन् ।
हामीमाथि येशूज्यूको बलिदानको रगतको छाप लगाइएको छ र त्यो रगतको शक्तिद्वारा हामीबाट सबै विपत्ति पार भएर जान्छ ।
एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन । तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ । यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने– परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ– तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन । किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रो सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ ।भज ९१:७-११
पुरानो करारको समयमा निस्तार-चाडको थुमाको रगत इस्राएलीहरूका घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाइन्थ्यो । तर नयाँ करारको समयमा निस्तारको थुमाको रगतको छाप, नयाँ करारद्वारा हाम्रो निधार र हृदयमा लगाइन्छ । त्यसैले विनाशक स्वर्गदूत नै नजिक आए पनि हामीमा भएको ख्रीष्टको रगत देखेपछि ती स्वर्गदूत हामीबाट पार भएर जानेछन् । एक हजार जना हाम्रो नजिक लोट्लान् र हाम्रो दाहिने हाततर्फ दश हजार जना, तर नयाँ करार निस्तार-चाडको सत्यताभित्र थुमाको अनमोल रगतद्वारा छाप लगाइएका सन्तहरूको नजिक कुनै पनि विपत्ति आउनेछैन । यसकारण निस्तार-चाडद्वारा हामीबाट विपत्ति पार भएर जानेछ ।
आज हामीहरू जे छौं, त्यो सबै ख्रीष्टको बलिदान र कष्टको परिणाम हो । त्यसैले परमेश्वरको सामु घमण्ड गर्ने कुरा हामीसित केही पनि छैन । हामीचाहिँ अरूबाट भय पाउनुपर्ने अस्तित्व होइनौं, तर हामीलाई अनन्त स्वर्ग-राज्यको सन्तान बनाउने निस्तारको थुमा हुनुभएका ख्रीष्टको अनमोल रगतको हामीले भय मान्नुपर्छ । यसकारण हामीहरू कहिल्यै घमण्डी अथवा अभिमानी हुनुहुँदैन ।
किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ ?१ कोर ४:७
हामीले हाम्रो विश्वासको केन्द्रमा आफैलाई राख्न खोज्नु भनेको मूर्खता हो । हामीमा भएको ज्ञान, बुद्धि अथवा बाइबलीय बुझाइ इत्यादि सबै कुरा हामीले परमेश्वरबाट पाएका हुनाले हामीले आफूमा घमण्ड गर्नुहुँदैन । यो कुरालाई बुझेमा १ कोरिन्थी अध्याय १३को वचनमा उल्लेख गरिएजस्तै हामीले, सहनशील र दयालु हुनू, डाह नगर्नू, शेखी नगर्नू र हठी नहुनू भन्ने ख्रीष्टको प्रेमलाई धारण गर्न सक्नेछौं । तर ठीक विपरीत परमेश्वरको अनुग्रहलाई बिर्सेर यदि हामी घमण्डी र अहङ्कारी भयौं भने हाम्रो त्यो घमण्ड देखेर परमेश्वर गुप्तमा रुनुहुनेछ भनेर बाइबलमा भनिएको छ (यर १३:१५-१७) ।
कसै-कसैले “निस्तार-चाड मानिहालिन्छ । त्यसैले जस्तोसुकै पाप गरे पनि के फरक पर्छ र ?” भन्ने गर्छन् । योचाहिँ बाइबलप्रतिको सबैभन्दा गलत बुझाइ हो । हामीले कदापि त्यसरी सोच्नुहुँदैन । निस्तार-चाडको थुमाको रगतले हाम्रा पापहरू सबै मेटिदिन्छ, तर ठीक विपरीत हाम्रो पापले निस्तार-चाडको थुमाको रगतलाई मेटिदिन्छ । हामीले स्वर्गमा गरेका पापहरू परमेश्वरले ख्रीष्टको अनमोल रगतद्वारा सबै क्षमा गरिदिनुभयो । ख्रीष्टको अनमोल रगतलाई अपवित्र पार्ने दुस्साहस हामीले कसरी गर्न सक्छौं र ? यदि त्यसो गऱ्यौं भने अब उसो उहाँको रगत हाम्रो लागि प्रभावहीन हुन पुग्छ । अनि जीवनको पुस्तकमा नाम लेखिएको भए पनि त्यो मेटिन्छ । त्यसैले त ख्रीष्ट संसारको न्याय गर्न नआउनुभएसम्म, ‘तिमीसँग जे छ, त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिनेछैन’ भनेर बाइबलमा भनिएको छ ।
ख्रीष्टको महान् अनुग्रहद्वारा प्रदान गरिएको उहाँको अनमोल रगतलाई हामीले कदर गर्नुपर्छ । निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवन पाएको कुराप्रति हामीले गर्व त गरौंला तर त्यसमा समाविष्ट परमेश्वरको बलिदानपूर्ण प्रेमलाई हामीले बुझ्न सकेनौं भने त्यसबाट हामीलाई के लाभ हुन्छ र ? परमेश्वरले हामीमाथि गर्नुभएको अनुग्रह र प्रेमलाई गहिरिएर सोच्दै हामी सियोनका परिवारहरू सबै परिस्थितिमा धन्यवादी र सधैँ खुशी होऔं ।
अझै पनि निस्तार-चाडको विषयमा अनभिज्ञ भई, परमेश्वरको अनुग्रह र मुक्तिबाट टाढिएर जिइरहेका संसारका मानिसहरूलाई हामीले चाँडो सुसमाचार सुनाउनुपर्छ । तब तिनीहरूले पनि यो सुसमाचार सुनेर ख्रीष्टको अनमोल रगतलाई कदर गर्नेछन् । आज हामीहरू जे छौं, त्यो सबै स्वर्गीय पिता-माताको बलिदान र अनमोल रगतले गर्दा हो भन्ने कुरालाई सोच्दै अझ विनम्र भएर स्वर्गीय पिता र मातालाई सधैँ महिमा चढाएर प्रशस्त आशिष् पाउने हामीहरू हुन सकौं ।