『येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।”』 मत्ती १३:३४-३५
येशूज्यूले आफ्ना मायालु सन्तानहरूका निम्ति स्वर्ग-राज्यका रहस्यहरू दृष्टान्तमा जाहेर गर्नुभयो, किनभने स्वर्ग-राज्यको ज्ञान दिइएका मानिसहरू छन् भने त्यो ज्ञान नदिइएका मानिसहरू पनि छन् । बाइबलको दृष्टान्तको वचनमध्ये आज बिजुली र सुसमाचारबीचको सम्बन्धबारे अध्ययन गरौं ।
『“किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”』 मत्ती २४:२७
१. बिजुली ज्योति हो
बिजुलीचाहिँ बादलहरूमा भएको वायुमण्डलीय विद्युत एक आपसमा ठोक्किँदाखेरि देखिने ज्योतिको झिल्का हो । धुम्मिएको दिन अथवा निस्पट्ट अँधेरी रातमा देखा पर्ने बिजुलीले एकै निमेषमा विशाल क्षेत्रलाई उज्यालो बनाइदिन्छ ।
२. सुसमाचार ज्योति हो
ख्रीष्टले चम्काउनुहुने सुसमाचारलाई बाइबलमा ‘ज्योति’ भनेर वर्णन गरिएको छ ।
『अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ … किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ …』 यशै ९:२-६
यशैया अगमवक्ताले भविष्यमा येशूज्यूले मानिसको स्वरूपमा आउनुभएर, पापले ढाकिएको यो संसारलाई मुक्ति दिन नयाँ करारको सुसमाचार चम्काउनुहुने त्यो अवस्थालाई जनाउँदै “एउटा ज्योति उदाएको छ” भनेर अगमवाणी गरे । यशैया अगमवक्ताले अगमवाणी गरेको ७०० वर्षपछि ख्रीष्ट ज्योतिको रूपमा यो पृथ्वीमा आउनुभयो, अनि उहाँले संसारमा ज्योति चम्काउनुभयो । यद्यपि अन्धकारमा परेकाहरूले त्यो ज्योतिलाई महसुस गर्न सकेनन्, र अन्तत: विरोध गरी उहाँलाई क्रूसमा टाँग्ने महागल्ती गर्न पुगे ।
『त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन । परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो । उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए । उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए । हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो । उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन । उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् …』 यूह १:५-१२
अन्धकारले ज्योतिलाई घृणा गर्छ । त्यसैले हाम्रो शत्रु, दुष्ट दियाबलसले सुसमाचारको ज्योति चम्किन्छ कि भन्ने डरले मानिसहरूको समझलाई अन्धो तुल्याइदिएको छ ।
『हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ । तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ ।』 २ कोर ४:३-४
३. पुरानो करार चन्द्र र नयाँ करार सूर्य
नयाँ करारको सुसमाचार मात्र होइनकि पुरानो करारको सुसमाचार पनि ज्योति थियो । तर पुरानो करार आफैले ज्योति चम्काउन सक्दैनथ्यो । चन्द्र आफैले ज्योति दिन नसकेकोले सूर्यको ज्योतिलाई केवल परावर्तन गरेजस्तै, पुरानो करारले पनि भविष्यमा स्थापना हुने नयाँ करारको ज्योतिलाई परावर्तन गरेको मात्र हो ।
अनि सूर्य उदाउँदा चन्द्रले आफ्नो ज्योति गुमाएजस्तै, नयाँ करार चम्किएकोले पुरानो करारले पनि आफ्नो ज्योति गुमाएको हो ।
『… यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो । र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ ।』 हिब्रू ८:७-१३
『किनभने दोषी ठहराउने व्यवस्था(पुरानो करार) महिमामय थियो भने, धर्मी ठहराउने सेवा(नयाँ करार) ज्यादै बढी महिमामय हुन्छ । किनभने जो एक पल्ट महिमामय(पुरानो करार) थियो, अहिले त्यसलाई उछिन्ने महिमा(नयाँ करार)ले गर्दा अब त्यो महिमामय रहेन । किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ(नयाँ करार) अझ बढी महिमापूर्ण हुनुपर्छ ।』 २ कोर ३:९-११
यसरी सुरुको मण्डलीले पुरानो करारलाई आफ्नो पाउमुनि राखे, अनि नयाँ करार पहिरेर सुसमाचारको ज्योति चम्काए ।
『स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो …』 प्रका १२:१
४. नयाँ करारको सुसमाचारचाहिँ पापीहरूलाई निको पार्ने ज्योति
हिजोआज लेजर विकिरणद्वारा विभिन्न रोगहरू निको पार्ने गरिन्छ । यसै गरी नयाँ करार सुसमाचारको ज्योति पनि धेरै आत्माहरूको आत्मिक रोगलाई निको पार्ने आत्मिक उपचारको किरण बनेको छ ।
『“तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ । अनि गोठलाई छोडेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ ।”』 मला ४:२
५. दोस्रो आगमनको ज्योति सात दिनको ज्योतिझैँ चहकिलो
ख्रीष्टले स्थापना गर्नुभएको नयाँ करारको सुसमाचारचाहिँ सूर्यको ज्योतिजस्तै चम्किलो भएकोले धेरै मानिसहरू धार्मिकतामा डोरिए । तर येशूज्यू स्वर्ग उचालिनुभएपछि र चेलाहरू पनि संसारबाट बिदा भएपछि दियाबलसको चरम सतावटले गर्दा ख्रीष्टको सुसमाचारको ज्योति मधुरो हुँदैगयो, र मण्डलीभित्र झूट भित्रिन थाल्यो । अनि एक हजार वर्षभन्दा बढी समयसम्म धार्मिक अन्धकारको युग छायो । यसकारण संसारको अन्त्यका दिन अर्थात् यस वर्तमान समयमा, सारा संसारभरि छाएको अन्धकारलाई तोडेर ख्रीष्टको दोस्रो आगमनको ज्योतिले सारा संसारलाई चम्काएको छ । त्यसैले त्यो ज्योति बिजुलीजत्तिकै शक्तिशाली छ भन्न सकिन्छ । त्यो ज्योतिको विषयमा अगमवक्ताहरूले निम्नानुसार अगमवाणी गरेका छन् :
『त्यसबाहेक जब परमप्रभुले आफ्नो प्रजाका घाउहरू बाँध्नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्यस दिन जून घामजस्तै लाग्नेछ र सूर्यको प्रकाश सात दिनको ज्योतिझैँ सात गुणा बढी चहकिलो हुनेछ ।』 यशै ३०:२६
『त्यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें । तिनको वैभवले पृथ्वी उज्यालो भयो ।』 प्रका १८:१
त्यसैले बाइबलमा उल्लेखित ज्योतिले परमेश्वरको महिमाको ज्योति अर्थात् नयाँ करारको सुसमाचारको ज्योतिलाई जनाउँदछ । ‘बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ’ भन्ने वचनचाहिँ ख्रीष्टको दोस्रो आगमनको समयमा सुसमाचारको ज्योति पूर्वबाट पश्चिमसम्मै तीव्र रूपमा चम्कने विषयको अगमवाणी हो ।
『उहाँको बिजुलीले संसारलाई प्रकाशित पार्छ, पृथ्वीले देख्छ र थरथरी काम्छ । परमप्रभुको सामुन्ने पर्वतहरू मैनझैँ पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने ।』 भज ९७:४-५