“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”

१ शमूएल २:१२-३५

1137 हेरेको संख्या

इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको पद लिएका थिए । तर यिनीहरूले परमेश्वरलाई बलिदान चढाउनुअगावै आफूले खानको लागि बलिको मासु जबरजस्ती खोसेर परमेश्वरको बलिदानलाई तुच्छ ठान्ने दुस्साहस गरे । आफू पूजाहारी हुँ भन्ने कुरालाई बिर्सिएर दुष्ट कार्य गरेका यी दुई छोराहरूको त्यो दुष्टताको खबर सारा इस्राएलभरि फैलियो ।

त्यो खबर सुनेपछि एलीले आफ्ना छोराहरूलाई दुष्ट कार्य रोक्न कडा चेताउनी दिए, तर एलीका छोराहरूले न आफ्ना गल्तीहरूप्रति पछुतो गरे, नता आफ्नो दुष्टता नै छोडे । तब परमेश्वरका एक जना दास एलीकहाँ आएर भने, “त्यसकारण परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्दछन् भनी मैले प्रतिज्ञा गरेको थिएँ ।’ तर अब परमेश्वर यसो भन्नुहुन्छ: ‘अब यस्तो हुनेछैन । मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्’ ।” परमेश्वरको निरन्तरको चेताउनीलाई बेवास्ता गर्दै आफ्ना दुष्ट कार्यहरू नरोकेका एलीका दुई दुष्ट छोराहरू अन्तत: एकै दिनमा मरे । यसको ठीक विपरीत, सारा हृदयले परमेश्वरको भय मान्ने शमूएलले इस्राएलका अन्तिम न्यायकर्ताको रूपमा कार्य गर्ने स्वर्गीय मिसन पाए ।

वास्तवमा दाऊदलाई राजा अभिषेक गर्ने पूजाहारी शमूएल, पूजाहारीको परिवारमा जन्मिएका व्यक्ति थिएनन् । शमूएलचाहिँ तिनकी आमा हन्नाहले गरेको भाकलअनुसार परमेश्वरलाई अर्पण गरिएका पात्र हुन् । त्यसोभए शमूएललाई दिइएको परमेश्वरको अनुग्रह किन एलीका दुई छोराहरूलाई चाहिँ नदिइएको होला ? ती छोराहरू पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको परिवारमा जन्मिएको यो यथार्थता मात्र पनि, तिनीहरूका लागि आशिष्‌को प्रतिज्ञा पाउन सक्ने कारण थियो । यद्यपि तिनीहरूले परमेश्वरको भय नराखी पापको थुप्रो लगाएकाले अन्तत: ती दुवै नष्ट भए ।

मानिस परमेश्वरबाट जतिसुकै आशिष् पाउने स्थानमा भए तापनि यदि उसले परमेश्वरको भय राख्दैन, र उल्टै परमेश्वरको अवहेलना गर्छ भने त्यो आशिष् कुनै पनि बेला खोसिन सक्छ ।

“मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन् ।”

परिणामचाहिँ परमेश्वरको सिद्धान्तअनुसार देखा पर्छ ।