WATV.org is provided in English. Would you like to change to English?

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

1272 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं ।

१. हाम्रो आत्माको जीवनको निम्ति

परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ ।

तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’ ।” मत्ती ४:४

के मानिस नखाईकन बाँच्न सक्छ ? सक्दैन । हामीले खाना खाएनौं भने हामीहरू बिस्तारै कमजोर हुँदैजान्छौं, अनि अन्त्यमा जीवन नै गुमाउन पुग्छौं । हाम्रो आत्मा पनि उस्तै हो । हामीले वचनको भोजन खाएनौं भने आत्मिक शक्ति नभएर हामीहरू आत्मिक रूपमा कमजोर हुन्छौं, अनि अन्ततः आत्मिक जीवन नै गुमाउन पुग्छौं । यसकारण हामीले जीवनको भोजन रहेको परमेश्वरको वचन सधैँ अध्ययन गर्नुपर्छ ।

२. विश्वासमा हुर्किएर मुक्ति पाउन

विश्वासविना मुक्ति पाउन सकिँदैन (रोम १:१७) । मुक्ति पाउनका निम्ति हामीले नयाँ करारद्वारा अनन्त जीवन प्राप्त गरेका छौं भन्ने कुरालाई पूर्ण विश्वास गर्नुपर्छ, अनि यो युगका मुक्तिदातालाई दृढतापूर्वक विश्वास गर्नुपर्छ । यस्तो विश्वास कसरी लिन सकिन्छ होला ? वचन अध्ययनद्वारा हो नि । परमेश्वरको वचन अध्ययन गरेर महसुस गरेमा मात्र परमेश्वरप्रति सही र दृढ विश्वास लिन सकिन्छ ।

जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ । रोम १०:१७

यसकारण विश्वासमा हुर्किएर मुक्ति पाउनका लागि हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्छ ।

३. विश्वासलाई जोगाउन र सत्यतामा रहिरहन

परमेश्वरको वचनले हामी पापीहरूलाई पवित्र परमेश्वरको गुण र ईश्वरीय स्वभावमा मिल्न मद्दत गर्छ । तर ठीक विपरीत, परमेश्वरको वचनबाट टाढियौं भने हामीमा खराब शङ्का र भ्रष्ट मन आउँछ, अनि अन्ततः हामीले सत्यता नै गुमाउन पुग्छौं ।

यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने, त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन । त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगडा गर्न खोजिहिँड्छ । यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्, र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन् । १ तिमो ६:३-५

यसकारण अन्त्यसम्म विश्वासलाई जोगाएर सत्यतामा रहिरहनको निम्ति हामीले अनिवार्य परमेश्वरको वचन अध्ययन गर्नुपर्छ । हामीहरू लगनशीलताका साथ परमेश्वरको वचन अध्ययन गर्दै, विश्वासलाई दह्रिलो बनाउँदै, परमेश्वरको स्वभावमा मिल्दै अनन्त स्वर्ग-राज्य फर्कने परमेश्वरका सन्तानहरू हुनुपर्छ ।

४. शैतानविरुद्धको आत्मिक युद्धमा विजय हासिल गर्न

शैतानले हामीलाई स्वर्ग प्रवेश गर्नबाट वञ्चित गराउन विभिन्न तरिकाले बाधा गर्छ । त्यसैले सन्तहरू र दियाबलसबीच भीषण आत्मिक युद्ध हुनेछ भनेर बाइबलमा जानकारी दिइएको छ । त्यसोभए हामीले दियाबलसलाई पराजित गरेर आत्मिक युद्धमा विजय हासिल गर्न सक्ने तरिका के होला ? त्यो नै वचनको हातहतियार धारण गर्नु हो ।

​अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर … मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो । एफि ६:१०-१७

यसरी दियाबलसविरुद्ध लड्नको निम्ति हामीलाई चाहिने पवित्र आत्माको तरवार नै परमेश्वरको वचन हो भनेर बाइबलमा जानकारी दिइएको छ । अनि येशूज्यू स्वयम्‌ले वचनको तरवारद्वारा दियाबलसको प्रलोभनलाई जित्नुभएर उदाहरण देखाउनुभएको छ (मत्ती ४:३-११) । तसर्थ हामीहरू परमेश्वरको वचन अध्ययन गर्दै पवित्र आत्माको तरवारलाई धारिलो बनाएर दियाबलससँगको आत्मिक युद्धमा विजयी हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
हाम्रो आत्माको निम्ति आवश्यक पर्ने जीवनको भोजन के हो ?
बाइबलका अनुसार दियाबलसविरुद्ध लड्नको निम्ति आवश्यक पर्ने पवित्र आत्माको तरवार के हो ?