कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?

उत्पत्ति अध्याय ३९

16,826 भ्यु

आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याए र आफ्नो घरबार र आफूसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए । योसेफको खातिर परमेश्वरले पोतीफरको घरमा आशिष् दिनुभयो ।

मालिकको घरबारलाई ईमानदारिताका साथ रेखदेख गरिरहेका योसेफमाथि सङ्कट आइपर्छ । पोतीफरकी पत्नीले योसेफमाथि नजर लगाएर तिनलाई प्रलोभनमा पार्ने कुराहरू बोलिरहन्छिन् । तर योसेफले “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?” भन्दै अस्वीकार गर्छन् । त्यसरी अस्वीकार गर्दा रीसले चूर भएकी पोतीफरकी पत्नीले मानिसहरू बोलाएर योसेफमाथि अभियोग लगाउँछिन् ।

विश्वास र शुद्ध विवेकलाई कायम राख्दाखेरि योसेफलाई झ्यालखानमा हालिन्छ । झ्यालखानमा समेत परमेश्वर योसेफको साथमा हुनुभएकोले उहाँले तिनलाई सबै कुरामा सफल गराइदिनुहुन्छ । योसेफ, झ्यालखानका हाकिमको निगाहपात्र बन्छन्, र त्यहाँ जे-जे काम हुन्छ, सबै योसेफकै खटनमा हुन्छ । पछि गएर, योसेफ झ्यालखानबाट मुक्त हुन्छन् र मिश्रका अधिपतिको पदमा नियुक्त हुन्छन् ।

भाग्यको विडम्बना । अर्थात् जिन्दगीको भाग्यमा थुप्रै परिवर्तनहरू आउने भएकोले यसलाई अनुमान लाउन गाह्रो छ भन्ने कुरा हो । कहिलेकहीँ कसैको गलत चाल पनि कसैलाई आशिष्‌को रूपमा परिवर्तन हुन सक्छ ।

योसेफको जिन्दगी यस्तै थियो । आफ्ना दाजुहरूका कारण तिनी एक दासको रूपमा बेचिए । तिनले अपरिचित भूमिमा बसोबास गर्ने विचार गर्दैथिए, तर झूटो आरोपमा झ्यालखानमा परे । भोलि के हुनेछ भन्नेबारे पूर्वानुमान गर्न नसकिने परिवर्तनशील जिन्दगी भए पनि तिनको जीवनमा एउटा कुराचाहिँ कहिल्यै परिवर्तन भएन । त्यो नै तिनको परमेश्वरप्रतिको मन थियो । परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्छ भन्ने यथार्थतालाई योसेफले कहिल्यै बिर्सेनन् ।

परमेश्वरभित्र भक्तिपूर्ण र ईमान्दार जीवन जिउँदा पनि परीक्षा आउन सक्छ । यदि पीडा र कष्टको नियन्त्रणमा परियो भने हृदयको गहिराइबाटै असहाय र नोक्सान आभास हुन्छ । त्यसैकारण कहिलेकहीँ हाम्रो मनले हामीलाई, सबै कुरा भुलेर आफूले चाहेबमोजिम जिउनू भन्ने सुझाव दिन्छ ।

यदि परीक्षाको सामना गरिरहेका छौं भने हामीले याद राख्नुपर्ने एउटा कुरा छ : त्यो नै परमेश्वर अहिले यो क्षणमा पनि मेरो साथमा हुनुहुन्छ भन्ने कुरा हो । जति कठिनाइ आइपर्छ त्यति नै हामीहरू पापमय स्वभावका कामहरूबाट टाढिँदै जान्छौं । आफ्नो विश्वास र विवेकलाई स्थिर राखेर ईमानदारितापूर्वक सत्यतालाई पछ्यायौं भने परमेश्वरले अन्त्यमा सफलताको मार्ग खोलिदिनुहुनेछ । धर्मी योसेफलाई कठिनाइबाट मुक्त गरेर मिश्रको अधिपति बनाइदिनुभई परिवारसित पुनर्मिलन हुने त्यो खुशी प्रदान गरिएजस्तै (उत ४६:२९-३०) ।