WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डलीमा चाहिँ किन शनिबार आराधना गरिन्छ ?

916 हेरेको संख्या
सिस्टर, शबाथ-दिनको आशिष् प्रशस्त पाउनुहोस् । आराधना सुरु हुन अझै पनि निकै समय बाँकी छ, सिस्टर त चाँडै आउनुभएछ ।
भक्तिपूर्ण मनले आराधना गर्नको निम्ति आराधना समयभन्दा अलि चाँडै नै आइपुग्नुपर्छ भनेर सुनेकीले । अझ मलाई त साह्रै निद्रा लाग्छ, त्यसैले आज बिहान सबेरै उठ्न निकै ठूलो सङ्घर्ष गर्नुपरेको थियो ।
यसरी आफूले सिकेको कुरा पालन गर्न प्रयत्न गर्नुभएको देख्दा धेरै खुशी लाग्यो ।
तर तपाईंलाई एउटा कुरा थाहा छ ? म शनिबार मण्डली जान्छु भन्दाखेरि कतिपयले अनौठो मान्छन् । तिनीहरू मुन्टो बटार्दै, “हैन, आराधनाको दिन त आइतबार होइन र ?” भनेर सोध्ने गर्छन् ।
ए, हो र ?
त्यसैले म यसबारे बुझ्न चाहन्छु । हाम्रो मण्डलीमा चाहिँ, अन्य मण्डलीहरूमा जस्तै आइतबार आराधना नगरिएर किन शनिबार नै आराधना गरिन्छ ?
किनकि परमेश्वरलाई भेट्ने प्रतिज्ञा गरिएको दिन भनेको शबाथ-दिन हो, र यो दिन नै शनिबार हो । मानिलिऔं, यदि तपाईंले कुनै विशेष व्यक्तिसँग कुनै दिन भेट्ने प्रतिज्ञा गर्नुभयो, तर अरू नै कुनै दिनमा भेट्न जानुभयो भने के तपाईंले उक्त व्यक्तिलाई भेट्न सक्नुहुन्छ त ? हो, त्योजस्तै हामीले परमेश्वरलाई भेट्ने दिन पनि तोकिएको छ । तर तोकिएको दिनको भोलिपल्ट गएर आराधना गऱ्यो भने के परमेश्वरलाई भेट्न सकिन्छ होला त ?
ए, त्यस्तो पो हो । तर परमेश्वरले किन अन्य थुप्रै दिनहरूमध्ये शबाथ-दिनमा नै आराधना गर्न भन्नुभएको होला ?
शबाथ-दिनको उत्पत्तिको विषयमा अध्ययन गर्नुभयो भने यसको कारण बुझ्नुहुनेछ ।

आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो र सातौँ दिनमा आफूले गर्नुभएको सबै कामबाट उहाँले विश्राम लिनुभयो । अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो । उत्पत्ति २:२-३

वाह् ! सुन्दै कति गहन छ ।
हो नि । परमेश्वरले सृष्टिको कार्य सबै सिद्ध्याउनुभएपछि सातौँ दिनमा विश्राम गर्नुभयो, र सोही दिनलाई शबाथ-दिन भन्नुभयो, जसको अर्थ हो विश्राम गर्ने दिन । अनि हामीलाई परमेश्वरको आशिष् पाउने गराउन र पवित्र तुल्याउन यस दिनलाई पवित्र ठानेर मान्नू भन्ने आज्ञा दिनुभयो ।

“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू … । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।” प्रस्थान २०:८-११

यदि जुनसुकै दिनमा आराधना गरे पनि केही फरक नपर्ने भए, परमेश्वरले शबाथ-दिनलाई नै तोकेर मान्नू भनेर भन्नुहुनेथिएन होला । तसर्थ यदि कोही साँचो हृदयले परमेश्वरको आराधना गर्न चाहन्छ भने उसले तोकिएको दिनलाई मनपरी परिवर्तन नगरीकन परमेश्वरले जानकारी दिनुभएको वचनमा आज्ञाकारी हुनुपर्छ ।
शबाथ-दिन सातौँ दिन हो भन्ने कुरा त स्पष्ट थाहा भयो । तर तपाईंले मलाई सातौँ दिन शनिबार हो भनेर भन्नुभए पनि आइतबारलाई सातौँ दिनको रूपमा सोच्ने मानिसहरू धेरै नै छन् जस्तो लाग्छ । यो कुरामा म पनि अलि अन्योलमा छु ।
विद्यालय अथवा कार्यालयहरूमा पनि प्राय: आइतबार बिदा हुन्छ र सोमबारदेखि दैनिक कामकाज सुरु हुने भएकोले मानिसहरूले त्यसरी सोचेका हुन् । तर हप्ताको पहिलो दिनचाहिँ सोमबार होइन आइतबार नै हो । पात्रो हेर्नुभयो भने आइतबारदेखि हप्ताको सुरु भएको हुन्छ नि, होइन त ? आइतबारदेखि सुरु हुनुको कारणचाहिँ यो नै हप्ताको पहिलो दिन भएकोले हो । तर समयको बहावसँगै मानिसको आम सोचाइ बदल्न पनि सक्छ । त्यसैले हाम्रो निश्चित मापदण्ड भनेको बाइबल हुनुपर्छ, जुन अपरिवर्तनीय छ । बाइबलमा हेर्ने हो भने सातौँ दिन, शबाथ-दिन नै शनिबार हो भन्ने कुरा निश्चित गर्न सकिन्छ ।

बाइबलमा शबाथ-दिन कुन बार हो भन्ने कुरा पनि वर्णन गरिएको छ र ?
हजुर, हो नि । एक चोटि हेरौं कि ?

“शबाथ-दिन बितेपछि … हप्ताको पहिलो दिन बिहानै उहाँ जीवित भई उठ्नुभएपछि …” मर्कूस १६:१,९

योचाहिँ येशूज्यू पुनरुत्थान हुनुभएको दृश्य हो । सरल व्याख्यामा अनुवादित सरल नेपाली बाइबलमा, उही वचनलाई “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि …” भनेर लेखिएको छ । ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’चाहिँ ‘आइतबार’ हो भने त्यसको अघिल्लो दिन अर्थात् शबाथ-दिनचाहिँ कुन बार होला ?

शबाथ-दिन त निश्चय नै शनिबार नै रहेछ नि । अघि हेरेको पद १मा येशूज्यू पुनरुत्थान हुनुभएको दिनलाई ‘शबाथ-दिन बितेपछि’ भनेर लेखिएको छ । सायद यसले, येशूज्यूको समयमा पनि शबाथ-दिन मानिएको कुरा दर्शाएको हो जस्तो लाग्छ ।
सिस्टर, मैले तपाईंलाई एउटा कुरा बताउँदा, तपाईंले दुई वटा कुरा बुझ्नुहुँदोरहेछ । शबाथ-दिनचाहिँ मुक्ति पाउन चाहने सन्तहरूका लागि अत्यन्तै महत्त्वपूर्ण दिन हो । किन हो, थाहा छ ?
खै, थाहा भएन त ।
किनभने परमेश्वर र हामीबीचको सम्बन्धलाई निश्चित गर्ने दिन नै शबाथ-दिन हो ।

“… तिमीहरूले निश्चय नै मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ ।” प्रस्थान ३१:१३

शबाथ-दिन मानेमा परमेश्वरलाई चिन्न र महसुस गर्न सकिन्छ । यो नै संसारमा सबैभन्दा ठूलो आशिष्‌को प्रतिज्ञा गरिएको दिन हो । त्यसैले येशूज्यूले पनि यो शबाथ-दिनलाई संसारको अन्त्यसम्म याद गर्न भन्नुभयो ।

“तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर ।” मत्ती २४:२०

ए, बल्ल बुझें । शबाथ-दिन यति महत्त्वपूर्ण छ भन्ने थाहै थिएन ।
परमेश्वरसँगको प्रतिज्ञालाई महत्त्वपूर्ण ठान्नुहुने सिस्टरलाई देखेर परमेश्वर पनि कति खुशी हुनुहुन्छ होला । आगामी दिनहरूमा पनि सधैँ सही रोजाइ लिनुभएर परमेश्वरबाट धेरै आशिष् पाउनुहोस् भन्ने चाहन्छु ।
धन्यवाद । आज शबाथ-दिनको आराधना मानेर परमेश्वरबाट धेरै आशिष् प्राप्त गरी मेरो आत्मा पवित्र हुनेछ भन्ने कुरालाई सोच्दा म निकै उत्साहित छु ।
ल, त्यसोभए अब आशिषित शबाथ-दिनको आराधनाको तयारी गरौं कि ?