प्रार्थना कसरी गर्नुपर्छ ?

1994 हेरेको संख्या

प्रार्थना भनेको परमेश्वरसँगको आत्मिक वार्तालाप हो । त्यसैले परमेश्वरको अस्तित्वमा दृढ विश्वास गर्नुपर्छ, र हामीले मागेको कुरा उहाँले दिनुहुन्छ भन्ने विश्वाससाथ सारा हृदयले प्रार्थना गर्नुपर्छ ।

हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्नेबारे विस्तृत रूपमा अध्ययन गरौं ।

१) सर्वप्रथम उहाँको राज्य र उहाँको धार्मिकताको निम्ति प्रार्थना गर्नुपर्छ ।

व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति गरेको प्रार्थना वा परमेश्वरको इच्छासँग नमिल्ने प्रार्थनाचाहिँ नाबालकले बन्दूक वा खुकुरी दिनुहोस् भनेर मागेजस्तै हो । त्यसैले प्रार्थना गर्दा परमेश्वर प्रसन्न हुनुहुने र उहाँको इच्छासँग मिल्ने प्रार्थना गर्नुपर्छ ।

​​​“तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर …” मत्ती ६:३३

२) दिनुहुनेछ भन्ने पक्का विश्वाससाथ प्रार्थना गर्नुपर्छ ।

विश्वासविनाको प्रार्थनामा जीवन हुँदैन । प्रार्थनाचाहिँ परमेश्वरसँगको आत्मिक वार्तालाप हो । तसर्थ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने दृढ विश्वाससाथ प्रार्थना गर्नुपर्छ । परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने दृढ विश्वाससाथ चढाइने प्रार्थना र शङ्का गर्दै चढाइने प्रार्थनाबीच ठूलो भिन्नता छ । शङ्का गर्दै प्रार्थना गर्नु भनेको ढोकाको बिग्रिएको घण्टीको स्वीच दबाउनुजस्तै हो । बिग्रिएको घण्टीको स्वीच जतिसुकै दबाए पनि उत्तर नआएजस्तै शङ्का गर्दै चढाएको प्रार्थनाको पनि उत्तर आउँदैन ।

तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस् । शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छालसमान हुनेछ । यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ । किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ । याक १:६-८

३) सारा हृदयले प्रार्थना गर्नुपर्छ ।

प्रार्थना साँच्चै महत्त्वपूर्ण छ । प्रार्थनाचाहिँ पवित्र परमेश्वरमा चढाइने हुँदा प्रार्थना गर्ने व्यक्तिले साँचो मन र सारा हृदयले प्रार्थना गर्नुपर्छ ।

… आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए । लूका २२:३९-४४

हामीले प्रार्थनाको जीवन बिताउनुपर्छ, र कुनै कार्य गर्दा प्रार्थनाद्वारा आरम्भ गरेर प्रार्थनाद्वारा नै अगाडि बढाउँदै प्रार्थनाद्वारा नै समाप्त गर्नुपर्छ । परमेश्वरका सन्तानको रूपमा हामीले साँचो र सम्पूर्ण हृदयले प्रार्थना गर्नुपर्छ, अनि परमेश्वरले निश्चय नै सुनिदिनुहुन्छ भन्ने विश्वाससाथ माग्नुपर्छ ।

​समीक्षात्मक प्रश्न
परमेश्वरसँग गरिने आत्मिक वार्तालाप भनेको के हो ?
प्रार्थना गर्दा ध्यान दिनुपर्ने ३ वटा कुरालाई बुँदागत रूपमा लेख्नुहोस् ।