गिमबाब बनाउँदै

गिम यु रा / सुवन, कोरिया

10,405 भ्यु

मलाई सानो छँदा गिमबाब खान मन पर्थ्यो । पिकनिक वा खेलकुदको दिनमा आमाले सधैँ मेरो लागि गिमबाब बनाइदिने गर्नुहुन्थ्यो । त्यसैले विशेष दिनमा गिमबाब खानुपर्छ भन्ने कुरा मेरो लागि सामान्यजस्तै बनेको थियो ।

समय बित्दैगयो, अनि म पनि आमा भएँ । आमाले जस्तै गरी मलाई पनि आफ्नो बच्चाको पिकनिकको लागि गिमबाब बनाइदिन मन लाग्यो । तर गिमबाब बनाउन त्यति सजिलो रहेनछ भन्ने कुरा पहिलो पल्ट महसुस भयो । अघिल्लो दिनमा मैले सबै तरकारीहरू किनेर काटकुट गरें । भात पकाउन, हाम(सुँगुरको फल मासु), फिस केक, गाँजर र अण्डा फ्राइ गर्नको लागि पिकनिकको दिनमा म बिहान सबेरै उठें ।

सबै सामग्रीहरू तयार गरेपछि अन्ततः गिमबाब बनाउने चुनौती मेरो अगि थियो । मैले गिम(समुद्री लेउको परिकार)माथि पातलो गरी भात छरें, अनि तयार गरिएका सामग्रीहरू मिसाएर गिमलाई घुमाएँ । तर त्यो मैले सोचेंजस्तो सजिलो थिएन । त्यसलाई धेरै कसेर घुमायो भने छेउबाट भाँचिन सक्थ्यो, अनि कम कस्यो भने खुकुलो भएर गिमबाब काट्दाखेरि भित्रका सबै सामग्रीहरू निस्किन सक्थ्यो । धेरै पटकको कोसिस र गल्तीपछि मैले त्यसलाई राम्ररी घुमाउन सिकें, अनि टिफिन समयमै तयार भयो ।

बच्चालाई टिफिन बक्स दिएर पठाएपछि भान्साकोठाको वरिपरि हेर्दा त त्यो युद्ध मैदानजस्तै थियो । लखतरान भएर कुर्सीमा बस्दाखेरि मलाई एक्कासि आमाको याद आयो । वास्तवमा मेरी आमाको हातमा समस्या छ । दुर्घटनामा परेर उहाँको दाहिने हातको चोरी औँला र माइली औँला आधा काटिएको थियो । त्यसको बाबजुद हरेक बिहानमा उहाँले मेरो निम्ति स्वादिष्ट खाजा बनाइदिनुहुन्थ्यो, अनि कपाल कोरिदिनुहुन्थ्यो ।

उहाँले आफूलाई गाह्रो भएको कुनै सङ्केत दिनुहुन्नथ्यो । यसैकारण मैले उहाँलाई गाह्रो भयो होला भनेर कहिल्यै सोचिनँ । साथीहरूले आमाको हातको बारेमा सोध्दाखेरि म उल्टै लज्जित हुने गर्थें । विगतका दिनहरूलाई फर्किहेर्दा म उहाँप्रति क्षमाप्रार्थी हुनुको साथै आफैप्रति लज्जित भएँ, अनि मेरा आँखा रसाए । आमाले मलाई एकदमै प्रेम गर्नुहुने भएकोले ती सम्पूर्ण कष्टहरू सहनुभएको होला । आमाको प्रेमलाई हृदयदेखि महसुस गर्न मलाई लामो समय लाग्यो ।

अहिले पनि आमाले कहिलेकहीँ गिमबाब बनाउने गर्नुहुन्छ । उहाँका नाति-नातिनाले हजुरआमाको हातले बनाएको गिमबाब उत्कृष्ट छ भन्छन् । नाति-नातिनाले गिमबाब खाएको देखेर मेरी आमाले खुशी हुँदै “मीठो गरी खाएकोमा धन्यवाद” भन्नुहुन्छ । म पाक कलामा त्यति राम्रो नभए तापनि मलाई मेरी आमाको लागि गिमबाब बनाइने इच्छा छ । आजपर्यन्त मैले उहाँलाई पर्याप्त रूपमा धन्यवाद भनेकी छैनँ । यस पटकचाहिँ निश्चय नै म उहाँलाई “धन्यवाद, माया गर्छु” भन्नेछु ।