WATV.org is provided in English. Would you like to change to English?

भेडा गोठालोको महसुस

आलान सेयलर / ह्युस्टन टेक्सस, संयुक्त राज्य अमेरिका

16,597 भ्यु

हिउँदमा तापक्रम –४० डिग्री सेल्सियससम्म झर्ने संयुक्त राज्य अमेरिकाको उग्र ठन्डी उत्तरी प्रदेशमा मेरो जन्म भयो, र त्यहीँ नै मेरो बाल्यकाल बित्यो । अनि ग्रीष्ममा चाहिँ त्यहाँ करीब ३८ डिग्री सेल्सियससम्मको प्रचण्ड गर्मी हुन्थ्यो । सबैभन्दा नजिकको छिमेकी १.६ किलोमिटर जतिको दूरीमा रहनुहुन्थ्यो र उहाँहरूसित चिनजान गर्ने समय कहिल्यै मिलेन ।

उत्तरी डाकोटामा, मेरा बुबाले धानको बाली लगाउनुका साथै त्यहाँ सुँगुर, गाईवस्तु, घोडा, कुखुरा र टर्की इत्यादि पालन गर्नुहुन्थ्यो ।

कुनै बेला मैले बुबालाई “बुबा, फराकिलो चरन र हिउँदका लागि प्रशस्त परालहरू भए तापनि तपाईंले किन भेडा-पालन नगर्नुभएको ?” भनेर सोधें । तब बुबाले “भेडा-पालन गर्न खासै रमाइलो छैन” भन्नुभयो । भेडा-पालनमा खासै अनुभव नभएर हो कि, मलाई भेडा-पालन सजिलो कार्यजस्तो लाग्थ्यो, र पछि गएर म एक असल गोठालो बन्न सक्छु भनी सोच्दथें ।

गाईवस्तुहरू बडेमानका हुन्छन् । वयस्क गाईवस्तुको तौल कम्तीमा पनि ४५० किलो हुन्छ । जाडोयाममा गोठलाई न्यानो पार्न ती गाईवस्तुलाई धेरै पराल लाग्छ, अनि प्रोटिनयुक्त विभिन्न खुराक पनि खुवाउनुपर्ने हुन्छ । प्राय:जसो वसन्तमा, रोग प्रतिरोधात्मक वर्षेनी सुइहरू र औषधी-उपचार पनि गरिरहनुपर्ने भएको यो काम सजिलो छैन । अर्कातिर, भेडाहरूचाहिँ साना हुन्छन् । अनि वयस्क भेडाको तौल करीब ६८-९० किलो जति हुन्छ । त्यसैले भेडाहरूलाई सजिलै बोक्न सक्नुका साथै सामग्रीहरू पनि गाईवस्तुको तुलनामा थोरै नै लाग्छ । भेडाहरूलाई भोजन खुवाउन अलि सहज जस्तो देखिन्छ । बाक्लो सेतो ऊनले ढपक्क ढाकिएका स–साना भेडाका पाठाहरू ! कुनै पूरै सेता हुन्छन् भने कुनैचाहिँ थोप्ले, खैरे अथवा काला पनि हुन्छन् । त्यसैले भेडा-पालन साँच्चै रमाइलो कार्य हो भनेर म कल्पना गर्थें ।

कृषि र पशु-पालनमा केही समय कार्य गरेर विश्वविद्यालयमा भर्ना भएपछि, भेडा-पालन गर्ने मेरो सोचाइ बद्लियो । त्यसपछि इन्जिनियरिङ निर्माण विभागको सिलसिलामा म संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरू लगायत अन्य देशहरूको भ्रमणमा व्यस्त हुँदैगएँ ।

संयुक्त राज्य अमेरिकाको वायोमिङमा लामो समय बस्नुपर्ने हुँदा, सन् १९९७मा मैले करीब ०.२६ वर्ग किलोमिटर क्षेत्रफलको जग्गा किनें । त्यसपछि केही गाईवस्तु किन्नुपर्ला भनेर सोचेको थिएँ, तर सोचेकोभन्दा निकै महँगो थियो । त्यसैले अब त्यसमा भेडा-पालन गर्ने मनस्थिति बनाएँ । वायोमिङचाहिँ विशाल चरन र खुल्ला घाँसे मैदानले गर्दा अत्याधिक भेडा भएको ठाउँ भनेर प्रचलित छ । यसरी, मैले भेडा-पालन कार्य सुरु गरें । भेडा-पालन गर्ने मेरो बाल्यकालदेखिको सपना अन्ततः साकार भयो । अनि केही समयपछि बियाउनेवाला १०० वटा माउ भेडाहरू मैले किनें । ती माउ भेडाहरू र अब चाँडै जन्मनेवाला मायालु साना पाठाहरूलाई सोच्दै म ज्यादै उत्साहित भएँ । सानो छँदा भेडा-पालन कार्यलाई एकदम सजिलो ठानेको त्यो समय याद आयो ।

केही वर्ष बितेपछि बल्ल, बुबाले किन भेडा-पालन नरुचाउनुभएको रहेछ भन्ने कुरा मैले थाहा पाएँ । भेडा पालनचाहिँ सोच्नै नसकिने मुश्किल कार्य रहेछ । भेडाहरू साँच्चै अन्दाज लगाउनै नसकिनेसम्म चञ्चल स्वभावका हुँदारहेछन् । तिनीहरू प्राय: बिरामी भइरहने र भोकाइरहने प्रवृतिका हुन्छन् । अनि भेडाहरूलाई हिउँद र ग्रीष्ममा लगातार रुघा लागिरहन्छ । भेडाहरू गोठबाट बाहिर निस्कँदा एउटै कुराको मात्र चिन्ता हुन्छ– ब्वाँसाको आक्रमण अथवा स्यालको खेदो । प्रजनन समयमा पनि, माउ भेडाहरूले आफ्ना साना पाठाहरूलाई नस्वीकार्ने पो हुन् कि अथवा भेडा-गोठालोले नै ती साना पाठाहरूलाई बोतलद्वारा दूध खुवाउनुपर्ने पो हो कि भन्ने कुराको कुनै टुङ्गो हुँदैन ।

गाईवस्तुले चाहिँ स्व-व्यवस्थापन गर्न जानेका हुन्छन् । यिनीहरूलाई पाल्ने मानिस अरू काममा व्यस्त भए पनि यिनीहरूले कैयौँ दिनसम्म आफ्नो देखभाल आफैले गर्छन् । यिनीहरूको प्रजनन समयमा, एक चोटि बाछा बियाइसकेका गाईवस्तुलाई फेरि बाछा बियाउन खासै समस्या आइपर्दैन । आमा गाईवस्तु बाछा जन्मनेबित्तिकै तिनीहरूको रेखदेख गर्छन्, र ती साना बाछाहरूको निम्ति साँच्चै असल आमा बन्छन् । अनि यी गाईवस्तुहरूले स्याल, ब्वाँसा, ब्याजर, दुम्सी लगायत अन्य आक्रामक पशुहरूबाट आफ्ना बाछाहरूलाई सुरक्षा पनि दिन्छन् । तर गाईवस्तुको तुलनामा भेडाहरूलाई चाहिँ सधैँ १००% स्याहार चाहिन्छ । मेरो जीवनकालमा भेडा-पालनचाहिँ सबैभन्दा कठिन कार्य हो जस्तो आभास भयो । यी भेडाहरूलाई दिनदिनै र निरन्तर देखभाल गर्नु साँच्चै सबैभन्दा कष्टकर अनुभवको क्षण थियो ।

पछि फेरि विदेशमा काम गर्दै पत्नीसँग कतै यात्रा गर्दा मैले सत्यताका वचनहरू सुनें । मेरी पत्नीले सत्यता ग्रहण गरिन् र मैले पनि मुक्तिको आशिष् पाएँ । अनि सत्यताको वचन बुझ्दैजाँदा, परमेश्वरले हामीलाई स्वर्गबाट हराएको भेडासँग दृष्टान्त गर्नुभएको कुराबाट म एकदमै प्रभावित भएँ । हामी मानिस र भेडाहरूबीचमा मिल्ने कुराहरू साँच्चै धेरै छन् । परमेश्वरले हामीलाई एकदमै मिल्ने गरेर भेडासँग दृष्टान्त गर्नुभएको रहेछ ।

हामी आत्मिक रूपमा बिरामी पर्दा, आत्मिक रूपमा भोकाउँदा र तिर्खाउँदा भेडा सरहका हामीलाई पनि गोठालो हुनुभएका हाम्रा परमेश्वरको स्याहारको खाँचो पर्छ । कहिलेकहीँ हामीहरू स्वर्गीय माताको काखबाट टाढिएर भौंतारिन पुग्छौं, र ब्वाँसाको भेष धारण गरेका झूटा अगमवक्ताहरूको आक्रमणमा पर्न पुग्छौं । साँचो गोठाला हुनुभएका हाम्रा स्वर्गीय पिता-माताको महान् बलिदान र अपार प्रेमले गर्दा, आज पनि हामीहरू सुरक्षित निवासस्थान सियोनमा रहँदै अनन्त स्वर्गको आशा लिन सकेका छौं ।

यसरी महान् प्रेम र बलिदानद्वारा हाम्रो आत्मालाई बचाइदिनुभएर अन्धकारको शक्तिबाट छुटकारा गराइदिनुहुने स्वर्गीय पिता र मातालाई अनन्त धन्यवाद र प्रशंसा चढाउँदछु । त्यो अनुग्रहलाई हृदयमा खोप्दै स्वर्गीय पिता र माताजस्तै असल गोठालोको मनद्वारा हराएका भाइ-बहिनीलाई खोज्ने र हेरचाह गर्ने सन्तान बन्नेछु ।