बुबा-आमाको चिन्ता

गाङ यो ना / चेल्याबिन्स्क, रुस

1116 हेरेको संख्या

म घरदेखि टाढा रुसमा बस्ने भएकीले मेरो हालखबर थाहा दिनको निम्ति बुबा-आमालाई आफ्ना तस्वीरहरू पठाउने गर्छु ।

गत हिउँदमा पहिलो पटक असिना पर्दाको कुरा हो । असिनाको झरी अत्यन्त सुन्दर देखिएको थियो । असिना थापिरहेको मेरो हातको तस्वीर खिचेर मैले बुबा-आमालाई पठाएँ । त्यो तस्वीर देखेर बुबा-आमाले असिनाको बारेमा कुरा गर्नुभयो, र कतै मलाई धेरै जाडो लागिरहेको छ कि भनेर सोध्नुभयो । मैले म ठीक छु, स्वस्थ छु भनेर उत्तर दिएँ । सदाझैँ हामीले हालखबर आदानप्रदान गर्दै साधारण कुराकानी गऱ्यौं ।

तर केही दिनपछि आमाले मलाई फोन गर्नुभएर न्यानो पञ्जा पठाइदिन्छु भन्नुभयो । उहाँले चिसो मौसमको कारण त्यसो भन्नुभएको होला भन्ठानेकी थिएँ, तर कारण त्यो थिएन । मैले असिना थापिरहेको हातमा लगाएको पञ्जा तस्वीरमा निकै पुरानो देखिएकोले उहाँलाई चिन्ता लागेको रहेछ । छोरीको तस्वीरले आमालाई धेरै कुरा बताउँछ भन्दै उहाँ हाँस्नुभयो ।

त्यसको केही समयपछि मैले, उहाँहरूले किनिदिनुभएको फाइबर ज्याकेट लगाएको अर्को तस्वीर पठाएँ । तुरुन्तै उताबाट, राम्रो देखिएको छ भन्ने उत्तर आयो । तर भोलिपल्ट बिहान, आमाले इमेल पठाउनुभयो । बुबाले, चाँडो बुट जुत्ता किनेर त्यो लगाएको तस्वीर खिचेर पठाउनू भनेर आमालाई लेख्न लगाउनुभएको रहेछ । त्योचाहिँ तस्वीरमा मैले स्नीकर जुत्ता लगाएको देख्नुभएकोले थियो । मैले गर्मीयाममा लगाउने जुत्ता जाडोयाममा लगाएको देखेर उहाँ चिन्तित हुनुभएको कुरा सुनेर म छक्क परें । खासमा मैले त्यो जुत्ता, नजिकैको सुपरमार्केटमा जानलाई सजिलो हुने भएकोले एकैछिनको लागि लगाएकी थिएँ । मेरा बुबा-आमाले मैले पठाएको तस्वीरलाई नियालेर हेर्नुहुँदोरहेछ भन्ने नयाँ कुरा थाहा पाएर मैले तुरुन्तै “म प्रायःजसो बुट नै लगाउने गर्छु, चिन्ता नलिनुहोस्” भनेर उत्तर दिएँ ।

मलाई के कुराको खाँचो छ भन्ने कुरा बुझ्नको निम्ति तस्वीरमा मलाई नियालेर हेर्नुभएका मेरा बुबा-आमालाई देखेर मलाई स्वर्गीय पिता-माताको याद आयो । आफ्नी छोरीको चिन्ता गर्नुहुने मेरा बुबा-आमाले जस्तै स्वर्गीय पिता-माताले पनि हामीबाट एकैछिन पनि आफ्नो नजर हटाउनुहुन्न, उहाँहरूले हाम्रो सानो सोर र सानो कार्यमा पनि ध्यान दिनुहुन्छ । हाम्रा सबै कुरामा ध्यान दिनुहुँदै हामीलाई गहिरो प्रेम गर्नुहुने मेरा आत्मिक र शारीरिक बुबा-आमालाई धन्यवाद दिन चाहन्छु ।