लोभ हटाएमा खुशी भरिन्छ !
आफूलाई अरूसँग दाँज्ने मन र अत्यधिक लोभले निराशा ल्याउँछ । यदि तपाईं खुशी हुन चाहनुहुन्छ भने सन्तुष्ट हुनुहोस् ।

नव वर्षको पहिलो दिन, सबै मानिसहरूको नव वर्षको शुभकामना सन्देश फरक-फरक हुने गर्छ, तर खासमा उनीहरूको कामना भने एउटै हुन्छ । त्यो नै ‘जीवन सुखी बनोस्’ भन्ने हो । खुशीको मापदण्डचाहिँ प्रत्येकको विचारअनुसार फरक हुन्छ । कसैले आफूसँग धेरै पैसा भएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन् भने कसैले धेरै ख्याति कमाएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन्, अनि कोहीचाहिँ आफूसँग अधिकार भएमा खुशी हुन सकिन्छ भनेर विश्वास गर्ने गर्छन् ।
तर एक जना करोडपति जे गोउल्डले मर्नुअघि “म संसारको सबैभन्दा दयालाग्दो मानिस हुँ” भनेका छन् । यूरोप कब्जा गर्न सफल भएका सम्राट नेपोलियनले “मेरो जीवनमा म साँच्चिकै खुशी भएको समयचाहिँ जम्मा ६ दिन थियो” भनी स्वीकारे । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई आफ्नो जीवनको सबैभन्दा खुशीको दिन कुन हो भनेर प्रश्न गरिँदा तिनले “अहिले मैले ह्वाइट हाउस छोडें । म यत्तिको खुशी कहिल्यै भएको थिइनँ” भनेर जवाफ दिए । धेरै मानिसहरू खुशी हुनलाई पैसा, ख्याति र शक्तिको पछि लाग्छन् । तर यी कुराहरू उपभोग गरेका मानिसहरूले, यी कुराहरूद्वारा खुशी प्राप्त नभएको बताएका छन् । यो वास्तवमै विडम्बनाको कुरा हो ।
एउटा कुरा स्पष्ट छ, कि खुशीचाहिँ बाहिरी परिस्थितिमा निर्भर हुने कुरा होइन । वास्तवमा खुशीचाहिँ मनभित्र हुन्छ । यसैले त खुशी भनेको यस्तो चीज हो जुन न हराउने डर हुन्छ नता चोरी नै गर्न सकिन्छ ।
लोभले लालच ल्याउँछ
एकादेशमा एउटा सानो गाउँमा परिश्रमी र ईमानदार दम्पती बस्दथे । कुनै एक दिन पतिले अनाज बेचेर कमाएको पैसाले बजारबाट हाँस किनेर ल्याए । भोलिपल्ट बिहान उठेर हेर्दा तिनीहरूले, हाँसले सुनको अण्डा पारेको भेट्टाए । हरेक बिहान हाँसले सुनको अण्डा पारेकोले ती दम्पती धनी भए, र अब उसो तिनीहरूले काम पनि गर्नुपरेन । यसैबीचमा ती दम्पतीले लोभी भएर गुनासो गर्न थाले । “यो हाँसले किन दिनमा एउटाभन्दा बढी अण्डा पार्दैन ?” अनि पत्नीको दिमागमा एउटा विचार आएछ । “हामीले यो हाँसको पेट चिरेर हेऱ्यौं भने त्यसभित्र सुनका अण्डाहरू धेरै भेट्टाउनेछौं होला !” तिनका पति पनि त्यसमा सहमत भए । अन्ततः ती दुवैले हाँसको पेट चिरेर हेरे, तर त्यसभित्र केही पनि थिएन । त्यसपछि हाँसको मृत्युले तिनीहरूमा दुर्दशा ल्यायो ।

एसोपको दन्त्यकथाका यी मूर्ख दम्पतीजस्तै मानिसको लोभको कुनै सीमा हुँदैन । जति धेरै भयो, त्यति नै धेरै चाहिने हुन्छ । हिजोआज मानिसहरू प्रायः “धन लाभ होस् !” भन्ने कामना आदानप्रदान गर्ने गर्छन् । हिजोआज भौतिक लोभका कारण सम्बन्ध टुक्रिएका परिवारहरू जति पनि देखिन्छ । पैतृक सम्पत्तिको मामिलाले दाजुभाइहरू अदालतसम्म धाउने गर्छन् भने पैसाकै लागि बुबा-आमाविरुद्ध अनैतिक अपराध गर्ने मानिसहरू पनि धेरै छन् ।
कसै-कसैले, ढाड कुप्रिनेसम्म काम गरेर धेरै पैसा कमाएको चाहिँ छोरा-छोरीकै खुशीको निम्ति हो भन्ने गर्छन् । उनीहरू जति धेरै पैसा भयो छोरा-छोरीलाई त्यति नै राम्ररी हुर्काउन सकिन्छ, अनि छोरा-छोरीलाई जति धेरै सम्पत्ति दियो उनीहरूको भविष्य त्यति नै सुखमय बन्छ भनेर विश्वास गर्छन् । सबै बुबा-आमाहरूमा, सन्तानको लागि सबै कुरा गरिदिन चाहने र केवल उत्तम चीज दिन चाहने मन हुन्छ । तर त्यसो गर्न सक्नुभएन भने पनि मन दुखाउन आवश्यक छैन । छोरा-छोरीहरू हुर्केर परिपक्व भएपछि उनीहरूले तपाईंहरूको मन बुझ्नेछन्, र बाल्यावस्थाका पुराना मीठा स्मृतिहरू याद गर्दै सँगै हाँस्नेछन् । सन्तानले वास्तवमै पाउनुपर्ने हकचाहिँ सम्पत्ति होइन, तर साना कुराहरूमा पनि धन्यवादी हुने हृदय र त्योद्वारा आफू तथा आफ्ना छरछिमेकलाई खुशी र उदार-चित्तको बनाउने रहस्य हो ।
आफूलाई अरूसँग दाँज्दाखेरि खुशी हराउने

यहाँहरूलाई कुनचाहिँ खेलाडी अझ खुशी हुन्छ जस्तो लाग्छ, रजत पदक विजेता वा काँस्य पदक विजेता ? रजत पदक जितेका खेलाडी नै अझ खुशी हुनुपर्ने होइन र ? तर सामाजिक मनोवैज्ञानिक भिक्टोरिया मेडभेकद्वारा गरिएको अध्ययनले, रजत पदक विजेताभन्दा काँस्य पदक विजेताहरू नै आफ्नो जितमा अझ खुशी भएको कुरा देखायो । काँस्य पदक विजेताहरूचाहिँ कुनै पदक नहुनुभन्दा कम्तीमा मञ्चमा उभिएर सम्मान प्राप्त गरेको कुरामा खुशी हुन्छन् भने रजत पदक विजेताहरूचाहिँ अलिकतिले मात्र स्वर्ण पदक हात नपरेको कुरालाई सोच्दै असन्तुष्ट हुन्छन् । उनीहरूले आफूलाई स्वर्ण पदक विजेताहरूसँग दाँजेकाले आफ्नो खुशी गुमाउन पुगेका हुन् भन्ने अर्थ हो ।
आफूलाई अरूसँग दाँज्दा मानिसले आफूलाई सधैँ तल्लो दर्जामा पाउँछ, र ऊ दुःखित हुन्छ । आफ्ना चिनाजानाहरूको भलो हुँदा ईर्ष्या गर्नुहुन्छ भने तपाईंलाई पीडा हुनेछ । अरू मानिसको रहनसहन, सम्पत्ति र क्षमतातिर मात्र केन्द्रित भइयो भने आफू र आफ्नो परिवारको साँचो गुण देख्न सकिँदैन ।
‘फलानोका पतिले घरको काममा मद्दत गर्छन्,’ ‘मेरो साथीको बुबा-आमाले उसलाई जे चाहियो त्यही किनिदिनुहुन्छ,’ ‘मेरो साथीको छोरा पढाइमा निकै राम्रो छ’ … यसरी आफ्नो परिवारलाई अरूको परिवारसँग दाँज्ने गरियो भने आफ्नो परिवारप्रति केवल दुःखित भइन्छ । खुशी मानिस आफूसँग जे छ, त्यसैमा सन्तुष्ट रहन्छ । सन्तुष्ट भएर जिउने मानिस भन्दैमा कुनै इच्छा अथवा आशाविना जिउने मानिस होइन । ऊचाहिँ अरू मानिस वा वातावरणबाट प्रभावित हुने मानिस होइनकि आफ्नो खुशी आफैले खोजेर आनन्दसाथ त्यो बाटो हिँड्ने मानिस हो ।
परिवारलाई आफूले चाहेअनुसार परिवर्तन गर्न खोज्नु पनि एक प्रकारको लोभ
के तपाईं आफ्नो परिवारलाई परिवर्तन गर्न सक्नुहुन्छ ? उनीहरूलाई अन्य मानिसहरूसँग साट्ने भन्न खोजेको होइनकि परिवारलाई तपाईंले चाहेको स्वरूपमा परिवर्तन गराउन खोज्नु अथवा उनीहरूलाई तपाईंले चाहेअनुसार जिउने गरी परिवर्तन गराउनु भन्न खोजेको हो । त्यसको उत्तर हो, ‘सकिँदैन !’ यस्ता प्रयासहरू व्यर्थ हुन् । मानिसहरू प्रत्येकको स्वाद, बानी र बोल्ने शैली फरक-फरक हुन्छ । “नानीदेखि लागेको बानी हट्दैन” भन्ने भनाइजस्तै मानिसको स्वभावचाहिँ बाल्यकालदेखि नै निर्माण हुन्छ अथवा सायद ऊ त्यही स्वाभाव लिएर जन्मेको हुन सक्छ । त्यसैले कसैलाई तपाईंले चाहेअनुसार परिवर्तन गर्न खोज्नु भनेको लोभ मात्र हो, अनि त्यो लोभबाट मुक्त हुन सकिएन भने त्यसले केवल कलह निम्त्याउँछ ।

आफ्ना छोरा-छोरीको कुरा नसुनीकन उनीहरूलाई चाहिनेभन्दा बढी अर्ती दिने अथवा उनीहरू आफैले निर्णय गर्नुपर्ने प्रत्येक सानातिना कुराहरूमा पनि उनीहरूलाई नियन्त्रण गर्दै बुबा-आमाले भनेअनुसार गरेको चाहने केही बुबा-आमाहरू छन् । बुबा-आमाको यस्तो लोभले छोरा-छोरीलाई दुःखित तुल्याउँछ । आफ्नो सन्तानले विवाह गर्न चाहेको व्यक्तिले केही मापदण्ड र शर्तहरू पूरा नगरेको भन्दै विवाहको अनुमति नदिने बुबा-आमा पनि हुन्छन् । बुबा-आमाले आफ्ना छोरा-छोरीको जीवन उनीहरू आफैले सच्च्याउन सक्ने गरी समर्थन गरिदिनुपर्छ । यो कुरालाई जोड दिँदै उनीहरूलाई जिम्मेवार बन्न प्रोत्साहन दिनु नै उनीहरूलाई सहयोग गर्ने तरिका हो ।
पति/पत्नीले तपाईंको इच्छाअनुसार गर्दैन भन्दैमा उनलाई घृणा गर्नुहुँदैन, तर उदार-चित्तले राम्रो व्यवहार गर्नुपर्छ । पहिला थाहा नभएको त्यस्तो कुनै अप्रिय कुरा आफ्ना पति/पत्नीमा देख्नुभयो भने पनि, “त्यो समयमा म प्रेममा अन्धो थिएँ” भनेर पछुतो मान्ने वा आफैलाई दोष दिने गर्नुभन्दा उनीप्रति प्रेम र विचारशील हुन प्रयास गर्नुहोस् । तब कमी-कमजोरीभन्दा पनि सद्गुण अझ धेरै देख्न सक्नुहुनेछ ।
जो कोहीले चाहने नै आदर्श परिवार हो । भद्र बुबा, बुद्धिमान् आमा, एक-अर्कालाई प्रेम गर्ने असल स्वभावका छोरा-छोरी, मिलनसार बुहारी र विश्वासयोग्य जुवाइँ … तर संसारमा सिद्ध मानिस कोही नभएजस्तै, परिवारका सदस्यहरू सबै जना तपाईंको आँखामा सिद्ध नदेखिन सक्छन् । परिवार भनेको किनमेल गरेझैँ छान्ने कुरा होइन । परिवारचाहिँ रगत र प्रेमको सम्बन्धले गाँसिने हुँदा तपाईंले आफ्नो परिवारलाईं जस्तो छ त्यस्तै स्वीकार्न आवश्यक छ ।
आफूले प्रेम गर्ने व्यक्तिबाट प्रेम पाउनुजत्तिको खुशी कुरा अरू के हुन सक्छ र ? आफूले सबैभन्दा बढी प्रेम गर्ने र बढी प्रेम पाउन चाहनेचाहिँ आफ्नो परिवार हुनुपर्छ । यसकारण तपाईंले अत्यधिक प्रेम गर्नुहुने आफ्नो परिवारलाई तपाईंले चाहेअनुसार परिवर्तन गर्न प्रयास नगर्नुहोस्, तर उनीहरू आफ्नो साथमा भएको कुरामै धन्यवादी हुनुहोस् । कठिन यस संसारमा जिउनको निम्ति एक-अर्कालाई सहयोग गर्न पाएकोमा नै आनन्दित हुनुहोस् ।

कसैले भनेका छन्, “खुशीचाहिँ मैदानमा भएका फूलहरूलाई हेर्नु हो । तर मानिसहरू त्यो फूल टिपेर हातमा लिनु नै खुशी हो भनेर सोच्ने गर्छन् । यसैकारण उनीहरूले त्यो खुशी हातमा लिनासाथ त्यो ओइलाउन थाल्छ ।” यदि यहाँहरूले अहिले खुशी महसुस गर्नुभएको छैन भने कतै मैदानमा भएका फूलहरूलाई टिप्न पो खोज्दैछु कि भनेर आफैलाई फर्केर हेर्नुहोस् । बतासमा हल्लने फूलहरूलाई देख्न पाएकोमा धन्यवादी हुनुहोस्, अनि त्यसको सुगन्ध बाँड्न सक्ने मानिसहरू साथमा छन् भन्ने यथार्थताप्रति सन्तुष्ट हुनुहोस् । तब यहाँहरूको हृदयमा त्योभन्दा सन्दर फूल फुल्नेछ । योचाहिँ कहिल्यै नओइलाउने फूल हो, जसलाई ‘खुशी’ भनिन्छ ।