माताको तेस्रो शिक्षा

“सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।”

81,992 भ्यु

यो पृथ्वीमा पापको खोल ओढेर जिइरहेका मानिस कोही पनि पूर्ण छैन । सबैमा गुण र अवगुण हुन्छ । जतिसुकै चरित्रवान्‌जस्तो देखिने मानिस भए पनि कहीँ-कतै कमजोर पक्ष हुन्छ, र जतिसुकै कमजोर चरित्र भएको मानिस भए पनि त्यो व्यक्तिमा कहीँ-कतै राम्रो पक्ष पनि हुन्छ । यदि हाम्रो मन घृणाले भरिएको छ भने अरूको गल्तीलाई मात्र औँल्याउन पुग्छौं, तर यदि सुन्दर मनद्वारा हेऱ्यौं भने अनुग्रहात्मक र राम्रा पक्षहरू मात्र देख्नेछौं ।

हरेक परिस्थितिमा सुन्दर मन लिन कदापि सजिलो छैन, तर परमेश्वरको वचनमा भरोसा गरेर दाजुभाइ-दिदीबहिनीलाई सुन्दर मनले हेर्न प्रयत्न गऱ्यौं भने माताको शिक्षाको वचनजस्तै हामीले घृणा नभएर पूर्ण प्रेम प्राप्त गर्न सक्नुको साथै परमेश्वरलाई खुशी तुल्याउन सक्नेछौं ।

अनि हाम्रा परमेश्वरले हाम्रो आत्मालाई प्रेम गर्नुभएजस्तै उहाँले हाम्रा दाजुभाइ-दिदीबहिनीको आत्मालाई पनि उत्तिकै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले याद राख्नुपर्छ । हामीले कहिलेकहीँ हाम्रा दाजुभाइ-दिदीबहिनीको आत्मा कति अमूल्य छ भन्ने कुरालाई बिर्सेर उहाँहरूको गल्तीलाई औँल्याउँदै उहाँहरूप्रति घृणाको मन लिन पुग्छौं, तर परमेश्वरको दृष्टिकोणबाट हेर्ने हो भने वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूचाहिँ परमेश्वरले ६,००० वर्षको लामो समयदेखि धैर्यतापूर्वक पूर्ण स्वरूपमा परिवर्तन गरिरहनुभएका बहुमूल्य अस्तित्वहरू हुन् । परमेश्वरले आफ्नो प्राण अर्पण गर्नुभएर बचाउन चाहनुभएका हाम्रा दाजुभाइ-दिदीबहिनीलाई हामीले नराम्रो दृष्टिकोणले हेरेर घृणा गऱ्यौं भने परमेश्वरको मन कति दुख्छ होला ? तसर्थ हाम्रा दाजुभाइ-दिदीबहिनीमा कमजोर पक्ष भए तापनि त्यो आत्मालाई बहुमूल्य ठान्नुहुने परमेश्वरको मनलाई सोचेर हामीले पनि उहाँहरूलाई बहुमूल्य ठानेर सुन्दर मनले हेर्न सक्नुपर्छ । पापले भरिएको हाम्रो आत्मालाई सुन्दर ठान्नुभएका परमेश्वरको मनलाई सोच्ने हो भने हामीले दाजुभाइ-दिदीबहिनीलाई नराम्रो दृष्टिकोणले हेर्ने कुनै कारण नै छैन ।

समीक्षात्मक प्रश्न
माताको तेस्रो शिक्षा के हो ?
हामीले दाजुभाइ-दिदीबहिनीमा गल्ती वा कमजोरी देखे पनि सुन्दर मन लिनुपर्ने कारणबारे कुरा गरौं ।