मेरा भेडाहरूले मेरो सोर सुन्छन्

यूह १०:२२-३८

19,681 भ्यु

यहूदीहरूका चाड अर्थात् मन्दिर समर्पणको चाडमा येशू मन्दिरभित्र दलानमा टहलिरहनुभएको थियो । यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे,

“कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस् ।”

“मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ । मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन् । तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडामध्येका होइनौ । मेरा भेडाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् । पिता र म एक हौं ।”

येशूज्यूको कुरा सुनेपछि, यहूदीहरूले उहाँलाई हान्न ढुङ्गा उठाए ।

“मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ ?”

“असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।”

येशूज्यूले फेरि तिनीहरूलाई भन्नुभयो,

“यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्वास नगर । तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर, र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ, कि पिता ममा हुनुहुन्छ, र म पितामा छु ।”

यहूदीहरूले येशूज्यूको ईश्वरत्वलाई बुझेनन् । तिनीहरूले परमेश्वरलाई महिमित रूपमा स्वर्गको सिंहासनमा विराजमान हुनुपर्ने व्यक्तिको रूपमा विश्वास गरेकाले मानिसको रूपमा आउनुभएका परमेश्वरलाई कहिल्यै बुझेनन् । परमेश्वरलाई आफ्नै विचारमा सीमित राख्नु तिनीहरूको गल्ती थियो ।

हामीले आफ्नै विचार र पूर्वाग्रहद्वारा होइन तर बाइबलले गवाही दिएको परमेश्वरमा विश्वास गरेमा मात्र साँचो गोठालाको सोर सुन्न सक्छौं ।

“मेरा भेडाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् ।” यूह १०:२७