परमेश्वरको मण्डलीमा किन क्रूस छैन ?

547 हेरेको संख्या
आज कार्यक्षेत्रमा साथीसँग कुराकानी हुँदा उनलाई ठीकसँग बुझाउन नसक्दा मलाई अलि दु:ख लागेको छ ।
के कुरा ?
मेरी साथी पनि मण्डली जाने गर्छिन्, र मैले उनलाई क्रूसचाहिँ मूर्ति हो, राख्नुहुँदैन भनी बताएँ । तब उनले मलाई, “हैन क्रूस त मण्डलीको चिन्ह हो । कसरी मूर्ति हुन सक्छ र ?” भनिन् । म उनलाई विस्तृत रूपमा बुझाउन चाहन्थें, तर पदहरू राम्ररी याद आएन । क्रूस कसरी मूर्ति हो भन्ने कुरा तपाईंले मलाई पुनः एक चोटि सिकाइदिनुहुन्छ कि ?
हुन्छ नि । पहिला दश आज्ञाको बारेमा हेरौं ।

“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू …” प्रस्थान २०:४-५

के परमेश्वरले मूर्तिचाहिँ बनाउँदा पनि हुन्छ, तर त्यसको सामु निहुरने अथवा पूजा गर्ने कामचाहिँ नगर्नू भन्नुभएको छ र ?
छैन । नबनाउनू नै भन्नुभएको छ ।
हामीले परमेश्वरसँग मिल्दोजुल्दो कुनै पनि कुराको प्रतिमूर्ति बनाएको, परमेश्वरलाई मन पर्दैन । क्रूस पनि अपवादमा पर्दैन । अझ यसले त “नबनाउनू, त्यसको पूजा नगर्नू” भन्ने वचनलाई अवज्ञा गर्दछ ।
ए, मलाई एउटा कुरा याद आयो । मेरी साथीले प्रार्थना गर्दैपिच्छे उनको टेबिलमा भएको क्रूसको मालाको सामु शिर हल्का निहुराउने गर्छिन् ।
तिनीहरू क्रूसचाहिँ एउटा चिन्ह मात्र हो भन्छन्, तर त्यसैमा भर परी विशेष अर्थ थप्छन् । यी सबै कुरा पहिल्यै जान्नुभएर नै परमैश्वरले सुरुमै, कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू भन्नुभएको हो । यस्ता कार्यहरू नगरून् भनेर परमेश्वरले बारम्बार चेताउनी दिनुभएको छ ।

“तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ । अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड्याएर ती पुज्नलाई घोप्टो नपर । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।” लेवी २६:१

यहाँ पनि, मूर्ति नबनाउनू, तिनीहरूका सामु ननिहुरिनू भनेर परमेश्वरले आदेश गर्नुभएको छ नि, होइन र ? यीचाहिँ परमेश्वरको निम्ति नभएर आफ्नै निम्ति गरिने कार्य हुन् ।
त्यसोभए खोपिएको मूर्ति, प्रतिमूर्ति र खोपिएका ढुङ्गाले केलाई जनाउँछ ?
सरल नेपाली बाइबलमा अझ स्पष्टसँग लेखिएको छ : “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू ।” यसकारण पुज्नको निम्ति चाहे काठद्वारा बनाइएको होस्, अथवा ढुङ्गाद्वारा अथवा जेसुकैद्वारा बनाइएको भए पनि ती सबै मूर्ति हुन् ।
ए, भनेपछि त क्रूस पनि काठ वा धातुद्वारा बनाइने आकार हो ।
यति मात्र होइन । कुनै कुराको प्रतिमा बनाएर त्यसमा धार्मिक अर्थ लगाउनुचाहिँ ख्रीष्टियान धर्मको नभएर अन्यजातिको रीति हो ।

परमप्रभु यसो भन्नुहुन्छ : “जाति-जातिहरूका चाल नसिक … किनकि जाति-जातिहरूका रीतिथिति त व्यर्थ हुन् । उनीहरू वनमा एउटा रूख ढाल्छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्छ । उनीहरूले त्यसलाई सुन र चाँदीले सिँगार्दछन् । त्यो नहल्लिओस् भनेर उनीहरूले त्यसलाई घन र कीलाले ठोक्दछन् । खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्तै उनीहरूका मूर्तिहरू बोल्न सक्दैनन् । तिनीहरूलाई बोक्नुपर्छ, किनकि तिनीहरू हिँड्न सक्दैनन् । तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्दैनन्, न त तिनीहरूले केही असल गर्न सक्छन् ।” यर्मिया १०:२-५

मानिसको हातले बनाएको थोकचाहिँ पुतलाजस्तै हो, जुन जत्तिसुकै पत्यारिलो देखिए पनि त्यसले केही प्रभाव पार्न सक्दैन । तापनि धेरै मानिसहरू क्रूसलाई मालामा गाँसेर लगाउने गर्छन् र “क्रूसले मलाई खतरादेखि रक्षा गर्छ” भनेर सोच्दै आफ्नो गाडीमा पनि क्रूस राख्ने गर्छन् ।
कुनै कुराको प्रतिमूर्ति बनाउनुचाहिँ अन्यजातिको रीति हो भन्न खोज्नुभएको हो ? त्यसोभए येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको समयमा क्रूस थिएन ?
हजुर, थिएन । क्रूसप्रतिको सुरुको मण्डलीको धारणा बिलकुलै फरक थियो । त्यो समयमा सन्तहरूले क्रूसलाई मण्डलीको चिन्ह त परै जाओस्, उल्टै एक डरलाग्दो वस्तुको रूपमा लिने गर्थे ।

“ख्रीष्टियानहरूले क्रूसलाई मण्डलीको चिन्हको रूपमा औपचारिक रूपमा प्रयोग गर्न थालेकाचाहिँ कन्स्टेन्टाइनको पालादेखि हो । सुरुको मण्डलीका सन्तहरूका लागि क्रूसचाहिँ नाम मात्र सुन्यो भने पनि घृणा लाग्ने कुरा भएकोले यसलाई संवेदनशील तरिकाले आदर्शीकरण गर्ने सम्भावना नै थिएन” Baker’s Dictionary of Theology, पेज नं. १५२

भनेपछि त पत्रुस र पावललाई पनि क्रूस मन पर्दैनथ्यो, हो ? त्यसोभए हामीले पनि उस्तै सोचाइ लिनुपऱ्यो नि !
ठीक भन्नुभयो । सुरुको मण्डलीले दर्दनाक साधन मानेको प्रतिमालाई, वर्तमान समयमा आएर एक ईश्वरीय प्रतीक र बडो पवित्र चीज ठान्ने गरिन्छ । क्रूसलाई प्रतीकको रूपमा सजाइएको कुरालाई सोचिहेर्दा यो साँच्चै कति अफसोस लाग्ने कुरा हो !
त्यसोभए मण्डलीचाहिँ जाने, तर बाइबलका यी वचनहरूलाई बेवास्ता गर्दै लगातार क्रूसजस्तो मूर्तिलाई पुजिरह्यो भने के हुन्छ ?
मूर्तिलाई पुज्नेले कस्तो परिणाम भोग्नेछ भन्नेबारे परमेश्वरले पहिल्यै जानकारी दिनुभएको छ ।

“कारीगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस् ।” तब सबै जनाले भनून्, “आमेन ।” व्यवस्था २७:१५

परमेश्वरलाई घिन लाग्ने कार्य गर्दै, के परमेश्वरबाट आशिष् पाउने अपेक्षा गर्न सकिन्छ र ? यदि साँच्चै परमेश्वरलाई प्रेम गर्ने मानिस हो भने परमेश्वरले नगर्नू भन्नुभएको कार्य कदापि गर्नुहुँदैन ।
बल्ल मैले परमेश्वरको शिक्षा प्रष्टसँग बुझें । भोलि कार्यालयमा गएर साथीलाई जसरी पनि बुझाउनेछु ।
सायद आजको छलफलबाट सहयोग मिल्नेछ । साथीलाई राम्ररी बुझाइदिनुहुनेछ भनी आशा गर्दछु ।