सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

38,713 भ्यु

छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ ।

“फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु ।” मत्ती १८ː१९-२०

“जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुनेछु” भन्ने यो वचनचाहिँ एकलै गर्ने प्रार्थना सुनिदिनेछैनँ भन्ने वचन होइनकि, हामी एकसाथ भेला हुनु त्यति महत्त्वपूर्ण छ भन्ने अर्थ हो । प्रेरितहरूले पनि सन्तहरूलाई अक्सर भेला हुन आग्रह गर्थे ।

कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं । तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कोलाई झन् प्रोत्साहन देओ । हिब्रू १०ː२५

यसरी बाइबलको शिक्षाअनुसार सियोनमा भजन भेला, वचन अध्ययन भेला, प्रचार भेला इत्यादि विभिन्न भेलाहरू हुने गर्छ । त्यसोभए किन परमेश्वरले आफ्ना सन्तानहरूलाई भेला हुन भन्नुभएको होला ?

पहिलो, हामीलाई आशिष् दिनको निम्ति ।

निरन्तर भेला भएका सुरुको मण्डलीका सन्तहरूले परमेश्वरबाट आशिष् पाएर धेरैलाई बचाउन सकेका थिए ।

तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे । उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो । प्रे २ː४६-४७

यसको ठीक विपरीत, एकसाथ भेला नभएर आशिष् पाउन नसकेका अवस्थाहरू पनि बाइबलमा अभिलेख गरिएका छन् । येशूज्यूको पुनरुत्थानपछि, एकसाथ भेला भएका चेलाहरूमाझ येशूज्यू देखा पर्नुभयो । तर त्यस बेला १२ जना चेलाहरूमध्ये थोमाचाहिँ उक्त भेलामा उपस्थित थिएनन् । परिणामस्वरूप तिनी येशूज्यूको पुनरुत्थानलाई केही समय विश्वास नगर्ने मानिस बन्न पुगे (यूहन्ना २०ː१९-२५) । यसरी परमेश्वरबाट आशिष् पाएर विश्वासलाई जोगाइराख्नका निम्ति हामीहरू भेला हुन प्रयत्न गर्नुपर्छ ।

दोस्रो, परमेश्वरले हामीलाई शैतानको प्रलोभनलाई जित्ने गराउनुहुनेछ ।

आत्मिक युद्ध चलिरहेको यो युगमा दियाबलस शैतानचाहिँ हाम्रो आत्मालाई विनाशतर्फ लैजान गर्जने सिंहझैँ कसलाई भेट्टाऊँ र खाइहालूँ भनेर खोजिहिँड्दैछ (१ पत्र ५:८) ।

जसरी सिंहले बगालबाट छुट्टिएर भौंतारिरहेको कमजोर जनावरलाई निशाना बनाउँछ, त्यसरी नै शैतानले पनि समूहबाट छुट्टिएर भौंतारिरहेको, विश्वासमा कमजोर व्यक्तिलाई आफ्नो निशाना बनाउँछ । त्यसैले शैतानसँगको आत्मिक युद्धमा विजयी हुनको निम्ति हामीहरू एकतामा रहेर भेला हुन कोसिस गर्नुपर्छ ।

त्यसोभए परमेश्वरका प्रजाहरू भेला हुने निश्चित ठाँउ कहाँ होला ? त्यो ठाउँ नै सियोन हो । सियोन भनेको परमेश्वरका चाडहरू मनाइने ठाउँ (यशै ३३ː२०) हो, परमेश्वर वास गर्नुभएर आशिष् दिनुहुने ठाउँ हो ।

“किनभने परमप्रभुले सियोनलाई छान्नुभएको छ, उहाँले त्यसलाई आफ्नो निवासको निम्ति चाहनुभएको छ । यो सदाकालको निम्ति मेरो विश्रामस्थान हो, म यहाँ सिंहासनमा बस्नेछु, किनकि मैले यही चाहेको छु ।” भज १३२ː१३-१४

दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ । यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनको पोशाकको कठालोसम्मै बगेर जान्छ । त्यो हेर्मोन डाँडाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ । किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ । भज १३३ː१-३

त्यसैले हामीहरू सदाकाल जीवनको आशिष्‌को प्रतिज्ञा गरिएको, परमेश्वरको वासस्थान रहेको सियोनमा भेला हुन प्रयत्न गर्नुपर्छ ।

माथि अध्ययन गरेजस्तै, परमेश्वरको आशिष्‌ पाएर सुसमाचारको कार्य पूरा गर्नको निम्ति हामीहरू सियोनमा भेला हुन प्रयत्न गर्नुपर्छ । तेस्रो दिनको आराधना, शबाथ-दिन, चाडको आराधना अनि यसबाहेक सियोनमा गरिने ठूला-साना सबै भेलाहरूमा हामीलाई आशिष् दिन चाहनुहुने परमेश्वरको प्रेम समावेश छ । परमेश्वरको यस्तो इच्छालाई मनन गर्दै हामीहरू एकसाथ भेला भएर प्रेमद्वारा एकताबद्ध भई सुसमाचार पूरा गर्ने आशिष् पाउने सन्तानहरू होऔं ।

समीक्षात्मक प्रश्न
परमेश्वरको आशिष् प्राप्त गर्न हामीहरू कहाँ भेला हुनुपर्छ ?
परमेश्वरले सन्तहरूलाई एकसाथ भेला हुन प्रयत्न गर भन्नुका कारणहरू के-के हुन् ?