हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (२)

1430 हेरेको संख्या

हामीले कस्तो बोली बोलेको परमेश्वर चाहनुहुन्छ भन्नेबारे लगातार अध्ययन गर्नेछौं ।

१. धन्यवाद दिने बोली

तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन् । तर बरु धन्यवाद दिने काम होस् । किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन । एफि ५:३-४

हामीले धन्यवादको बोली बोल्नुपर्छ भनेर बाइबलमा सिकाइएको छ । पापले गर्दा मर्नुपर्ने भएको हाम्रो आत्मालाई बचाउन परमेश्वर स्वयम् यो पृथ्वीसम्म आउनुभयो । उहाँले हाम्रा सबै पापहरू क्षमा गरिदिनुभई हामीलाई बचाउनुभयो । यति मात्र होइन, उहाँले हामीलाई मृत्यु र पीडा नभएको, केवल खुशीयाली भएको स्वर्गमा डोऱ्याउँदैहुनुहुन्छ । यस्तो मुक्तिको अनुग्रहलाई सोच्दै हामीले आफ्नो दैनिक जीवनमा सधैँ धन्यवाद दिने बोली बोल्नुपर्छ ।

२. ठीक समयमा ठीकसित बोलेको बोली

उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ । हितो १५:२३

ठीकसित बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् । हितो २५:११

परमेश्वरले ठीक समयमा बोलेको वचन असल हुन्छ भन्नुभयो । यसको साथै ठीकसित बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै मूल्यवान् हुन्छ भनेर सिकाउनुहुँदै ठीकसित बोल्नुको महत्त्वलाई जोड दिनुभयो । अनुचित समयमा बोलेको बोली जतिसुकै तार्किक लागे पनि यसले अरूको भावनालाई चोट पुऱ्याउन र झगडा निम्त्याउन सक्छ । हामीहरू ठीक समयमा ठीकसित बोलेर वरपरका मानिसहरूलाई खुशी प्रदान गर्ने र परमेश्वरलाई महिमा चढाउने बुद्धिमान् सन्तानहरू होऔं ।

३. परमेश्वरलाई महिमा दिने बोली

स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक । रोम १५:५-६

हामीले सधैँ परमेश्वरलाई महिमा र प्रशंसा दिनुपर्छ । हामीले हासिल गरेका उपलब्धिहरूमध्ये आफ्नै शक्तिद्वारा हासिल गरेको कुरा एउटा पनि छैन । परमेश्वरले अनुकूल अवस्था र परिस्थिति बनाइदिनुभएर हामीलाई सहयोग गर्नुभएकोले हामीले सबै कुरा गर्न सकेका हौं । यसकारण हामीलाई सधैँ सहयोग गर्नुहुने परमेश्वरलाई हामीले धन्यवाद र महिमा दिनुपर्छ । अनि आशिष् पाउनको निम्ति पनि परमेश्वरलाई महिमा दिनुपर्छ ।

माताको शिक्षामध्ये दोस्रो शिक्षा, “परमेश्वरलाई महिमा गरेमा त्यो महिमा आफैमा फर्कन्छ” भन्ने हो । परमेश्वरलाई महिमा दिने कार्यचाहिँ हाम्रो निम्ति अपरिहार्य छ, तर परमेश्वरले त्यो महिमा फेरि हामीलाई नै फर्काइदिनेछु भन्नुभएकोले यो साँच्चै कति धन्यवादको कुरा हो ? परमेश्वरको यस्तो शिक्षालाई याद गर्दै हामीहरू परमेश्वरलाई महिमा दिने बोली बोलेर सधैँ परमेश्वरको आशिष् पाउने सन्तानहरू हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्ने कारण के हो ?
परमेश्वरले ठीक समयमा ठीकसित बोल्नू भन्नुको कारण के हो ?
माताको शिक्षामध्ये दोस्रो शिक्षा के हो ?