आराधनाको बारेमा

1651 हेरेको संख्या

आराधना भनेको मरणशील हामी मानव-जातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर हाम्रो पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने धर्मविधि हो ।

त्यसोभए हामीले आराधना कहिले गर्नुपर्छ होला ? परमेश्वरलाई आराधना गरिने दिनहरू यस प्रकार छन् :

पहिलो, शबाथ-दिनमा आराधना गर्नुपर्छ ।

शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झने दिन हो । शबाथ-दिन मानेमा हामीहरू परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको यथार्थतालाई पुनः निश्चित गर्न सक्छौं, र उहाँको उदेकको शक्तिलाई बुझ्न सक्छौं । हामीले परमेश्वरलाई पवित्र रूपले आराधना गर्दा शबाथको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं ।

यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए । आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो । र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो । अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो । उत २:१-३

बाइबलमा भनिएको शबाथ-दिन शनिबार भएकोले हामीहरू शनिबारमा शबाथ-दिनको आराधना गर्ने गर्छौं । यसको अतिरिक्त हामी तेस्रो दिनको शुद्धीकरणको आराधना मङ्गलबार साँझमा गर्ने गर्छौं ।

दोस्रो, चाडको आराधना गर्नुपर्छ ।

पुरानो करारको समयमा शबाथ-दिन र चाडको समयमा भेडा/बाख्रा जस्ता पशुलाई बलिको रूपमा चढाएर पाप-क्षमा पाउनलाई आराधना गरिन्थ्यो । पशु बलिका यी सबै विधिले भविष्यमा ख्रीष्ट हाम्रो पापको सट्टामा बलिदान हुनुभएर स्वर्गारोहण हुनुहुने कुरालाई अगमवाणीगत रूपमा देखाउँदछ । धर्मी मानिसको निम्ति मर्नु पनि सजिलो कुरा होइन, तर ख्रीष्ट हामी पापमा छँदै हाम्रो निम्ति बलिदान हुनुभयो (रोम ५:६-११) । परमेश्वरको यस्तो अपार अनुग्रह समाविष्ट आराधना नै चाडको आराधना हो । चाडको आराधनाभित्र, अयोग्य हामीहरूका निम्ति क्रूसमा रगत बगाउनुभएर देह त्याग गर्नुभएका ख्रीष्टको बलिदान र प्रेमप्रति धन्यवाद चढाउँदै आफैलाई होच्याएर परमेश्वरलाई आदर गर्ने अर्थ रहेको छ ।

यसबाहेक प्रत्येक चाडमा अगमवाणीगत अर्थ र त्यो पूरा गर्नुहुने परमेश्वरको प्रबन्ध समावेश छ । हामीले वर्षैपिच्छे मान्नुपर्ने चाडहरू निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको चाड(अगौटे फलको चाड), पेन्तिकोसको चाड(साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड हुन् (लेवी २३:१-३८) ।

परमेश्वरले आत्मा र सत्यतामा आराधना गर्नेहरूलाई खोज्नुभएर तिनीहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ । पापी हामीलाई अनन्त मृत्युको मार्गबाट फर्काउनुभएर मुक्तिको अनुग्रह प्रदान गर्नुभएका परमेश्वरको उत्कृष्ट प्रेम र अनुग्रहप्रति धन्यवाद चढाउँदै हामीले सारा हृदय, सारा प्राण र सारा समझले परमेश्वरलाई आराधना गर्नुपर्छ ।

समीक्षात्मक प्रश्न
आराधनाको अर्थ के हो ?
हामीले परमेश्वरलाई कहिले-कहिले आराधना गर्नुपर्छ ?