WATV.org is provided in English. Would you like to change to English?

आराधकको मनस्थिति र व्यवहार

42,765 भ्यु

आराधकमा परमेश्वरलाई आदर गर्ने मनस्थिति हुनुपर्छ । जस्तै, यदि हामी राजालाई भेट्न लाग्दैछौं भने त्यसको लागि पूरै तयारी गर्ने गर्छौं । त्यसोभए सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुभएका परमेश्वरलाई भेट्न हामीले झन् कति धेरै तयारी गर्नुपर्छ होला ?

सर्वप्रथम हामीले आराधनाको महत्त्व र आशिष्‌‌लाई महसुस गर्नुपर्छ, अन्य कुनै कुरालाई भन्दा आराधनालाई पहिलो प्राथमिकता दिनुपर्छ, र धन्यवादी मनले आराधनामा सहभागी हुनुपर्छ । हामी अरूको विश्वासद्वारा होइनकि आफ्नो विश्वासद्वारा आराधना गर्न जानुपर्छ । हामीमा आराधनाको तयारी गर्ने मनस्थिति भएमा मात्र हामीले परमेश्वरलाई पवित्र र अनुग्रहात्मक रूपले आराधना चढाउन सक्नेछौं ।

हामीले आराधनाको समयअघि तयारी गर्नुपर्ने कुराहरू के-के हुन्, अध्ययन गरौं ।

  • हामीहरू तोकिएको समयभन्दा अगाडि पुगेर आराधनाको तयारी गर्नुपर्छ ।
  • हाम्रो मन र शरीर परमेश्वरको सामु भक्तिपूर्ण हुनलाई हामीले उचित पोशाक लगाउनुपर्छ ।
  • हामीले बाइबल, नयाँ भजन पुस्तक, घुम्टो(स्त्री सन्त हो भने : १ कोर ११:५) इत्यादि तयारी गर्नुपर्छ ।

आराधना गर्दा हामीमा हुनुपर्ने उचित व्यवहार र मनस्थिति निम्नानुसार छ ।

  • परमेश्वरप्रति आदर र धन्यवादको मनले आराधना गर्नुपर्छ ।
  • सारा हृदय, सारा प्राण र सारा समझले गहिरो मनद्वारा आराधना गर्नुपर्छ (भज ५०:१४) ।
  • परमेश्वरलाई उच्च र पवित्र मानेर उहाँको सामु आफूलाई होच्याउने विनम्र मनले आराधना गर्नुपर्छ (मत्ती २२:३७) ।
  • पश्चात्ताप गर्दै क्षमायाचनाको मनले भक्तिपूर्वक आराधना गर्नुपर्छ ।
  • सांसारिक सोचाइलाई फालेर केवल परमेश्वरको वचनमा केन्द्रित रहेर आराधना गर्नुपर्छ ।
  • कुर्सीमा अडेस लागेर शरीर बाङ्गो पारेर होइनकि सीधा बसेर पवित्र रूपले आराधना गर्नुपर्छ ।

परमेश्वरले, मर्नुबाहेक विकल्प नभएका हामी मानव-जातिलाई अनन्त जीवन र मुक्ति दिनुभयो । यसकारण हामीले आराधनाद्वारा परमेश्वरलाई धन्यवाद, प्रशंसा र महिमा चढाउनुपर्छ । परमेश्वरले खुशी मान्नुहुने गरी पवित्र आराधना गर्नको निम्ति हामीले शरीर र मनलाई पहिल्यै भक्तिपूर्वक तयारी गरेर परमेश्वरप्रतिको आदर र कृतज्ञतासाथ आराधना गर्नुपर्छ ।

समीक्षात्मक प्रश्न
आराधना गर्नुअघि हामीले पूर्वजाँच गरेर तयारी गर्नुपर्ने कुराहरू के-के हुन् ?
आराधना गर्दाको मनस्थिति र व्यवहार कस्तो हुनुपर्छ ?