WATV.org is provided in English. Would you like to change to English?

आराधनाको क्रम

63,376 भ्यु

कुनै पनि धर्मविधिको क्रम हुन्छ । हामीले परमेश्वरलाई चढाउने आराधनाको पनि क्रम छ । स्थानीय मण्डलीको विशेष अवस्थाअनुसार आराधनाको क्रम थोरै फरक हुन सक्छ । सामान्यतया आराधनाको क्रम निम्नानुसार हुन्छ :

१) मौन प्रार्थना

आँखा बन्द गरेर भक्तिपूर्ण मनले परमेश्वरलाई मौन प्रार्थना गरिन्छ (भज १४३:५) ।

२) महिमा स्तुति

योचाहिँ परमेश्वरको अनुग्रहप्रति धन्यवाद र महिमा चढाउनलाई गाइने भजन हो (प्रका ५:१३) । यो क्षणमा सन्तहरूले उभिएर परमेश्वरको स्तुति गर्छन् ।

३) प्रार्थना

परमेश्वरलाई धन्यवाद र महिमा चढाउँदै, पाप स्वीकार गर्दै, चाहेको कुरा व्यक्त गर्दै प्रार्थना गरिन्छ । यो प्रार्थनाचाहिँ प्राय: प्रवचकले नै गर्दा उचित हुन्छ (यो क्षणमा पनि उभिएर प्रार्थना गरिन्छ) । प्रार्थनापछि यथास्थानमा बसिन्छ ।

४) स्तुति

शबाथको आराधनामा शबाथको विषय, चाडको आराधनामा चाडको विषय र अन्य विशेष आराधनामा चाहिँ त्यो आराधनाको विशेषताअनुसार विषयसँग मिल्ने भजन स्तुतिद्वारा परमेश्वरलाई महिमा चढाइन्छ ।

५) प्रार्थना

योचाहिँ परमेश्वरलाई धन्यवाद, महिमा र बिन्ती चढाउँदै प्रवचकमाथि अनुग्रह झारिदिनुभएर राम्रो प्रवचनद्वारा सन्तहरूलाई समयसापेक्ष आत्मिक भोजन खुवाउन सकून्, र सबै सन्तहरूले अनुग्रह एवम् आशिष् पाउने समय बन्न सकोस् भनेर सहायक प्रार्थना चढाउने समय हो ।

६) विशेष गायन

गायन टोलीले विशेष भजनद्वारा परमेश्वरलाई उच्च आदर चढाउँदा आराधना अझ अनुग्रहात्मक हुन्छ । तर अवस्था नमिलेको खण्डमा यो क्रमलाई छोड्न पनि सकिन्छ ।

७) प्रवचन

योचाहिँ परमेश्वरको वचन अनुग्रहात्मक रूपमा सुनाउने र महसुस गर्ने समय हो । शारीरिक भोजन खाएन भने हाम्रो शरीरलाई भोक लागेजस्तै, हाम्रो आत्माले पनि आत्मिक भोजन अर्थात् परमेश्वरको वचनको भोजन खाएन भने हाम्रो आत्मा कमजोर भएर बिरामी हुन्छ । त्यसैले प्रवचनको समय साँच्चै महत्त्वपूर्ण छ ।

८) भेटी अर्पण र स्तुति

यो समयमा भेटी अर्पण गर्दै, त्यो भेटीमा आशिष् दिनुहुने अनुग्रहात्मक प्रतिज्ञालाई भजनद्वारा स्तुति गर्दा उत्तम हुन्छ ।

९) भेटी अर्पणको प्रार्थना

मण्डलीको अवस्थाअनुसार उद्घोषक, एल्डर, मिसनरी, सिनियर डिकनेसमध्ये कसैले भेटी अर्पणको प्रार्थना गर्ने, अनि प्रार्थना गर्दा अर्पण गरिएका भेटीको निम्ति आशिष् माग्दै धन्यवाद चढाउनुपर्छ ।

१०) सूचना

यो समयमा मण्डली र सन्तहरूसम्बन्धी शुभ खबर सुनाइन्छ । अनि थाहा पाउनुपर्ने सूचना पनि जानकारी गराइन्छ । हामी सबै जना एउटै शरीरका अङ्गहरू हौं भन्ने कुरालाई पुनर्स्मरण गर्दै, आपसमा दु:ख-सुख बाँड्दै सन्तहरू प्रेममा अझ बाँधिनुपर्छ ।

११) हाम्रो इच्छाको प्रार्थना

सबै सन्तहरूले सँगै प्रार्थना गर्छन् ।

१२) मौन प्रार्थना

योचाहिँ सन्तहरूले शान्त रूपमा आराधनाको निम्ति धन्यवाद चढाउने र परमेश्वरको अनुग्रह एवम् आशिष् सदा साथमा रहोस् भन्ने मनद्वारा परमेश्वरसमक्ष बिन्ती गर्ने समय हो ।

१३) समापनको घोषणा

उद्घोषकले अर्को आराधनाको समय जानकारी दिएर अर्को आराधनामा फेरि भेट्ने आशाका साथ समाप्तिको घोषणा गर्छन् ।

※ साप्ताहिक आराधना र चाडको आराधना एकै दिनमा परेको खण्डमा चाडको धर्मविधिलाई समेटेर आराधना गरिन्छ ।

पवित्र र भक्तिपूर्ण रूपले आराधना गरेर परमेश्वरबाट प्रशस्त आशिष् पाउने हामीहरू हुन सकौं ।

समीक्षात्मक प्रश्न
आराधना सञ्चालनका क्रमहरू के-के हुन् ?