हजुरआमाको हृदयलाई बुझिदिने भतिजी

इ सुन ओग / छाङवन, कोरिया

627 हेरेको संख्या

एकदमै सुन्दर मन भएकी मेरी एक जना भतिजी छिन् । उनले आफ्नी हजुरआमाको साँच्चै राम्रो हेरचाह गर्छिन् । उनले हजुरआमालाई मन पर्ने खाजा, सखरखण्ड, आलु र सुन्तलाहरू समय-समयमा पठाउने गर्छिन्, अनि केही स्वादिष्ट खानेकुरा खानुहोस् भन्दै वर्षमा तीन पटक केही खर्च पठाउने गर्छिन् ।

यस्तो मन भएकी भतिजीको निम्ति गत वर्ष निकै कष्टप्रद समय बन्यो । विवाह गरेपछिको लामो समयसम्म पनि उनी निःसन्तान भएकीले निकै चिन्तित थिइन् । उनी गर्भवती भइन्, तर बच्चा जन्माउनुअघि नै उनको गर्भ तुहियो । त्यो खबर सुन्नेबित्तिकै म भतिजीलाई राखेको अस्पतालमा गएँ, शोक गर्ने समय पनि थिएन । ९ महिनासम्म कोखमा हुर्काउँदै बच्चालाई स्वस्थ अवस्थामा हेर्ने दिनको प्रतीक्षा गरिरहेकी थिएँ भनेर भावविह्वल हुँदै उनले भनिन् ।

“काकी । मैले मेरी छोरीको अनुहार एक पटक नि नदेखेको भए पनि उसको धेरै याद आइरहेको छ । हजुरआमाले मेरी आमालाई झन् कति धेरै याद गरिरहनुभएको होला ?”

मेरी भतिजीकी आमा मेरी कान्छी बहिनी हो । वास्तवमा म र मेरी आमा लामो समयदेखि मेरी बहिनीको सम्पर्कमा थिएनौं । किनभने केही असमझदारीका कारण उनी हामीबाट टाढिएकी थिइन् । भतिजीले आफ्नी आमा अस्पतालमा भेट्न आउँदा उहाँलाई हजुरआमा र मलाई भेट्नको लागि मनाउनेछु भनेर भनिन् ।

उनको त्यो विचारशीलताका कारण मेरी आमा र मैले मेरी बहिनीलाई भेट्न सक्यौं । बहिनीलाई कस्तो लाग्ने हो भन्ने थाहा नभएर हामी अलि सतर्क भइरहेका थियौं, तर उनको मुहार मात्र देख्न पाउँदा पनि खुशी लाग्यो । उनको हृदय पूर्ण रूपमा खोलिने दिन चाँडै आउनेछ भनी आशा गर्दछु ।

केही समयपछि मेरी भतिजीले जम्ल्याहा छोरीहरू जन्माइन् । कठिन परिस्थितिलाई जितेकी मेरी भतिजीप्रति म गर्व गर्छु । त्यस्तो कठिनाइमा पनि आफ्नी हजुरआमाको हृदयलाई राम्ररी बुझिदिने मेरी भतिजीप्रति म कृतज्ञ छु । स्वस्थ रूपमा जन्मेका नानीहरूसँग उनी सधैँ खुशी रहून् भनी कामना गर्दछु । मेरी सुन्दर भतिजी, माया गर्छु । मलाई तिमीप्रति गर्व छ ।