प्रेमबाट सुरु हुने सन्तानोचित कर्तव्य

वृद्ध बुबा-आमाको रेखदेख गर्नुचाहिँ अहिले सामाजिक समस्याको विषय बनेको छ । तर समय जतिसुकै बद्लिए पनि सन्तानोचित कर्तव्यचाहिँ हामीले निभाउनैपर्ने नैतिक कानून हो ।

725 हेरेको संख्या

बुबा-आमाप्रति सन्तानोचित कर्तव्य निभाउनुपर्छ भन्ने कुरा साना बालबालिकाहरूलाई पनि थाहा छ । तर बालबालिकाहरूलाई यसबारे शिक्षा दिने स्थानमा रहेका वयस्कहरूलाई पनि सन्तानोचित कर्तव्य शत प्रतिशत निभाउन भने गाह्रै पर्छ । भनिन्छ, आफ्नो सन्तान जन्मिएपछि बल्ल बुबा-आमाले मेरो लागि कति परिश्रम गर्नुभयो, मलाई कति प्रेम गर्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ, तर कुनै कुरालाई बुझ्नु र त्यसलाई व्यवहारमा उतार्नुबीच ठूलो भिन्नता हुन्छ । प्रायः मानिसहरूले बुबा-आमाको हेरचाहभन्दा आफ्नै बालबच्चाको रेखदेख गर्नुपर्ने अथवा आफू काममा व्यस्त भएको, बसाइँ टाढा भएको वा आफ्ना अन्य दाजुभाइहरूले बुबा-आमाको राम्ररी हेरचाह गरिहाल्छन् भन्ने निहुँमा आफू सन्तानोचित कर्तव्यबाट पञ्छिन खोज्छन् ।

तर बुबा-आमाको लागि आफ्नो सन्तान नै सर्वस्व हुन्छ । बुबा-आमाको प्रेम निशर्त हुन्छ । बुबा-आमाले आफ्ना सन्तानहरूबाट केही लिन चाहनुहुन्न उल्टै आफ्ना सन्तानहरूलाई धेरै दिन चाहनुहुन्छ, अनि अझ बढी दिन नसकेकोमा उहाँहरू क्षमाप्रार्थी बन्नुहुन्छ । तर बुबा-आमाको त्यस्तो प्रेमलाई पनि लत्याएर बुबा-आमाकै विरुद्ध दुष्ट अपराधहरू गरिएका खबरहरू प्रायः सुन्नमा आउँछ । यसकारण मानिसहरूले “बरु देखावटी नै भए पनि सन्तानोचित कर्तव्य निभाउनु बेस” भनेर भन्नु कुनै अनौठो कुरा होइन ।

कङ्गारुजस्ता मानिसहरूको सङ्ख्या बढ्दैछ, तर बुबा-आमालाई समर्थन गर्नेहरूको सङ्ख्या घट्दैछ

जन्मेर ८ महिनाको नहोउञ्जेल कङ्गारुहरू आफ्नी आमाको पेटको थैलोमा हुर्कन्छन् । अन्य जनावरहरूको तुलनामा कङ्गारुचाहिँ लामो समयसम्म आफ्नो आमामा भर पर्ने जनावर हो । त्योजस्तै, वयस्क नै भए पनि परिवारसित पाकेट खर्च माग्ने अथवा स्वतन्त्र रूपले जिउने उमेर नाघिसक्दा पनि आर्थिक रूपमा बुबा-आमामा निर्भर हुने ‘कङ्गारु’जस्ता मानिसहरू पनि छन् । यस्तो परिवारका बुबा-आमा वास्तवमा आफूहरूचाहिँ सन्तानको सहारामा आरामदायी जीवन जिउनुपर्ने उमेरमा पुगेर पनि उल्टै अझैसम्म आफ्नो सन्तानको हेरचाह गर्दै उनीहरूलाई सहारा दिँदै जिइरहनुभएको छ । उच्च माध्यमिक तह स्नातक गरेपछि छोरा-छोरीहरू बुबा-आमाबाट छुट्टिएर स्वतन्त्र रूपमा जिउने कोरिया, जापान, चीन र संयुक्त राज्य अमेरिकामा समेत यस्ता मानिसहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।

तर यसको ठीक विपरीत, वृद्ध भएका आफ्ना बुबा-आमालाई समर्थन गर्ने सन्तानहरूको सङ्ख्या भने घट्दो छ । सन् २०१३मा ‘जब कोरिया(Job Korea)’ नाम गरेको कुनै कम्पनीले २०~३० वर्षका ४६१ जना जागिरे कर्मचारीहरूमा ‘बुबा-आमालाई सहारा दिने योजना’बारे सर्वेक्षण गर्दा ३३.२%ले, पछि गएर आर्थिक रूपमा बुबा-आमालाई समर्थन गर्ने त्यस्तो कुनै योजना नभएको कुरा बताए । त्यसको पहिलो कारणचाहिँ ‘आफ्नो परिवार र बालबच्चालाई रेखदेख गर्न सकिने पर्याप्त पैसा आफूसँग नभएकोले,’ दोस्रो कारणचाहिँ ‘बुबा-आमाले आफ्ना लागि पहिल्यै पैसा बचत गरेर राख्नुभएकोले’ र अन्य कारणहरूचाहिँ ‘बुबा-आमा र सन्तानबीच आर्थिक मामिलालाई मिसाउन नमिल्ने भएकोले’ र ‘अवकाश पाएपछि आफैले पनि बाँकी जीवनको बारेमा सोच्नुपर्ने भएकोले’ हो भनेर खुलाइएको थियो ।

कोरिया विकास संस्थाको रिपोर्टअनुसार सन् १९९८मा ८९.९% कोरियालीहरूले आफ्ना वृद्ध बुबा-आमाको रेखदेख गर्नुपर्छ भनेर सोच्ने गर्थे, तर सन् २०१४मा त्यसको दर घटेर ३१.७%मा झऱ्यो । अनि यसको ठीक विपरीत सन् १९९८मा वृद्ध बुबा-आमाले आफ्नो जिम्मा आफैले लिनुपर्छ भनेर सोच्ने कोरियालीहरू ८.१% थिए, र सन् २०१४मा आएर यसको दर १६.६%मा वृद्धि भयो । अन्ततः समाजले नै उनीहरूका बुबा-आमालाई सहारा दिनुपर्छ भन्ने कुरामा अधिकांश मानिसहरू सहमत भए ।

हामीहरू ‘१०० वर्षको आयु भएको युग’मा जिइरहेका छौं । भनिन्छ, ५० वर्षको उमेरदेखि बल्ल मानिसको जीवनको सुरुवात हुन्छ । तर बुढेस्कालमा वृद्ध बुबा-आमाहरू आफ्ना सन्तानहरूमाथि भर पर्न सक्दैनन् । सन्तानले “पछि म तपाईंहरूलाई सेवा गर्नेछु” भनेर गरेको प्रतिज्ञामा विश्वास गर्दै आफ्नो श्रीसम्पत्ति सन्तानको नाम गरिदिने बुबा-आमा पनि हुन्छन्, तर त्यो प्रतिज्ञा पूरा नगर्ने र बुबा-आमालाई एक चोटि पनि आफ्नो मुख नदेखाउने त्यस्ता सन्तानहरू पनि हुन्छन् । अझ पैतृक सम्पत्तिको मामिलाले गर्दा कतिपय दाजुभाइहरू आपसमा झगडा गर्ने गर्छन् । यसो हुँदा अधिकांश वृद्ध बुबा-आमाहरू सन्तानको लागि बोझ बन्नुभन्दा त बरु एकलै बस्नु बेस भन्दै एकलै बस्न रुचाउँछन्, र मर्ने बेलासम्म ती बुबा-आमा एकलै हुन्छन् ।

सन्तानोचित कर्तव्य निभाउन पहाडै उचाल्नुपर्दैन

“सन्तान धेरै भएकी आमाको दिन कहिल्यै शान्तिमय हुँदैन” भन्ने भनाइजस्तै सन्तान धेरै भएका बुबा-आमाको चिन्ता कहिल्यै कम हुँदैन । त्यसो भन्दैमा एक जना मात्र सन्तान हुने बुबा-आमालाई चाहिँ कुनै चिन्ता हुँदैन भन्न खोजेको चाहिँ होइन । सन्तानप्रतिको बुबा-आमाको चिन्ताचाहिँ सन्तान गर्भमा छँदादेखि नै सुरु हुन्छ । भ्रूण गर्भभित्र स्वस्थ रूपमा हुर्किरहेको छ/छैन ? सन्तान जन्मिएपछि कतै उसलाई कुनै कुराले असजिलो भइरहेको पो छ कि ? विद्यालय जान थालेपछि साथीहरूसँग मिलेर बस्छन्/बस्दैनन् ? शिक्षकको कुरा मान्छन्/मान्दैनन् ? किशोरावस्थामा पुगेपछि कतै खराब साथीहरूको सङ्गत गर्ने पो हुन् कि ? विद्यालयबाट स्नातक गरिसकेपछि राम्रो जागीर पाउलान्/नपाउलान् ? विवाह गर्ने उमेर भएपछि असल जीवनसाथी भेट्ने हो/होइन ? विवाह भइसकेपछि कतै वैवाहिक जीवनमा कुनै समस्या भइरहेको छ कि ? … यसरी लगातार आफ्नो सन्तानको चिन्ता गर्नुहुने बुबा-आमालाई वृद्धावस्थामा पुग्दासम्म पनि, पोखरीमा बस्ने शंखेकीराले बच्चाहरूलाई आफ्नो पूरै शरीर दिएर अन्ततः खपटा मात्र बाँकी भएजस्तै कतै सन्तानहरूले पनि आफूलाई त्यागेर पो जाने हुन् कि भन्ने चिन्ताले पिरोलिरहन्छ ।

प्रायः बुबा-आमाले सन्तानसँग झूट बोल्ने गर्नुहुन्छ । “व्यस्त छौ भने नआए पनि हुन्छ” अथवा “यहाँ सबै ठीकै छ, मेरो चिन्ता गर्नुपर्दैन” अथवा “मलाई केही पनि चाहिँदैनँ ।” बुबा-आमाले आफूलाई सन्तानको कति धेरै याद आउँछ, शरीर कति गलिरहेको छ, र कति कठिनाइ खेप्नुपरेको छ इत्यादि कुराहरू सबै लुकाउनुहुन्छ । तर सन्तानहरूले भने बुबा-आमाको प्रष्ट झूटलाई पनि सजिलै विश्वास गर्न पुग्छन् । वास्तवमा बुबा-आमाले भन्न चाहने कुराचाहिँ “तिम्रो धेरै याद आउँछ, एक चोटि भेट्न आए हुन्थ्यो,” “शरीर पूरै कटकटी खाने भएकोले मन रुन्छ,” र “मसित पर्याप्त पैसा नभएकोले खर्च गर्दा ध्यान पुऱ्याउनुपर्छ” इत्यादि हुन् । तर यो यथार्थतालाई नबुझेर सन्तानहरूले आफू राम्ररी जिइरहेको छु भनेर बुबा-आमालाई आफ्नो सफल जीवन देखाउनु नै सन्तानोचित कर्तव्य पूरा गर्नु हो भनेर गलत तरिकाले बुझ्न पुग्छन् ।

यसो सोच्दा सन्तानोचित कर्तव्य ठूलै कुरा हो जस्तो लाग्छ । तर वास्तवमा यो कुनै गाह्रो काम होइन । सम्भव भएसम्म बुबा-आमालाई फोन गरेर माया गर्छु भन्ने, कुनै एक दिन उहाँहरूलाई भेट्न गएर एक रात भए पनि सँगै बस्ने, खस्रो भएका बुबा-आमाका हातहरू समाइदिने जस्ता कार्यहरूद्वारा सन्तानोचित कर्तव्यलाई व्यवहारमा लागू गर्न सकिन्छ, जुनचाहिँ एकदमै सजिलो कार्य हो । उमेर ढल्किँदैजाँदा मानिसलाई आफू एकलो र निरर्थक लाग्ने अवस्था हुन्छ । वृद्ध बुबा-आमालाई खालि आराम गर्नुहोस् भनेर भन्नुभन्दा बरु उहाँहरूको उमेरसँग मिल्ने घरायसी काम गर्न सुझाउँदै उहाँहरूलाई त्यसैमा रमाउने गराउनु अझ उत्तम हो । कसै-कसैले “मेरो बुबा-आमाले मेरो काममा चासो नदिएकै राम्रो, जे पनि खोजीनिती गर्नुहुन्छ” भन्ने गर्छन् । वास्तवमा त्यो गलत सोचाइ हो । कहिलेकहीँ आफ्ना बुबा-आमालाई केही काम अनुरोध गरिहेर्नुहोस् । आफ्नो लागि केही बनाइदिन अथवा आफूले बनाएको भोजन मीठो छ/छैन भनेर चाख्न अनुरोध गर्ने वा पारिवारिक मामिलामा उहाँहरूको सरसल्लाह लिने गर्नुपर्छ । उहाँहरूलाई, मैले अझै पनि मेरो परिवारको लागि केही गर्न सक्छु भन्ने किसिमको महसुस दिलाउनुपर्छ ।

सन्तानोचित कर्तव्य प्रेममा आधारित हुनुपर्छ

उस्तै कार्य भए पनि त्यो सन्तानोचित प्रेममा आधारित छ कि छैन भन्ने कुराको आधारमा त्यो कार्य सन्तानोचित कार्य हो वा होइन भनेर ठम्याउन सकिन्छ । यदि तपाईंमा सन्तानोचित प्रेम छैन, तर आफ्ना बुबा-आमालाई खुवाउनु मात्र पनि सन्तानोचित कर्तव्य पूरा गर्ने एक तरिका हो भनेर तपाईं सोच्नुहुन्छ भने गाईबस्तु पाल्नु र बुबा-आमा पाल्नुबीच के भिन्नता रह्यो र ?

पाँचौँ शताब्दी ई.पू.तिरको समयका एक जना प्रभावशाली चीनियाँ दार्शनिक जेङजीले यसो भनेका छन्, “छोराले आफ्ना वृद्ध बुबा-आमाको हेरचाह गर्दा उसले उहाँहरूको इच्छाविरुद्ध नगई उहाँहरूको हृदय, आँखा र कानलाई प्रसन्न तुल्याउनुपर्छ, सुत्दा पनि सहज महसुस गराउनुपर्छ, र तनमनले तयारी गरेको भोजनले सत्कार गर्नुपर्छ । यसको लागि चाहिँ, बुबा-आमाले प्रेम गर्नुहुने कुरालाई ऊ आफूले पनि प्रेम गर्नुपर्छ, अनि उहाँहरूले आदर गर्नुहुने कुरालाई पनि आदर गर्नुपर्छ ।” अनि झुआङ झोउ नाम गरेका अर्का एक प्राचीन चीनियाँ दार्शनिकले भनेका छन्, “आदरपूर्वक सन्तानोचित कर्तव्य निभाउन सजिलो छ, तर प्रेमपूर्वक सन्तानोचित कर्तव्य निभाउन भने गाह्रो छ ।” बुबा-आमाप्रतिको सन्तानोचित कर्तव्यको केन्द्र नै प्रेम हो । बुबा-आमालाई प्रेम गऱ्यो भने उहाँहरूप्रति रुचि जाग्छ, उहाँहरूप्रति रुचि जागेपछि उहाँहरूलाई के चाहिन्छ, उहाँहरूलाई कसरी सन्तुष्ट तुल्याउन सकिन्छ भन्ने कुरा थाहा हुन्छ । सन्तानले बुबा-आमालाई जतिसुकै प्रेम गरे पनि सन्तानको प्रेमचाहिँ बुबा-आमाले सन्तानलाई गरेको प्रेमको एक छेउ पनि पुग्दैन । यसकारण सन्तानले आफ्ना बुबा-आमालाई तनमनले प्रेम गर्नुपर्छ ।

भनिन्छ, “बुबा-आमाले संसार छोडेर जानुभएपछि पछुतो गरेर केही फाइदा छैन । उहाँहरू जीवित छँदा नै उहाँहरूप्रतिको सन्तानोचित कर्तव्य निभाउनुपर्छ । तब स्वर्गले पनि आशिष् दिनेछ, र तपाईंका छोरा-छोरीहरूले पनि तपाईंप्रतिको सन्तानोचित कर्तव्य निभाउनेछन् ।” बुबा-आमा जीवित हुनुहुँदा नै उहाँहरूप्रतिको सन्तानोचित कर्तव्य निभाउनुपर्छ भन्ने कुरा मानिसहरूलाई थाहा त छ, तर प्रायःले बुबा-आमा बित्नुभएपछि मात्र यो कुरा महसुस गर्छन् । भनिन्छ नि, कर्तव्यहीन छोरा पनि बुबा-आमा बित्नुभएपछि कर्तव्यनिष्ठ बन्छ ।

आफ्नो हात र खुट्टा खिइनेसम्म परिश्रम गर्दै हाम्रो हेरचाह गर्न चाहने मानिस को हुन्छ होला र ? त्यो प्रेमविना हामीहरू कसरी हुर्कन सक्नेथियौं र ? धेरै ढीलो हुनुअगावै त्यो प्रेमलाई तिर्ने समय अहिले नै हो ।