माताको चौथो शिक्षा
“अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ-दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउनेछौं ।”
अब्राहामले परमेश्वरको बोलावट पाएर आफ्ना भतिजा लोतसँगै कनानको भूमिमा जाँदाखेरिको कुरा हो । जब तिनीहरूको बगाल र परिवारको सङ्ख्या बढ्दैगयो तब त्यो भूमि तिनीहरू दुवैका लागि साँघुरो भयो, अनि तिनीहरूका बगालका गोठालाहरूबीच झगडासमेत हुन थाल्यो । तब बगालका गोठालाहरू आपसमा झगडा नगरून् भनेर अब्राहामले भतिजा लोतलाई अलग्ग बाटो लाग्न सुझाव दिए । हुन त अब्राहामले पहिला रोजेर राम्रो भूमि आफूले लिन पनि सक्थे, तर तिनले लोतलाई पहिला भूमि रोज्न दिएर आफूले चाहिँ लोतले नरोजेको भूमि लिए ।
अब्राहाम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो । त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे । यसैकारण अब्राहामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचम झगडा नहोस्, किनकि हामी त नातेदार हौं । सारा देश तिम्रै अगि छ । तिमी मबाट अलग होऊ । तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु ।” उत्पत्ति १३ː७-९
यसरी लोतका निम्ति असल चीज त्याग गरेका अब्राहामलाई परमेश्वरले, तिनका आँखाले भ्याएसम्मको जमिन तिनी र तिनका सन्ततिहरूलाई दिनेछु भन्नुभयो, र तिनका सन्तानहरू आकाशका ताराहरूजत्तिकै असङ्ख्य बढाइदिने ठूलो आशिष्समेत प्रतिज्ञा गर्नुभयो । अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गरेकाले परमेश्वरले तिनलाई अझ उत्तम कुराको आशिष् दिनुभयो ।
योजस्तै, हामीले पनि दाजुभाइ, दिदीबहिनीका लागि असल चीज त्याग गऱ्यौं भने परमेश्वरले अझ उत्तम कुराको आशिष् दिनेछु भन्नुभएको छ । परमेश्वरको यस्तो शिक्षालाई याद गर्दै, हामीहरू दाजुभाइ, दिदीबहिनीका लागि असल चीज त्याग गरेर अब्राहामजस्तै परमेश्वरबाट अझ धेरै आशिष् पाउने परमेश्वरका सन्तानहरू हुनुपर्छ ।
- समीक्षात्मक प्रश्न
- माताको चौथो शिक्षा के हो ?
- अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गरेर भतिजाले चाहेअनुसारको भूमि पहिला रोज्न दिँदा परमेश्वरले अब्राहामलाई त्यसको बदलामा कस्तो आशिष् दिनुभयो ?