शुद्ध सुनभन्दा अझ अमूल्य आत्मा खोज्न
स्टेफी एक्वीलाइन एडल्बर्ट / कोता किनाबालु, मलेसिया
परमेश्वरको अनुग्रहद्वारा हाम्रो कोता किनाबालु सियोनलाई सन् २०१७को पहिलो अल्पकालीन मिसनको आशिष् मिल्यो । पहिलो यात्रा फेब्रुअरीमा पापारान्डमा र दोस्रो यात्रा मार्चमा टुवारानमा थियो । पापारान्डचाहिँ साबामा रहेको एउटा जिल्ला हो । पापारान्ड मेरो गृहनगर पनि भएकोले केही वर्षअघि सत्यता प्राप्त गरेको समयदेखि नै त्यो ठाउँमा प्रचार गर्न जाने मेरो ठूलो धोको थियो । “राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ” (मत्ती २४:१४) भनिएको बाइबलको अगमवाणी पूरा भइरहेको यस वर्तमान समयमा, अल्पकालीन मिसनमा आफू छनोटमा परेको यो कुरा नै मेरो निम्ति सबैभन्दा ठूलो प्रेरणा थियो ।
“यहाँहरू जाने ठाँवैपिच्छे सियोन स्थापना हुनेछ ।”
स्वर्गीय माताको वचनद्वारा हामीले ठूलो जोश प्राप्त गऱ्यौं, अनि हामीहरू पवित्र आत्माको शक्तिले भरियौं । सन्तानहरूले माताको वचनलाई मनमा खोपेर एकतामा रही अमूल्य आत्माहरूको खोजी गर्नुभयो ।
हराएका भाइ-बहिनी खोज्नु सजिलो कार्य थिएन । यो पृथ्वीमा आउनुभएका एलोहिम परमेश्वरले आफ्नो सारा जीवन सन्तान खोज्ने कार्यमा लगाउनुभयो, कति गाह्रो भयो होला ! हृदय कति दुख्यो होला ! साँच्चै यस पटकको अल्पकालीन मिसनको अवधिमा पिता-माताले हिँड्नुभएको कष्टको बाटोलाई थोरै भए पनि महसुस गर्न पाउनु मेरो निम्ति ठूलो आशिष् थियो ।
शारीरिक र आत्मिक रूपमा स्वस्थ सुन्दर फल खोज्ने हाम्रो लक्ष्य पूरा भयो । तीमध्येका एक नै ब्रदर पलिनस हुनुहुन्छ । सुरुमा वचन सुनेर विनाहिचकिचाहट नयाँ जीवनको प्रतिज्ञा प्राप्त गर्नुभएका ब्रदरले बाइबल सधैँ बोक्नुहुन्थ्यो, र समय हुनासाथ पढ्ने गर्नुहुन्थ्यो । उहाँ साँच्चै पवित्र आत्मा र दुलहीको बोलावटलाई पर्खिरहनुभएझैँ देखिनुहुन्थ्यो । उहाँले तेस्रो दिनमा सत्यता ग्रहण गर्नुभयो । उहाँले आराधना गर्दै नयाँ भजन पनि सारा मनले स्तुति गर्नुभयो । आराधनापछि पनि सत्यताको वचन अध्ययन गर्ने क्रममा उहाँले पिता आन साङ होङज्यू नै यस युगका साँचो मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा महसुस गर्नुभयो । त्यस बेला उहाँलाई देखेर, बाइबलमा किन एक आत्मालाई सुन वा चाँदीभन्दा अझ अमूल्य भनिएको रहेछ भन्ने कुरा मैले राम्ररी बुझ्न सकें ।
अल्पकालीन मिसनको अन्तिम दिनमा अर्को एक जना सुन्दर फल फल्यो । उहाँ नै ब्रदर जुली हुनुहुन्छ । हामीले उहाँलाई, स्वर्गीय माताको बारेमा कहिल्यै सुन्नुभएको छ ? भनेर सोध्दा, उहाँले “ओहो ! बाइबलमा उल्लेखित दुलहीको बारेमा हो ?” भनेर उल्टै हामीलाई सोध्नुभयो । वास्तवमा ब्रदरले आफ्नी दिदीबाट पहिल्यै यसबारे सुनिसक्नुभएको रहेछ, र त्यसपछि धेरै लामो समयसम्म त्यो कुरा बिर्सन सक्नुभएनछ । वचन अध्ययन गर्नासाथ उहाँ तुरुन्तै मुक्तिको चिन्ह प्राप्त गरी स्वर्गीय परिवारको सदस्य बन्नुभयो । त्यो साँच्चै हृदयस्पर्शी क्षण थियो ।
स्वर्गीय पिता-माताले हाम्रो लागि सुन्दर फल पहिल्यै तयार गरिदिनुभएको थियो । ती आत्माहरूलाई खोज्ने कार्यमा हामीले कतिको प्रयत्न गऱ्यौं भन्ने कुराचाहिँ महत्त्वपूर्ण छ ।
यदि हामीले हराएका सन्तान खोज्ने कार्य माताको मनद्वारा कोसिस गऱ्यौं भने शुद्ध सुनभन्दा अमूल्य आत्माहरू निश्चय नै भेट्टाउनेछौं । अनि “यदि म गइनँ भने उनीहरूलाई कसले प्रचार गर्ने ?” भन्नुहुँदै वचन प्रचार गर्नलाई भिरालो पहाड उक्लनुभएका स्वर्गीय पितालाई याद गऱ्यौं भने हामीले सुसमाचार प्रचारको कार्यमा कदापि हरेस खानेछैनौं । हामीलाई यस्तो महसुस प्राप्त भएकोले ४ दिने अल्पकालीन प्रचार मिसन साँच्चै हर्ष र धन्यवादले भरिपूर्ण बन्न सक्यो ।