हामीहरू दैनिक जसो विपत्ति र दुर्घटनाका खबरहरू सुनिरहेका हुन्छौं । विभिन्न किसिमका विपत्तिहरूमध्ये सबैभन्दा ठूलो विपत्ति के होला ? हामीलाई कुनै भयानक विपत्तिबाट बचाउन परमेश्वरले निस्तार-चाड भन्ने औषधी बनाउनुभयो । त्यसोभए त्यो भयानक विपत्ति के होला ?
मानिस मरेपछि, उसलाई यो संसारको कुनै पनि विपत्तिले केही असर गर्न सक्दैन । तर बाइबलमा हेर्ने हो भने सदासर्वदा भोगिने त्यस्तो विपत्ति पनि छ । त्यस्तो विपत्तिको चरम पीडाबाट छुटकारा पाउन अथवा मर्न खोजे तापनि त्यो असम्भव छ । हामीलाई यस्तो भयानक विपत्तिबाट बचाउन चाहनुभएर नै परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाड दिनुभएको हो ।
अप्रत्याशित दुर्घटना र प्राकृतिक प्रकोपले ग्रस्त मानिसहरू संसारमा धेरै छन् । अनि रोग र आर्थिक सङ्कटको मारमा परेका मानिसहरू पनि धेरै छन् । यो संसारमा विपत्तिले प्रभावित नभएको मानिस कोही पनि छैन ।
परमेश्वरले निस्तार-चाड स्थापना गरिदिनुको मुख्य उद्देश्यचाहिँ सदासर्वदा यातना भोगिने त्यो महा-विपत्तिबाट हामीलाई छुटकारा दिनको निम्ति हो । सर्वप्रथम, बाइबलमा उल्लेखित सबैभन्दा महा-विपत्ति के हो, पत्ता लगाऔं ।
तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे । यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो । यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए । बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए । प्रका १९:२०-२१
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए । त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन् । प्रका २०:१०
प्रकाशको पुस्तकमा उल्लेखित आगो र गन्धकको कुण्डले नरकलाई जनाउँछ । मुक्ति नपाएकाहरूले सदासर्वदा यातना भोग्ने नरक छ, अनि मुक्ति पाएकाहरूले सदासर्वदा सान्त्वना र खुशीमा आनन्द मनाउने स्वर्ग पनि छ भनेर बाइबलले गवाही दिएको छ ।
यस संसारको विपत्ति क्षणिक हो, र पनि कति पीडादायी हुन्छ । निश्चय नै परमेश्वरले हामीलाई यस्ता क्षणिक विपत्तिहरूबाट पनि बचाउनुहुन्छ, तर सबभैन्दा महत्त्वपूर्ण कुराचाहिँ सदासर्वदा यातनामा पुऱ्याउने त्यो भयानक विपत्तिबाट बच्नु हो । हामीहरू कुनै हालतमा त्यो भयानक विपत्तिमा पर्नुहुँदैन । आफ्ना सन्तानहरूलाई नरकको सदासर्वदाको विपत्तिबाट बचाउने गहिरो इच्छाका साथ परमेश्वर शरीर धारण गरी स्वयम् यो पृथ्वीमा आउनुभयो ।
२,००० वर्षअघि येशूज्यूले स्वर्ग-राज्यको सुसमाचार प्रचार गर्नुहुँदा, उहाँले आत्मिक संसारको सिद्धान्त पनि जानकारी दिनुभयो । उहाँले आफ्नो सेवा-कार्यको अवधिभर ‘नरकचाहिँ कदापि जानुहुँदैन’ भन्ने कुरालाई जोड दिनुभयो । जुनचाहिँ ख्रीष्टका शिक्षाहरूमध्येको एक महत्त्वपूर्ण शिक्षा हो ।
“यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ । तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ । किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ ।” मत्ती ५:२९-३०
“… तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ । दुवै हात वा दुवै खुट्टासाथ अनन्त आगोमा फालिनुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ । तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ । दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ ।” मत्ती १८:७-९
नरकचाहिँ चरम यातना हुने ठाउँ हो, जहाँ प्रत्येक क्षण भयानक विपत्ति भोगेजत्तिकै पीडा हुन्छ । त्यस्तो डरलाग्दो नरकको विपत्तिबाट जसरी पनि उम्कनू भनी परमेश्वरले हामीलाई बारम्बार गहिरो अनुरोध गर्नुहुन्छ ।
परमेश्वरले डोऱ्याउनुभएको मार्गमा नहिँडेसम्म हामीहरू नरकको आगोबाट उम्कन सक्दैनौं । त्यसैले परमेश्वरलाई “प्रभु, प्रभु” भनेर पुकार्दै, विश्वास भएजस्तो भान गर्ने तर हृदयचाहिँ उहाँबाट टाढा भएका ती फरिसी र व्यवस्थाका पण्डितहरूलाई येशूज्यूले हप्काउनुभयो ।
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू ! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ ।” मत्ती २३:१५
“तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूमा एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ । … धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू ! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ । तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ ।” मत्ती २३:१०-१३
सुरुको मण्डलीको समयका धार्मिक नेताहरूले परमेश्वरको व्यवस्था पालन नगरी उल्टै अधर्म काम(व्यवस्था भङ्ग) गरे । त्यसो गर्दै तिनीहरूले मानिसहरूका सामुन्ने स्वर्ग-राज्यको ढोका बन्द गरे, अनि तिनीहरूले न त आफू पसे, न पस्न चाहनेहरूलाई पस्न दिए । तिनीहरूले एक जनालाई आफ्नो मतमा ल्याएपछि, त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाए । येशूज्यूले तिनीहरूलाई झूटा अगमवक्ताको संज्ञा दिनुहुँदै कडासँग हप्काउनुभयो । अनि यस्ता झूटा अगमवक्तालाई पछयाउनेहरू नष्ट हुनेछन् र नरकदेखि उम्कनेछैनन् भन्नुहुँदै आफ्ना चेलाहरूलाई सतर्क गराउनुभयो (मत्ती ७:१५-२३; २३:३३) ।
यसकारण हामीले वतर्मानका असंख्य मण्डलीहरूमध्ये बाइबलको शिक्षाअनुसार सत्यता पालन गर्ने मण्डली खोज्न आवश्यक छ । हामीलाई नरकको विपत्ति, अनि पाप र मृत्युको साङ्लोबाट छुटकारा गराउन परमेश्वरले आफ्नो पवित्र देह बलिदान गर्नुभयो । यसकारण हामीहरू अधर्म काम गरेर फेरि पापको दासत्वमा पर्नुहुँदैन । सत्यता पालन नगर्नेहरूको अन्तिम गन्तव्य भनेको नरक हो, जहाँ तिनीहरूले सदासर्वदा यातना भोग्नेछन् । यस्तो विपत्ति कसले सहन सक्छ र ?
येशूज्यूले हामीलाई, शरीरको कुनै अङ्ग गुमाउनु परे तापनि कदापि नरक नजानू भन्ने शिक्षा दिनुभएको छ । हामीलाई नरकको विपत्तिबाट बचाउन उहाँले स्थापना गरिदिनुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो ।
अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो । उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर ।” … तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाडको तयारी गरे । अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दु:ख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” लूक २२:७-१५
येशूज्यूले किन निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गर्नुभएको होला ? किनभने उहाँ हराएकालाई खोज्न र बचाउन चाहनुहुन्थ्यो (लूक १९:१०) । आत्मा नाश हुने ठाउँलाई बाइबलमा नरक भनिएको छ, र नरकबाट छुटकारा पाउने कुरालाई चाहिँ मुक्ति भनेर वर्णन गरिएको छ । यस्तो भयानक विपत्ति, नरकको यातनाबाट हामीलाई बचाउन येशूज्यूले यो पृथ्वीमा आउनुभएर मान्ने ठूलो इच्छा गर्नुभएको कुरा नै निस्तार-चाड थियो ।
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:१९-२०
निस्तार-चाडको दिनमा येशूज्यूले आफ्नो पवित्र देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य आफ्ना चेलाहरूलाई खान र पिउन दिनुभएर त्यसलाई ‘नयाँ करार’ भन्नुभयो । यहाँ हामीले, येशूज्यूले किन निस्तार-चाडकै दिनमा नयाँ करार स्थापना गर्नुभयो भन्नेबारे सोच्न आवश्यक छ । निस्तार-चाडमा कस्तो अर्थ समावेश छ होला ? ‘निस्तार’ शब्दको अर्थ नै ‘पार हुनु’ हो । के पार हुने होला ? विपत्ति हामीबाट पार भएर जाने कुरा हो भनेर बाइबलमा भनिएको छ ।
“… यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।” प्रस १२:११-१४
निस्तार-चाडको धर्मविधिचाहिँ आजभन्दा करीब ३,५०० वर्षअघि पुरानो करारको समयमा सुरु भएको थियो । प्रस्थानको समयमा इस्राएलीहरूले आ-आफ्नो परिवारको निम्ति निस्तार-चाडको थुमा बलि गरेर त्यसको रगत आफ्नो घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाए । परमेश्वरको प्रतिज्ञाबमोजम, विनाशक स्वर्गदूतहरू निस्तार-चाडको थुमाको रगत भएका घरहरूबाट पार भएर गए ।
यसरी हेर्दा निस्तार-चाडको अर्थ नै विपत्ति हामीबाट पार हुनु हो । विपत्तिमध्येको महा-विपत्तिचाहिँ मिश्रमा झारिएको दश विपत्ति अथवा प्रकाशमा उल्लेखित सात विपत्ति होइनकि नरकको विपत्ति हो । निस्तार-चाडको रोटी र दाखमद्य कुनै साधारण रोटी र दाखमद्य होइन तर हामीलाई नरकको विपत्तिबाट बचाउने परमेश्वरको प्रतिज्ञा त्यसमा समावेश छ ।
त्यसैले येशूज्यूले क्रूसको कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभयो । त्यसको भोलिपल्ट येशूज्यूले धेरै मानिसहरूको गिल्ला र अपमान पाउनुहुँदै क्रूसमा चरम कष्ट भोग्नुहुने कुरा येशूज्यूलाई पहिल्यै थाहा थियो । नजिक आइरहेको त्यो कष्टलाई सोच्दै गेतसमनी डाँडामा प्रार्थना गर्नुहुँदा येशूज्यूको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए (लूक २२:३९-४४) । उहाँले यस्तो चरम पीडा सहनुभएर हामीलाई नरकबाट बचाउनुभई जीवनको मार्गमा डोऱ्याउनुभयो । त्यसैले यो निस्तार-चाड साँच्चै अति मूल्यवान् छ ।
अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजीक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१७-१९, २६-२८
येशूज्यूले हामीलाई पाप-क्षमा पाउने र विपत्तिबाट बच्न सकिने निस्तार-चाड प्रदान गर्नुभयो । हामीलाई अनन्त नरकको दण्डबाट बचाउन परमेश्वरले यो पृथ्वीसम्म आउनुभएर नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभयो, र हाम्रो सट्टामा सम्पूर्ण कष्ट सहनुभएर स्वयम् बलिदान हुनुभयो । अहिले हाम्रा पापहरू क्षमा भएकोले हामीहरू नरकको भयानक विपत्तिबाट छुटकारा पाई परमेश्वरको राज्यतिर फर्कन पाएका छौं । परमेश्वरको त्यो महान् प्रेम र अनुग्रहलाई हामीले कसरी शब्दद्वारा व्यक्त गर्न सक्छौं र ?
परमेश्वरले स्थापना गर्नुभएको सबैभन्दा महान् सत्यता नै निस्तार-चाड हो । हामीले मान्ने निस्तार-चाडचाहिँ, पृथ्वीमा झर्ने विपत्तिबाट मात्र हामीलाई बचाएर हाम्रो शारीरिक जीवनलाई मात्र उद्धार गर्ने त्यस्तो धर्मविधि होइन । तर योचाहिँ सबैभन्दा भयानक नरकको विपत्तिबाट हामीलाई उद्धार गर्न परमेश्वरले आफ्नो अनमोल रगतद्वारा स्थापना गर्नुभएको केन्द्रीय सत्यता हो ।
परमेश्वरले आफ्ना प्रजाको पाप क्षमा गरिदिन नयाँ करार स्थापना गर्नुहुनेछ भन्नेबारे यर्मिया अगमवक्ताले पहिल्यै अगमवाणी गरेका थिए ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” … परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् । ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैनन् । किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ । “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ ।” यर ३१:३१-३४
यो अगमवाणीअनुसार येशूज्यूले निस्तार-चाडको साँझमा नयाँ करार स्थापना गर्नुभयो । नयाँ करार पूर्ण रूपमा घोषणा नगरुञ्जेल उहाँले व्यग्र प्रतीक्षा गर्नुभयो । परमेश्वरको देह र रगतद्वारा स्थापित नयाँ करार नभएको भए हामी परमेश्वरका सन्तानहरू नरकको विपत्तिबाट कदापि उम्कन सक्नेथिएनौं ।
यस्तो भयानक विपत्तिबाट हामीलाई उद्धार गर्न ख्रीष्ट स्वयम् बलिदान हुनुभयो । अनि नयाँ करारद्वारा उहाँले हामीलाई मृत्यु, शोक र पीडा नहुने तर केवल खुशी, शान्ति र अनन्त जीवनको आशिष् पोखिने अनन्त स्वर्ग-राज्यको उत्तराधिकारको प्रतिज्ञा गर्नुभयो । परमेश्वरको यस्तो उदेकको अनुग्रहले गर्दा, अहिले हामीले नयाँ आकाश र नयाँ पृथ्वीको बाटो हेर्न सकेका छौं (प्रका २१:१-४; २ पत्र ३:१३) ।
यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन । यसकारण पहिलो करार पनि रगतविना पक्का हुन सकेन । हिब्रू ९:१५-१८
प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार हामीलाई दिन परमेश्वर स्वयम् यो पृथ्वीमा शरीर धारण गरेर आउनुभई नयाँ करार स्थापना गर्नुभयो । अझ एक आत्मालाई नरक लैजान खोज्ने शत्रु, शैतानले नयाँ करारको सत्यतालाई नष्ट गर्न दिनरात सक्दो प्रयत्न गरिरहेको छ । नयाँ करार निस्तार-चाड हटाउन खोज्ने शैतान, अनि सोही नयाँ करार निस्तार-चाड आफ्ना सन्तानहरूलाई दिन चाहनुहुने परमेश्वरबीच हजारौँ वर्षदेखि आत्मिक युद्ध चल्दैआएको छ । त्यसैले यो युगमा नयाँ करारको सत्यता पुनर्स्थापना गर्न परमेश्वर स्वयम् यो पृथ्वीमा आउनुभयो ।
… त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८
परमेश्वर दोस्रो पल्ट आउनुहुँदा पवित्र आत्मा र दुलहीको रूपमा देखा पर्नुहुनेछ (प्रका २२:१७) । “यातना र विपत्ति भोग्ने ठाउँमा कदापि जानुहुँदैन । आउनुहोस्, र जीवनको पानी लिनुहोस्” भन्नुहुँदै अहिले पवित्र आत्मा र दुलहीले सम्पूर्ण मानव-जातिलाई बोलाउँदैहुनुहुन्छ ।
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीकहाँ हामीहरू जानुपर्छ । यदि हामी अझै पनि पापमा रहिरहन्छौं भने हामीले अनन्त जीवन पाउन सक्दैनौं । पाप-क्षमा नपाएसम्म हामीहरू नरकको विपत्तिबाट कदापि उम्कन सक्दैनौं । पवित्र आत्मा र दुलहीकहाँ जानेहरूले मात्र नयाँ करारभित्र पाप-क्षमा पाई अनन्त जीवनको आशिष् भोग गर्न सक्नेछन् ।
अझै पनि पवित्र आत्मा र दुलहीको सोर नसुनेर लक्ष्यविहीन भई भौंतारिँदै मृत्युतर्फ दौडिरहेका आत्माहरू संसारमा धेरै छन् । परमेश्वरले हामीलाई नयाँ करारका सेवक बनाउनुभएकोले (२ कोर ३:६), ती मानिसहरूलाई मुक्तिको सही मार्गमा डोऱ्याउने कार्यमा हामीले अझ धेरै परिश्रम गर्नुपर्छ । नयाँ करारको सत्यताद्वारा, हामीलाई नरकको अनन्त विपत्तिबाट उद्धार गर्नुभएका हाम्रा परमेश्वर पवित्र आत्मा र दुलहीको बारेमा सारा संसारमा सुनाऔं । हामीलाई नरकको विपत्तिबाट बचाउनुभएर अनन्त स्वर्ग-राज्यको मार्गमा डोऱ्याउनुभएका हाम्रा स्वर्गीय पिता र मातालाई अनन्त धन्यवाद, आदर र महिमा चढाऔं ।