WATV.org is provided in English. Would you like to change to English?

निकेयाको सम्मेलन र एरियसवाद

806 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

ई.सं. ३२५मा विशेष गरी एरियसवाद साथै निस्तार-चाडको विषयमा उठेको विवाद साम्य पार्नको निम्ति निकेया सम्मेलन गठन गरिएको थियो । उक्त विवादले रक्तपातसमेत निम्त्यायो, जुनचाहिँ इतिहासमा अन्धकारको अध्याय रू​पमा रहेको छ ।

एरियसको जिद्दी

एरियसचाहिँ मिश्रको अलेक्जेन्ड्रिया मण्डलीका धर्मगुरुको रूपमा विशिष्ट पद ओगटेका व्यक्ति थिए । तिनले निम्न लिखित अनौठा सिद्धान्तहरूमा जिद्दी गर्दै सार्वजनिक आलोचना उत्पन्न गराए :

  1. १. ख्रीष्टचाहिँ शरीर धारण गर्नुभएका लोगोस हुनुहुन्छ (ग्रीकमा λóγoς जसको अर्थ हो ‘वचन’ अथवा ‘सत्य’) ।
  2. २. ख्रीष्टमा परिवर्तन र कष्ट सम्भव छ ।
  3. ३. तसर्थ लोगोस परिवर्तनीय छ, परमेश्वरको बराबरी छैन ।

एरियसको जिद्दीअनुसार, येशूज्यू परमेश्वर होइन केवल परमेश्वरको सृष्टिका थोक हुनुभएकोले उहाँ अनन्त हुनुहुन्न; अनि पुत्रचाहिँ पिता परमेश्वरको पहिलो सृष्टि भएजस्तै, पवित्र आत्मा पनि पुत्र परमेश्वरको पहिलो सृष्टि हो ।

मानिसहरूले सजिलैसित बुझ्न र कण्ठ गर्न सकून् भनेर आफ्नो सिद्धान्तलाई गीत र सार्थक भनाइद्वारा प्रस्तुत गर्नको निम्ति आफ्नो धार्मिक शक्तिलाई प्रयोग गर्ने एरियस, एक चतुर प्रचारक थिए । उनको शिक्षा व्यापक रूपमा फैलियो, यहाँसम्म कि मछुवाजस्ता आम मानिसले समेत उनको गीत गाउँदथे ।

तब अलेक्जेन्ड्रियाका बिशप, अलेक्जेन्डरले एउटा सम्मेलन आयोजना गरेर एरियसलाई दोषी ठहराए, र देशनिकाला गरिदिए । अलेक्जेन्ड्रियाबाट निष्कासित भएपछि एरियस अन्य पूर्वी क्षेत्रका बिशपहरूको समर्थनमा प्यालेस्टाइनतिर लागे । एरियसको सिद्धान्तलाई धेरै ख्रीष्टियान अगुवाहरू र बिशपहरूले समर्थन गरेकाले ठूलो समस्या उत्पन्न हुन थाल्यो ।

प्रेरितहरूको युगदेखि हस्तान्तरण हुँदैआएको ख्रीष्टको ईश्वरत्वप्रतिको विश्वासलाई अब एरियसले चुनौती दिन थाले । एरियसवादी सिद्धान्त मानिसहरू र अलेक्जेन्ड्रियन पादरी समूहमा फैलिँदैगएकोले एरियसवाद विश्वव्यापी समस्या बन्न पुग्यो ।

निकेयाको सम्मेलन

ई.सं. ३२५मा आफूलाई ‘मण्डलीका संरक्षक’ भन्ने रोमी सम्राट कन्स्टेन्टाइनले निस्तार-चाड लगायत एरियसवादको विवाद साम्य पार्नका लागि समस्त ख्रीष्टियान बिशपहरूलाई भेला गराए । उक्त सम्मेलनमा लागेको सम्पूर्ण खर्च राजकीय घरानाले बेहोरेको थियो ।

त्यो समयमा, एरियसको विरुद्धमा खडा भएका विश्वासका एक योद्धा थिए । ती हुन् एथानासियस । तिनी अलेक्जेन्ड्रियाका एक ग्रीक नागरिक थिए । एथानासियसले ख्रीष्टचाहिँ परमेश्वरको बराबरी हुनुहुन्छ भन्ने कुरालाई जोड दिँदै एरियसको सिद्धान्तलाई खण्डन गरे ।

निकेयाको सम्मेलनमा उपस्थित करीब ३०० जना बिशपहरूमध्ये २० जना एरियसको पक्षमा थिए । सम्राट कन्स्टेन्टाइनले परमेश्वर र येशूज्यू बराबर हुनुहुन्छ भन्ने कुरा घोषणा गरिएको ‘निकेया सम्झौता’ नामक एक सिद्धान्त बनाउने आदेश दिएर सबै ख्रीष्टियानहरूले त्यो सम्झौतालाई स्वीकार्दै पालन गर्नुपर्ने कडा उर्दी जारी गरे । कन्स्टेन्टाइनले त्यहाँ उपस्थित सम्पूर्ण बिशपहरूलाई त्यो सम्झौता-पत्रमा हस्ताक्षर गर्ने आदेश दिए; यदि कसैले त्यो सम्झौता-पत्रमा हस्ताक्षर गरेन भने उसलाई विधर्मीको संज्ञा दिइँदै देशनिकाला गरिनेछ भनेर कडा चेताउनीसमेत दिए । निकेया सम्मेलनमा एरियसलाई दोषी घोषणा गरियो, र त्यो सम्झौता-पत्रमा हस्ताक्षर नगर्ने लिब्याका दुई जना बिशपहरू– थिओनास र सेकन्डसलाई एरियससँगै देशनिकाला गरेर इल्लिरिकममा पठाइयो ।

एरियसवादीहरूको प्रतिशोध

दुई वर्षपछि एरियसले आफ्नो गल्तीप्रति पश्चाताप गरेको घोषणा गरे । तब उनी र उनीसँगै देशनिकाला गरिएका दुई जना बिशपहरू मण्डलीमा फर्किआए । निर्वासनबाट फर्किएपछि तिनीहरूले फेरि एरियसवादी सिद्धान्तको बारेमा सर्वसाधारणमाझ गुप्त रूपले प्रचार-प्रसार गर्न थाले, अनि आफ्ना विपक्षीहरूसित बिस्तारै प्रतिशोध लिन थाले ।

तिनीहरूले आफ्ना विरोधीहरूलाई, सम्राट कन्स्टेन्टाइनकी आमा हेलेनालाई अपमान गरेको र अनैतिक व्यवहार गरेको भन्दै सताउन थाले । त्यसपछि अलेक्जेन्ड्रियाका बिशप एथानासियसलाई पनि आक्रमण गरेर देशनिकाला गरिदिए ।

एरियसवादलाई समर्थन गरेका सम्राट

ई.सं. ३३६मा एरियसको मृत्यु भयो, र अर्काे वर्ष कन्स्टेन्टाइनको पनि मृत्यु भयो । एरियसका अनुयायीहरूले एरियसवादी सिद्धान्तलाई जोडका साथ प्रचार गर्दै जनताहरूमाझ एरियसवादलाई फैलाए । त्यो समयमा रोम साम्राज्य कन्स्टेन्टाइनका तीन जना छोराहरूद्वारा शासन गरिँदैआएको थियो: कन्स्टेन्टाइन दोस्रो (पश्चिम), कन्स्टेन्स (मध्य) र कन्स्टेन्टियस (पूर्व) । कन्स्टेन्टाइन दोस्रोले निकेयाको सिद्धान्तलाई समर्थन गरेकाले तिनले एथानासियसलाई निर्वासनबाट फिर्ता बोलाए । कन्स्टेन्सले पनि निकेयाको सिद्धान्तलाई र एथानासियसलाई समर्थन गरे, तर कन्स्टेन्टियस यिनीहरूभन्दा भिन्न थिए; तिनी एरियसवादले गहिरो प्रभाव पारेको पूर्वी रोम साम्राज्यका शासक भएकाले तिनले एरियसवादलाई समर्थन गरे ।

केही समयपछि कन्स्टेन्टाइन दोस्रोको मृत्यु भयो, र पूरै पश्चिमी रोम कन्स्टेन्स एकलैले शासन गर्नुपर्ने भयो । दश वर्षपछि कन्स्टेन्सको हत्या भयो, र पूर्वी रोमका शासक कन्स्टेन्टियसद्वारा रोम एकीकरण गरियो । अघि भनिएजस्तै, कन्स्टेन्टियसचाहिँ एरियसवादका समर्थक थिए । त्यसैले पूरै रोम साम्राज्य एरियसवादी सम्राटको अधीनमा पऱ्यो । तिनले सम्पूर्ण बिशपहरूलाई ‘पुत्रको स्वरूप पितासँग कदापि मिल्दैन’ भन्ने सिद्धान्तलाई स्वीकार गर्न बाध्य बनाए । रोमका एक बिशप लिबेरिउसले पनि आफू देशनिकाला गरिनुअघि यो नयाँ सम्झौतालाई स्वीकारेका थिए ।

अन्यजातिको धर्मका अनुयायी, सम्राट जुलियन

केही समयपछि पेरिसनेर बसोबास गरेका रोमी सेनाहरूले सम्राट कन्स्टेन्टियसको आदेशलाई उल्लङ्घन गर्दै सम्राटको विद्रोह गरे, र तिनीहरूले सेनाप्रमुख जुलियनलाई सम्राट घोषणा गरे । तर यी दुई पक्षबीच युद्ध हुनुअगावै कन्स्टेन्टियसको मृत्यु भयो, र जुलियन पूरै रोमका सम्राट बने । जुलियन कन्स्टेन्टाइनका भतिजा थिए, तर तिनी ख्रीष्टियान धर्ममा आस्था राख्दैनथे । बरु तिनी एल्यूसिनियनको रहस्यमय धर्ममा आबद्ध थिए, र तिनी प्राचीन अन्यजातिको धर्मलाई पुनर्स्थापन गर्न चाहन्थे । तिनले पोन्टिफेक्स म्याक्सिमसको रूपमा रहेर अन्यजातिका देवताहरूलाई बलि चढाएका थिए । (पोन्टिफेक्स म्याक्सिमस : प्राचीन रोमी धर्मका प्रधान पूजाहारी– मानिस र परमेश्वरबीचको मध्यस्थकर्ता; लामो समयअघि रोमी सम्राटहरूलाई सूर्य देवताका प्रधान पूजाहारी मानिन्थ्यो; अनि कन्स्टेन्टाइन र तिनका छोराहरूले पनि मण्डलीसम्बन्धी मामिलाहरूमा हस्तक्षेप गर्नको निम्ति पोन्टिफेक्स म्याक्सिमसको आधिकारिक पद प्रयोग गरेका थिए ।)

जुलियनले सबै धर्मलाई समान रूपले हेर्ने नीति अपनाए । तब अन्यजातिको धर्म पुनर्जीवित भयो, र यसका अनुयायीहरूको सङ्ख्या वृद्धि हुन थाल्यो । तिनले कन्स्टेन्सद्वारा देशनिकाला गरिएका सबै बिशपहरूलाई बोलाएर तिनीहरूका आ-आफ्नो कुर्सीमा पुन: नियुक्त गरे; तिनको मनशाय भनेको ख्रीष्टियान धर्मावलम्बीहरूबीच फूट उत्पन्न गराएर ख्रीष्टियान धर्मलाई जरैबाट उखेल्नु थियो । तर अफ्रिकाबाहेक सबै ठाउँका बिशपहरू एक भएर जुलियन र अन्यजातिका धर्मको विरुद्धमा उठे ।

रोम साम्राज्यको विघटन र एरियसवादी जातिको पतन

जुलियनको मृत्युपश्चात् तिनीपछि सम्राट भएका जोभियनचाहिँ ख्रीष्टियान थिए । तिनका उत्तराधिकारीहरू पनि सबै ख्रीष्टियान थिए, अनि तिनीहरू निकेया-सम्झौता र एरियसवादलाई स्वीकार गर्थे । तर पाँचौँ शताब्दीको मध्यतिर, रोम साम्राज्य बिस्तारै पतन हुन थाल्यो । उत्तरबाट ओर्लिआएका जर्मन जातिहरूले रोम साम्राज्यमा जबरजस्ती घुसेर रोमका भूभागहरू विभाजन गरेर कब्जा गरे । त्यस बेला धेरै ख्रीष्टियान अगुवाहरू कैदी बनाइए, र तिनीहरूले जर्मन जातिहरूलाई प्रचार गरे । कतिपय ख्रीष्टियानहरू जर्मन जातिहरूलाई प्रचार गर्न स्वेच्छाले तिनीहरूकहाँ गए । एरियसवादका अनुयायीहरूले एरियस-ख्रीष्टियान धर्मलाई हेरुली, भ्यान्डल्स र ओस्ट्रोगोथमा फैलाए । तर यी तीन जातिहरू पोपतन्त्रद्वारा पालैसँग नष्ट भए ।

निकेया-सम्झौता र एरियसवादको प्रभाव

त्यसपछि निकेया-सम्झौतालाई वैधानिकता दिइयो । धार्मिक अन्धकारको युगलाई नेतृत्व गरेको रोमन क्याथोलिक मण्डली लगायत धर्म-सुधारको समयमा देखा परेका प्रोटेस्टेन्ट मण्डलीहरूद्वारा पनि निकेया-सम्झौता ‘त्रिएक सिद्धान्त’लाई विश्वासको आधारभूत सूत्रको रूपमा अपनाइयो । तर पिता परमेश्वर र पुत्र परमेश्वर समान हुनुहुन्न भनेर जिद्दी गर्ने यहोवाका साक्षीजस्ता ख्रीष्टियान सम्प्रदायहरू अहिले पनि धेरै नै छन् । ती समूहलाई ‘वर्तमानका एरियसहरू’ भन्न सकिन्छ ।

निकेया-सम्झौताको सीमितता

निकेयाको सम्मेलनले एरियसवादलाई अस्वीकार गरेर “पुत्रचाहिँ पितासँगै एकै हुनुहुन्छ” भनेर घोषणा गर्दै निकेया-सम्झौतालाई अपनाए तापनि त्यो सम्झौता ‘त्रिएक’ सत्यताको केन्द्रसम्म भने पुग्न सकेन । निकेया-सम्झौताले “येशू ख्रीष्टलाई पिताको एकमात्र पुत्र” अथवा “पितासँग एक” भनेर व्याख्या गर्दै “पिता परमेश्वर नै पुत्र परमेश्वर हुनुहुन्छ” भन्ने सिद्धान्त प्रस्तुत गऱ्यो, तर यो सिद्धान्त एकदम अस्पष्ट छ । त्यसैले त त्रिएक सिद्धान्तलाई विश्वास गर्ने हिजोआजका अधिकांश ख्रीष्टियानहरू लगायत बाइबलविद्हरूले “येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ” भनेर स्वीकार त गर्छन्, तर “येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ” भन्ने यथार्थतालाई चाहिँ सजिलै स्वीकार्न मान्दैनन् ।

त्यसैले कतिपय मण्डलीहरू “पिताले गर्नुभएका उही कार्यहरू पुत्रले पनि गर्नुभएकोले पिता परमेश्वर र पुत्र परमेश्वर एउटै हुनुहुन्छ” भन्ने जस्ता अनौठा सिद्धान्तहरू पनि सिकाउँछन् ।

यसरी बाइबलको ज्ञानको कमीले गर्दा, ख्रीष्टको मनुष्यत्वलाई जोड दिने एरियसवादसँग मिल्दाजुल्दा धेरै झूटा शिक्षाहरूको उदय भएको छ । परिणामस्वरूप मानिसहरूले आफ्नै इच्छाअनुसार बाइबलको अर्थ लगाएर ख्रीष्टको ईश्वरत्वलाई निन्दा गरिरहेका छन् ।

अझ निकेया-सम्झौतामा पवित्र आत्माको विषयमा स्पष्ट वर्णन नै छैन । त्यसैले निकेयाको सम्मेलनदेखि, ख्रीष्टियान मण्डलीहरूले ‘त्रिएक’लाई आध्यात्मिक सिद्धान्त भन्दै अक्षरस रूपमा मात्र सिकाउँदैआएका छन् । त्यसैले तिनीहरू बाइबलको आवश्यकता र “पिता परमेश्वर = पवित्र आत्मा,” “पुत्र परमेश्वर = पवित्र आत्मा” भन्ने बाइबलको अभिव्यक्तिलाई बुझ्न असफल भइरहेका छन् ।

बाइबलको सत्यता, त्रिएक

‘त्रिएक’को सिद्धान्तचाहिँ आध्यात्मिक शिक्षाजस्तै पुष्टि वा खण्डन गर्न सकिने सामान्य विषय होइन । योचाहिँ सुरुको मण्डलीदेखि नै जोड दिइँदैआएको बाइबलको सत्यता हो । सत्यताचाहिँ कुनै धार्मिक सम्मेलनमा अध्यात्मवादीहरूको छलफलद्वारा निष्कर्षमा आएको कुरा होइनकि स्वयम् परमेश्वरले नै सिकाउनुभएको शिक्षा हो (मीका ४:१-२) ।

शैतानले, हामीमा परमेश्वरको ज्ञान भएको कदापि चाहँदैन । ज्ञानको कमी भएमा परमेश्वरका प्रजाहरू नष्ट हुने कुरा (होशे ४:१-६) शैतानलाई थाहा छ । यसकारण त्यसले सारा संसारभरि ख्रीष्ट विरोधी आत्माहरू खटाइरहेको छ । त्यसको छलमा परेकाहरूले त्रिएकको सिद्धान्तलाई इन्कार गर्ने वा त्रिएकको सिद्धान्तलाई ओठले चाहिँ स्वीकार गरे तापनि हृदयबाट चाहिँ इन्कार गर्ने गर्छन् । ती मानिसहरूमा दोहोरो किसिमको विश्वास हुन्छ ।

सत्यका आत्मा नआउञ्जेल कसरी हामीले न्याय गर्न सक्छौं र ? उहाँ आउनुभएर अन्धकारमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याइदिनुभएकोले अहिले हामीहरू परमेश्वरको ज्ञानमा आउन सकेर विनाशबाट जीवनमा सर्न सकेका छौं (१ कोर ४:५) ।

“अनि ती सबै जना परमेश्वरद्वारा सिकाइनेछन्” (यूह ६:४५) भनिएको परमेश्वरको प्रतिज्ञाको वचनअनुसार हामीले सत्यताको वचन बुझ्न सकेका छौं । जगत्‌को अन्त्यसम्म पिता, पुत्र र पवित्र आत्माको रूपमा सधैँ हामीहरूको साथमा रहनुहुने परमेश्वरलाई धन्यवाद चढाउँदै, संसारका सबै मानिसहरूमाझ परमेश्वरको साँचो ज्ञान बाँड्दै तिनीहरूलाई पनि मुक्तिको बाटोमा डोऱ्याउन सक्दो प्रयत्न गरौं ।