WATV.org is provided in English. Would you like to change to English?

हँसिलो अनुहार, खुशी परिवार

जब हामी मुस्कुराउँछौं तब हाम्रो अनुहार देखाउने ऐना र हामीलाई हेर्ने परिवार पनि मुस्कुराउँछन् । मुस्कानले हाम्रो हृदयलाई उज्ज्यालो बनाउँछ ।

44,052 भ्यु

मानव अनुहारले ७,००० भन्दा बढी भाव व्यक्त गर्न सक्छ । ती धेरै भावहरूमध्ये हामीलाई जवान र सबैभन्दा सुन्दर देखाउने, अनि अरू मानिसहरूलाई समेत खुशी बनाउने भावचाहिँ हँसिलो अनुहार हो । रिसाउँदा निधार खुम्चिन्छ, आँखा र मुखको कुना तलतिर तानिन्छ, निधार र आँखीभौं बीचको ठाउँ साँघुरो हुन्छ, र हामी सुन्दर देखिँदैनौं । तर जब हामी मुस्कुराउँछौं, हाम्रो आँखा, मुखको कुनाहरू र गालाको मांसपेसीहरू उचालिन्छन् । हाम्रो आँखीभौंको किनार र निधार फराकिलो हुन्छ, जसले गर्दा हाम्रो अनुहार उज्ज्यालो देखिन्छ । मुस्कुराउँदा र रिसाउँदा हाम्रो अनुहारको मांसपेशीहरू विपरीत दिशामा फर्किन्छन् ।

एउटा कोरियाली उखान छ, “मुस्कुराएको अनुहारमा थुक्न सकिँदैन ।” त्यसै गरी एउटा चिनियाँ उखान पनि छ, “मुस्कुराउन आउँदैन भने पसल नखोले हुन्छ ।” यसबाहेक विभिन्न भनाइहरू छन्, मुस्कुराउनु भनेको दुई व्यक्तिबीचको दूरी कम हुनु हो (भिक्टर बोर्ग), मानवजातिसँग भएको प्रभावकारी हतियार नै हाँसो हो (मार्क ट्वन), हाँसोलाई किन्न, माग्न वा चोर्न सकिँदैन (डेल कार्नेज), नहाँसेको दिनचाहिँ सबैभन्दा बर्बाद दिन हो (क्यामफर्ट), मुस्कुराउने मानिस गरिब हुँदैन (रेमन्ड हिच्कक) । यी भनाइहरूद्वारा मुस्कानको शक्ति थाहा पाउन सकिन्छ ।

वैज्ञानिक, चिकित्सक र मनोवैज्ञानिक रूपमा मुस्कानका सकारात्मक पक्षहरू पहिले नै प्रमाणित भइसकेका छन् । धेरै तवरले हेर्दा, मुस्कुराएन भने दुःख पाइन्छ । यद्यपि धेरै मानिसहरूले मुस्कुराउनका लागि समय खर्चिदैनन् । दिनमा ५ मिनेट मुस्कुराउने मानिस ८० वर्ष बाँच्छ भन्ने कुरालाई मान्ने हो भने उसले मुस्कुराएर बिताएको सम्पूर्ण जीवनको योगफल लगभग १०० दिन या सोभन्दा कम हुन्छ ।

सबैले आफ्नो क्यानभास आफै बोकिरहेका हुन्छन् । वास्तवमा त्यो क्यानभास नै अनुहार हो । अनुहारचाहिँ सबैसँग हुन्छ तर यसलाई आफैले देख्न सकिँदैन । त्यसै गरी हाम्रो सोचाइहरू अदृश्य भए पनि तिनीहरू सजिलै अनुहारमा प्रकट हुन्छन् । त्यसैले अनुहारचाहिँ अरूलाई आफ्नो मनको अवस्था देखाउने क्यानभासजस्तै हो । बाल्यकालमा हामीले कम्तीमा एक पटक भए पनि खाली कागजमा चित्र बनाउन प्रयास गरेका हुन्छौं । अबचाहिँ क्यानभास रहेको हाम्रो अनुहारमा मुस्कानको सुन्दर चित्र कोर्ने समय आएको छ ।

हँसिलो अनुहारले कुराकानीलाई समृद्ध बनाउँछ

मानिसहरू भावहीन अनुहार भएका व्यक्तिहरूसँग कुरा गर्न हिचकिचाउँछन् । तर हँसिलो अनुहार भएकाहरूसँग कुरा गर्न रुचाउँछन् । परिवारको सन्दर्भमा पनि उस्तै हो । परिवारको सामु उदास भइयो भने उनीहरूले यसरी सोच्न सक्छन्, “केही नराम्रो भयो कि ? ऊसँग बोल्यो भने उसलाई झन् रिस उठ्न सक्छ, त्यसैले ऊबाट टाढा बस्दा नै ठीक होला ।” यसको ठीक विपरीत अनुहारमा हाँसो हुँदा जुनसुकै विषयमा पनि बोल्न हिचकिचाउँदैनन् ।

हासोँचाहिँ हेर्दा मात्र राम्रो हुने होइनकि यसले मानिसहरूमाझ सकारात्मक भावना जगाउन पनि मद्दत गर्दछ । कहिलेकहीँ हाँसोले दश वटा शब्दले भन्दा बढी मित्रताको भाव दिइरहेको हुन्छ । शब्द जतिसुकै सुन्दर भए पनि वक्ताको अनुहार कठोर छ भने श्रोताहरूले त्यो कुरालाई नकारात्मक रूपमा लिन्छन् । यसरी लगातार उस्तै तरिकाले कुराकानी गऱ्यो भने सुन्ने व्यक्तिको मन बिस्तारै बन्द हुन थाल्छ ।

यदि घरमा धेरै कुराकानी हुँदैन भने आफ्नो अनुहारको भाव कस्तो हुन्छ भनेर एक पटक जाँच गरी हेर्नुहोस् । हाँसो नभएको ठाउँमा कुराकानी हुँदैन । परिवारसँग मुस्कानका साथ व्यवहार गर्दा सकारात्मक भावहरू व्यक्त गर्न सकिन्छ, कुराकानीलाई समृद्ध बनाउन सकिन्छ र कुराकानीद्वारा उनीहरूलाई खुशी महसुस गराउन सकिन्छ ।

हाँसोले सफलतातर्फ डोऱ्याउँछ

जिम क्यारीले आफ्नी बिरामी आमालाई हँसाउनका लागि कमेडि सुरु गरेका थिए । आमा बिरामी र बुबा बेरोजगार भएकोले उनको बाल्यकाल एकदमै कठिन थियो । घरविहीन भएर उनले कयौं रात सडकमै बिताए तर पनि उनले आफ्नो आशा र हाँसो गुमाएनन् । अन्ततः असङ्ख्य पटक हास्य प्रस्तुतिहरू दिएर उनी हाँस्य चलचित्रका स्टार बने । पछि उनले हाँसोको माध्यमद्वारा नयाँ जीवन पत्ता लगाएको कुरा बताए ।

मुस्कानका कारण सफल भएका स्टारहरूको कुरा गर्दा एउटा छुटाउनै नहुने नाम छ । एक जना अपरिचित अभिनेत्री नयाँ चलचित्रको मुख्य भूमिकाको लागि कलाकार खोजिरहेको खबर सुनेर एउटा मनोरञ्जन कम्पनीमा गइन् । अडिसनमा असफल भएको कुरा थाहा पाए पनि उनी निराश भइनन् बरु उल्टै मुस्कुराइन् । त्यसैले निर्देशकले उनलाई फेरि बोलाए । उनले फेरि अडिसन दिइन्, र उनी अडिसनमा पास भइन् । योचाहिँ ‘गन विद द विन्ड’(Gone with the wind) भन्ने चलचित्रकी विश्व चर्चित अभिनेत्री भिभियन ले(Vivien Leigh)को कहानी हो ।

पुरातन समयमा जब मानिसहरू तरवार र ढाल लिएर लड्थे, युद्धभूमिमा सेनापतिहरूले हाँसोलाई हतियारको रूपमा प्रयोग गर्थे । ठूलो स्वरमा ‘हाहाहा !’ गरी हाँस्दै, तिनीहरूले डरलाई आत्मविश्वासमा परिणत गरी शत्रुहरूलाई निराश पार्थे । अत्तालिँदा हाम्रो मुटु सामान्य अवस्थामा भन्दा जोडले धडकिन्छ, तर मुस्कुराउँदा शान्त हुन्छ ।

अन्तर्वार्ता वा व्यापारिक वार्ताका लागि बाहिर जाँदा केवल आफ्नो पहिरनको बारेमा मात्र चिन्ता गर्नुहुँदैन तर सबैभन्दा पहिला आफ्नो अनुहारमा मुस्कान कायम गर्नुपर्छ । हँसिलो अनुहारले सहज महसुस गराउँछ र राम्रो परिणाम प्राप्त गर्न मद्दत गर्छ ।

हाँसोले खुशी निम्त्याउँछ

सन् १९८८मा जर्मन मनोवैज्ञानिक डा. फ्रिट्ज स्ट्र्याक(Dr. Fritz Strack)ले मानिसहरूको दुई समूह बनाएर उनीहरूलाई एउटै हाँस्य पुस्तक पढ्न लगाए । उनले हाँस्य पुस्तक पढ्ने एउटा समूहका मानिसहरूलाई ओठले पेन्सिल च्याप्न लगाए भने अर्को समूहलाई चाहिँ दाँतले टोक्न लगाए । यसरी उनले एउटा समूहका मानिसहरूलाई मुख चुच्चो बनाउन र अर्को समूहलाई मुस्कुराउन प्रोत्साहन गरे । दाँतले पेन्सिल टोकेका र अजानमा मुस्कुराइरहेका समूहले हाँस्य पुस्तकलाई बढी रोचक तरिकाले पढे र उनीहरूले त्यो कथालाई राम्रोसित सम्झिए ।

अनुहारको अभिव्यक्ति अनुसन्धानका विज्ञ डा. पल एकम्यान(Dr. Paul Ekman)का अनुसार “जब कुनै व्यक्तिले कुनै विशेष भावनात्मक अभिव्यक्तिको नक्कल गर्छ, तब शरीरले त्यसैअनुसार प्रतिक्रिया दिन्छ ।” अर्को शब्दमा भन्नुपर्दा, सचेत भएर मुखको कुनाहरू उठ्ने गरी आँखाका कुनाहरू खुम्चाएर मुस्कुरायो भने हाम्रो दिमागले हामी वास्तवमै मुस्कुराइरहेका छौं भन्ने कुरा सोच्दछ र खुशीका रसायनहरू उत्पन्न गर्दछ ।

निराश र उदास महसुस हुँदा मुस्कुराउने प्रयास गर्नुपर्छ । यदि त्यसो गर्न गाह्रो लाग्छ भने “इ” भन्नुपर्छ । हरेक दिन मुस्कुराउने मानिसहरूको जीवनप्रति सकारात्मक दृष्टिकोण हुन्छ । जसरी खुशी हुँदा स्वाभाविक रूपमा मुस्कुराउन पुगिन्छ । त्यसरी नै अनुहारको अभिव्यक्ति परिवर्तन हुँदा हाम्रो मन पनि परिवर्तन हुन्छ । मुस्कान खुशीको परिणाम हुनुका साथै खुशीको सुरुवात पनि हो ।

आफ्नो परिवारलाई सधैँ मुस्कान देखाउनुहोस्

छोरा-छोरीको मुस्कानले आमा-बुबालाई ठूलो खुशी दिन्छ । आमा-बुबाले रमाइलो अनुहार, आँखाको हाउभाउ र विभिन्न आवाजहरू बनाएर आफ्नो बच्चालाई हँसाउने प्रयास गर्छन्, र जब बच्चा संयोगवशं हाँस्छ तब उनीहरू एकदमै खुशी हुन्छन् ।

आमा-बुबाको मुस्कानले बच्चालाई खुशी र सान्त्वना दिन्छ । चिनियाँ इतिहासअनुसार वसन्त र शरद ऋतुको अवधिमा (ई.पू ७७१ देखि ई. पू ४७६सम्म) लाओ लाइ जी(Lao Lai Zi) नामक एक व्यक्तिले सत्तरी वर्षको उमेरमा रङ्गिन लुगा लगाएर मायालु अभिनय गरी आफ्ना वृद्ध आमा-बुबालाई हँसाएका थिए ।

यदि हामी कसैलाई प्रेम गर्छौं भने हामी त्यो व्यक्तिलाई हँसाउन चाहन्छौं । किनभने हाम्रो प्रिय व्यक्ति मुस्कुराउँदा हामी खुशी र आनन्दित हुन्छौं ।

आफ्ना प्रियजनलाई हँसाउनको निम्ति सबैभन्दा पहिला हामी आफैँ खुशी मनले मुस्कुराउनुपर्छ । आफ्नो परिवारलाई हँसिलो अनुहार देखाउनु नै उनीहरूलाई ठूलो उपहार दिनु हो । असल बुबा-आमाले आफ्नो सन्तानको अगाडि मुस्कुराउँछन् र असल छोरा-छोरीले पनि आफ्ना बुबा-आमाको अगाडि मुस्कुराउँछन् ।

मुस्कुराउँदै एक-अर्कालाई खुशी बनाउने प्रयास गर्दा पारिवारिक सम्बन्ध बलियो हुन्छ । हाँसेर काम गर्दा ठूलो देखिने समस्याहरू पनि साना देखिन्छन्, अनि कहिलेकहीँ ती समस्याहरू विलिन भएर जान्छन् । यसकारण जीवनको यात्रामा असहज हुँदा, बुबा-आमाले सन्तानको मुस्कान देख्दा मात्र पनि सबै पीडा हराएको महसुस गर्छन् ।

एउटा बालक थियो जसलाई खुशीले सधैँ पछ्याउँथ्यो । विद्यालय जाँदा, खाँदा वा पढ्दा ऊ सधैँ खुशी हुन्थ्यो । एक दिन त्यो बालकले खुशीलाई जिज्ञासु भएर सोधेछ । “तिमी किन मेरो पछि लाग्छौ ?” खुशीले जवाफ दिएछ, “मलाई तिम्रो मुस्कान मनपर्छ ।”

टेलिभिजनमा निश्चित समयमा प्रसारण हुने हास्य व्यङ्ग्यात्मक कार्यक्रम हेरेर पेट मिचिमिचि हाँस्न सकिने कार्यक्रमविना पनि हामी सधैँ हाँस्न र खुशी हुन सक्छौं । हाँसोचाहिँ तीव्र गतिमा फैलन्छ, एक जनाको हाँसोले अरू १० जनालाई हँसाउन सक्छ । हामी मुस्कुराउँदा हामीलाई प्रतिबिम्बित गर्ने ऐना पनि मुस्कुराउँछ र हाम्रो परिवारका सदस्यहरू पनि मुस्कुराउँछन् । यसले हाम्रो मन उज्ज्यालो बनाउनुका साथै सबै किसिमका कठिनाइहरू पार गर्न शक्ति दिन्छ ।

हाँसो भनेको कृतज्ञताको प्रत्यक्ष अभिव्यक्ति हो । स-साना कुराहरूमा कृतज्ञ भइयो भने स्वतः मुस्कुराउन पुगिनेछ । फोटो खिच्नका लागि ‘चिज’ भनिने समय मात्र मुस्कुराउने क्षण हुनुहुँदैन । तर मानिसहरूका अगाडि, अनि हाम्रो जीवनको यात्रामा सधैँ मुस्कुराऔं । आजैदेखि मुस्कुराऔं !