प्रार्थना किन गरिन्छ ?

48,882 भ्यु

प्रार्थना गर्नुपर्ने कारण के होला ? कुनै उद्देश्यविना यतिकै प्रार्थना गर्ने मानिसहरू पनि छन् । तर यदि हामीले प्रार्थना गर्नुपर्ने कारण बुझेर स्पष्ट उद्देश्यका साथ प्रार्थना गर्छौं भने त्यो साँचो प्रार्थना बन्नेछ ।

त्यसोभए अब प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्नेछौं ।

१) परमेश्वरलाई धन्यवाद चढाउन

जीवनयापन गर्ने क्रममा परमेश्वरको प्रेम र अनुग्रहलाई महसुस गर्ने क्षणहरू धेरै हुन्छन् । परमेश्वरले हामीलाई प्रदान गर्नुहुने असङ्ख्य अनुग्रहप्रति धन्यवाद चढाउन हामी प्रार्थना गर्दछौं । “दैनिक भोजन दिनुभएकोमा धन्यवाद” भनेर खाना खाने बेलामा गरिने प्रार्थना छ, बिलकुलै समाधान गर्न नसकिने समस्याहरू परमेश्वरको सहयोगद्वारा सुरक्षित तवरले समाधान हुँदा चढाइने धन्यवादको प्रार्थना छ, अनि कठिन परिस्थिति आइपरे तापनि परमेश्वर हाम्रो आशा हुनुभएकोमा चढाइने धन्यवादको प्रार्थना पनि छ । परमेश्वरको अनुग्रहप्रति धन्यवाद चढाउने आदत बस्यो भने धन्यवाद चढाउने अवस्थाहरू अझ धेरै बनाइदिनुहुन्छ ।

२) परमेश्वरबाट सहयोग पाउन

यो संसारमा जिउने क्रममा हामीले थुप्रै कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । तर हाम्रो क्षमता सीमित भएकोले हामीलाई परमेश्वरको सहयोग अत्यावश्यक हुन्छ । तसर्थ हाम्रो कमजोरी जान्नुभएर सहयोग गर्नुहुने परमेश्वरलाई हामीले प्रार्थना चढाउनुपर्छ (यशै ४१:१०) ।

३) वचनमा आज्ञाकारी हुन (आवश्यक कुरा प्राप्त गर्न)

येशूज्यूले हाम्रो प्रार्थनाको उत्तर अवश्य नै दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको छ ।

“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौं, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ ।” मत्ती ७:७-८

विश्वासको बाटो हिँड्दैजाँदा माग्नुपर्ने, खोज्नुपर्ने र ढकढक्याउनुपर्ने कुराहरू धेरै हुन्छन् । येशूज्यूको वचनमा आज्ञाकारी भएर मागेमा, खोजेमा र ढकढक्याएमा परमेश्वरले हाम्रो इच्छा पूरा गरिदिनुहुनेछ ।

४) परीक्षामा विजयी हुन

दियाबलसद्वारा परीक्षा गरिनुअघि येशूज्यूले ४० दिनसम्म उपवासको प्रार्थना गर्नुभएपछि परीक्षाको सामना गर्नुभएर विजय प्राप्त गर्नुभयो (मत्ती ४:१-११) । अनि उहाँले परीक्षामा नपर्नको निम्ति जागा भएर प्रार्थना गर भन्नुभएको छ (लूक २१:३४-३६) । बेबिलोनको कैदमा परेको बेलामा पनि दानिएलले यरूशलेमतिर फर्केर दिनमा ३ पटक प्रार्थना चढाएका थिए । दानिएलले दिनदिनै प्रार्थनामा जोड दिएकाले उनी सिंहको आहारा हुनबाट बचाइए (दान ६:१९-२५) । परमेश्वरसँग प्रार्थना गरेर अय्यूब अन्त्यमा शैतानको चरम परीक्षामाथि विजयी हुन सके (अयू ४२:१०) । योना अगमवक्ताले पनि परमेश्वरले दिनुभएको मिसन पूरा गर्ने अठोट गरेर पश्चात्तापको प्रार्थना चढाउँदा निनवे सहरका दुष्ट मानिसहरूलाई पश्चात्ताप गराएर मुक्तिमा डोऱ्याए (योना २:१-३:१०) । विश्वासका पुर्खाहरूले प्रार्थनाद्वारा कठिन परिस्थितिमाथि विजय गरेजस्तै हामीले पनि प्रार्थनाद्वारा सम्पूर्ण परीक्षाहरूमाथि विजयी हुने विश्वासको जीवन जिउनुपर्छ ।

हामीले प्रार्थना गर्नुपर्ने कारणचाहिँ परमेश्वरले दिनुभएको अनुग्रहप्रति धन्यवाद चढाउन र सर्वशक्तिमान् परमेश्वरको सहयोग माग्नको निम्ति हो । अनि विभिन्न परीक्षालाई जित्नको निम्ति पनि हो । परमेश्वर प्रसन्न हुनुहुने धन्यवादको प्रार्थना, सहृदयदेखि प्रार्थना चढाएर प्रशस्त आशिष् पाउने हामीहरू हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
अय्यूबले शैतानको चरम परीक्षालाई जित्न सक्नुको कारण के थियो ?
हामीले प्रार्थना गर्नुपर्ने कारण के हो ?