राहाब र अजिङ्गर

2029 हेरेको संख्या

… के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो ? के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो ? यशै ५१:९

परमेश्वरले प्राचीन समयमा वारपार छेड्नुभएको र अन्तिम समयमा पनि वारपार छेड्नुहुने राहाब र अजिङ्गरको विषयमा अध्ययन गरौं ।

उहिले यरीहो सहरको भेद लिन गएका दुई जना जासूसहरूलाई आफ्नो घरमा लुकाएकी ‘राहाब(רחב)’ नाउँ गरेकी एक वेश्या थिइन् । तर यशैया ५१:९मा भनिएको राहाबचाहिँ, ती राहाब होइनन् ।

‘राहाब(רהב)’ भनेको प्राचीन किम्वदन्तीअनुसार समुद्री दैत्यको हिब्रू नाउँ हो, अनि यो राहाबले देवताहरूको अगाडि आत्मसमर्पण गर्छ भन्ने गरिन्थ्यो । राहाब(רהב)को अर्थ हिब्रू भाषामा ‘हिंस्रक, आँधी र अहङ्कार’ हो । परमेश्वरका प्रजा इस्राएलीहरूलाई दासत्वमा राखेको देश, अनि परमेश्वरले झार्नुभएको १० विपत्तिमा परेको मिश्रदेशलाई नै समुद्री दैत्य ‘राहाब’को रूपमा सङ्केत गरिएको छ ।

यहूदीहरूमा अश्शूरको डर छाएको बेला, ती यहूदीहरूले परमेश्वरमा होइनकि मिश्रमा भरोसा गरेकाले परमेश्वरले यस्तो वचन दिनुभयो :

मिश्रदेशमा जसको सहायता एकदमै व्यर्थको छ । यसकारण मैले त्यसलाई केही नगर्ने राहाब(समुद्री दैत्य) भनेको छु । यशै ३०:७

अनि फेरि ‘अजिङ्गरलाई वारपार छेड्नुभयो’ भन्ने वचनमा उल्लेखित अजिङ्गरलाई हिब्रू भाषामा ‘तानिन’ भनिएको छ, जसको अर्थ ‘सर्प, अजिङ्गर र दैत्य’ हो ।

परमेश्वरले मिश्रीहरूमाथि १० विपत्ति झार्नुभयो, र तिनीहरूलाई डरले काँप्ने गराउनुभई इस्राएलीहरूलाई छुटकारा दिलाउनुभयो । यसको साथै इस्राएलीहरूलाई लखेट्दै लाल समुद्रमा पसेका मिश्रीहरूलाई त्यहीँ डुबाएर नष्ट गरिदिनुभयो । यही कुरालाई यशैया अगमवक्ताले ‘परमेश्वरले राहाब(समुद्री दैत्य)लाई वारपार छेड्नुभयो’ भनेर वर्णन गरेका हुन् । अनि यो प्रसङ्गमा, मिश्रका शासक फारोले आत्मसमर्पण गरेका कुरालाई ‘अजिङ्गरलाई वारपार छेड्नुभयो’ भन्ने कुरासँग तुलना गर्नुभयो ।

निष्कर्षमा भन्नुपर्दा, राहाब र अजिङ्गर भनेको एउटै अस्तित्व हो । प्रथमत: यसले मिश्र र मिश्रको शासकलाई जनाउँदछ । बेबिलोनको दासत्वमा परेको समयमा, बेबिलोनका राजालाई अजिङ्गरको रूपमा सङ्केत गरिएको थियो । द्वितीयत: यसले पापमय संसारको शासक दियाबलसलाई जनाउँदछ । उत्पत्ति १:२१को पाँचौँ दिनमा सृष्टि भएका ठूला माछाहरूलाई पनि हिब्रूमा ‘तानिन(दैत्य, पशु)’ भनेर अनुवाद गरिएको छ । त्यसैले पाँचौँ दिनको अगमवाणीको समयमा, समुद्रबाट निस्किआएको पशुले अजिङ्गरबाट शक्ति पाई १,२६० वर्षसम्म मण्डलीमाथि शासन गऱ्यो ।

समुद्री दैत्य, अजिङ्गरले यो संसार(समुद्र)लाई शासन गर्ने दियाबलसलाई जनाउँदछ । त्यसैले दानिएलको पुस्तक र प्रकाशको पुस्तकमा परमेश्वरको विरुद्धमा बोल्ने पशु समुद्रबाट निस्कन्छ भनेर लेखिएको छ । यो संसार(समुद्र)को अस्थायी मालिक, दियाबलसको इन्साफ गर्नुभई त्यसलाई अग्नि-कुण्डमा फालिदिनुहुने अर्थात् ‘राहाबलाई टुक्रा-टुक्रा पार्नुभई त्यस अजिङ्गरलाई वारपार छेड्नुहुने’ व्यक्ति नै हामीलाई मुक्ति दिनको निम्ति अन्तिम समयमा प्रकट हुनुभएका एलोहिम परमेश्वर हुनुहुनेछ । यो संसारको अस्थायी मालिक दियाबलसलाई इन्साफ गरेर त्यसलाई अग्नि-कुण्डमा फालिदिनुहुने र हामीलाई चाहिँ स्वर्ग-राज्यमा डोऱ्याउनुहुने यो युगका मुक्तिदाता एलोहिम परमेश्वरलाई स्तुति र धन्यवाद चढाउने हामीहरू हुनुपर्छ ।