WATV.org is provided in English. Would you like to change to English?

सिक्ने र भर्ने समय

सिन नु रि / बुछन, कोरिया

400 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

युवा समूहमा पुगेपछि मैले, अग्रज सिस्टरहरूको प्रेमभित्र रहेर भेलामा सहभागी हुँदै सियोनको न्यानोपना जान्न सकें । एक दिन, हामीले भिडियो हेरेर सन्तहरूसँग सियोनको सुगन्ध बाँड्यौं । तब एक जना सिस्टरले हाम्रो निम्ति बलिदान गर्नुहुने माताप्रति अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी हुँदै आँसु बगाउनुभयो । किन त्यसो भयो भन्ने थाहा नभए तापनि म, साँचो पश्चात्ताप गर्नुहुने सिस्टरको स्वरूपबाट एकदम प्रभावित भएँ, तर आराधनापिच्छे परमेश्वरको अमूल्य वचनमा ध्यान नदिएकोमा म आफैप्रति लज्जित पनि भएँ ।

त्यसपछि मैले परिवर्तन भएर नयाँ गरी जन्मन प्रयत्न गरें । कसैसँग पनि कुरा नगरीकन आराधना सकिनेबित्तिकै घरतिर लाग्ने विद्यार्थी छँदाका समयहरूभन्दा ठीक विपरीत म लगनशीलताका साथ भेलामा सहभागी भएर वचन अध्ययन गर्दै आशिष् पाउने कार्यमा अग्रसर भएँ । तब मलाई विदेश मिसनप्रति रुचि लाग्न थाल्यो । सुरुमा मैले यसलाई मसँग कुनै सम्बन्ध नभएको कार्यजस्तो ठान्ने गर्थें, तर पछि मैले यसलाई आफ्नो मिसनको रूपमा लिन थालें । समुद्रपारिको विदेशी भूमिमा साहस र व्यग्रतापूर्वक सुसमाचार प्रचार गर्दै हराएका भाइ-बहिनीहरू खोज्ने प्रभातका शीतजस्ता युवाहरूको स्वरूपले मेरो हृदयमा जोशको आगो सल्काइदियो ।

परमेश्वरमा भरोसा गर्दै आफ्नो आशा पूरा गर्ने निर्णय गरेपछि, थुप्रै अवरोधहरूको बाबजुद मेरो अगि विदेश मिसनको बाटो फराकिलो गरी खुल्यो । अति खुशी र धन्यवादी हुँदै मैले सँगै जानुहुने सन्तानहरूसँग ब्राजिलतर्फको उडानमा बिमानदेखि नै उत्साहपूर्वक वचन सुनाएँ ।

ब्राजिलको उत्तरपूर्वमा अवस्थित पेर्नाम्बुकु राज्यको राजधानी र बन्दरगाह सहर, रेसिफिचाहिँ सुसमाचारको मुना पलाउन थालेको क्षेत्र थियो । आराधनालयको छाना जस्ताले छाएकोले वर्षायाममा पानी पर्दा ठूलो आवाज आउने भएर प्रवचन सुन्न अलि गाह्रो हुन्थ्यो, तर सन्तहरू गनगन नगरीकन अनुग्रहात्मक रूपले विश्वासमा हुर्किरहनुभएको थियो ।

यस्ता सुन्दर दाजुभाइ-दिदीबहिनीहरू खोज्न सक्ने आशाका साथ मैले ब्राजिल सुसमाचारको ढोका ढकढक्याएँ । मेरो पोर्चुगिज भाषा कमजोर भएकोले स्थानीयवासीहरूले मेरो कुरा जसोतसो बुझ्थे । तैपनि धेरै मानिसहरूले धैर्यतापूर्वक मेरो कुरामा कान लगाए ।

तीमध्ये एक जनाचाहिँ सिस्टर नाइडी हुनुहुन्छ । पहिलो पल्टको भेटमा हामीले स्वर्गीय माताको विषयमा जानकारी दिँदा उहाँले त्यसबारे पहिल्यै सुनिसकेको कुरा बताउनुभयो, र हामीलाई भेट्न पाएकोमा खुशी हुनुभयो । तर बुझिहेर्दा, उहाँले ४ वर्षअघि रेसिफिमा सुसमाचारको भूमि बीजारोपण हुँदा सत्यता ग्रहण गर्नुभएको कुरा थाहा भयो । दुई छोरीहरू र नातिनीसँगै परमेश्वरको सन्तान बन्ने आशिष् पाउनुभए पनि अर्की छोरीको चरम विरोधका कारण विश्वासलाई निरन्तरता दिन नसक्नुभएकी सिस्टर लामो समयपछि फेरि सियोन आउन खोज्नुभएको रहेछ, तर फोन नम्बर र मण्डलीको ठेगाना हराएर जान नसक्दा धेरै दुःख लागेको कुरा उहाँले हामीलाई बताउनुभयो ।

सत्यताको उत्कट चाह गर्नुभएकी सिस्टरले बाइबल पढ्दा ‘परमेश्वरको मण्डली’ भन्ने शब्दप्रति जिज्ञासा लागेर प्रोटेस्टेन्ट मण्डलीका पास्टरलाई त्यसबारे सोध्नुभएछ, तर कुनै जवाफ नपाएकोले उहाँ एकदमै निरुत्साहित हुनुभएछ । हामीले बाइबलद्वारा परमेश्वरको मण्डलीचाहिँ निस्तार-चाड मान्ने ठाउँ हो भनेर जानकारी दिँदा, उहाँ एकदमै खुशी हुनुभयो । सिस्टरले, छेउमा बसेर उहाँसँगै वचन सुनिरहनुभएको उहाँको चिनाजानालाई तुरुन्तै सियोनमा डोऱ्याउनुभयो, अनि त्यसपछि सत्यताबाट टाढिएका छोरीहरू र परमेश्वरको मण्डलीको विरोध गरेकी छोरीलाई समेत साँचो परमेश्वरकहाँ डोऱ्याउनुभयो ।

सिस्टर क्लेइडीको कहानी पनि अनुग्रहात्मक छ । बाइबलको वचन लगातार अध्ययन गर्नुभए पनि उहाँ न सियोन आउनुहुन्थ्यो नता परमेश्वरलाई ग्रहण नै गर्नुहुन्थ्यो, उहाँले उल्टै हामीलाई दुःखित तुल्याइरहनुभएको थियो । एक दिन, सिस्टर भारी वर्षामा भिज्दै छोरीसँग सियोनमा आउनुभयो । उहाँलाई पानीले निथ्रुक्क भिजेको देखेर छक्क पर्दै मैले केही भयो कि भनेर सोधें । उहाँ सत्यताप्रति अन्ततः विश्वस्त भएकोले मानिसहरूलाई मण्डलीको ठेगाना सोध्दै मण्डली आइपुगेको कुरा उहाँले बताउनुभयो । परमेश्वरलाई ग्रहण गरेपछि सिस्टरले हृदयदेखि परमेश्वरका नियमहरू पालन गर्दै स्वर्गीय आशिष् जम्मा गर्दैहुनुहुन्छ ।

सुन्दर स्वर्गीय परिवारहरू सियोनमा आउनुभएकोले हाउस चर्च यति खचाखच भयो, कि हामीले ठूलो मन्दिर खोज्नुपर्ने भयो । त्यही बेला, उचित भवन फेला पऱ्यो, अनि निस्तार-चाडअघि नयाँ मन्दिर निर्माण कार्य समाप्त गर्ने निर्णयका साथ सबै सन्तहरूले कम्मर कस्नुभयो । जस्तोसुकै मौसममा पनि पर्खाल बनाउने, सिमेन्ट लगाउने र सफा गर्ने कामले एकातिर थकित तुल्याएको भए पनि अर्कातिर मन्दिर निर्माण गर्न पाएकोमा मात्र पनि हामी सबै जना धन्यवादी थियौं ।

पिता-माताको आशिष् र सन्तानहरूको एकताद्वारा निर्मित नयाँ मन्दिर पनि केही समय नबित्दै निष्कपट आत्माहरूले भरिन थाल्यो । सानैदेखि नारी स्वरूपकी परमेश्वरको अस्तित्वको बारेमा जिज्ञासु भइरहनुहुँदा छिमेकमा बस्नुहुने सियोनको सन्तमार्फत स्वर्गीय मातालाई ग्रहण गर्नुभएर आफ्ना पति र छोराहरूलाई पनि डोऱ्याउनुभएकी एक जना सिस्टर, अनि प्रोटेस्टेन्ट मण्डली धाइरहने क्रममा इन्टरनेटमा शबाथ-दिनको विषयमा महासचिवज्यूको प्रवचन हेर्नुभएर सियोनको खोजी गर्नुभएका ब्रदर; आमाको काखमा सानो बालकझैँ खुशी हुनुभएका सन्तहरूलाई देख्दैपिच्छे मेरो हृदय अवर्णनीय खुशीले ओतप्रोत हुन्थ्यो । कहिलेकहीँ विरोध र सतावट आइपर्ने, कहिलेकहीँ चोट लागेर दुःखित हुने अवस्था भए पनि, परमेश्वरमा अझ भरोसा गर्दा र फल फल्दाको खुशी झन् ठूलो हुन्थ्यो ।

म कोरिया फर्किएँ । नयाँ सुरुवाती बिन्दुमा उभिएकी म अहिले, परमेश्वरले मलाई ब्राजिल मिसनमा पठाउनुको इच्छामा यसो विचार गर्ने गर्छु । ब्राजिल जानुभन्दा एक वर्षअघि मैले सुसमाचारको निम्ति केही गर्छु भनेर सोचेकी पनि थिइनँ । परमेश्वरको आशिष्‌विना मेरो विदेश मिसन असम्भव थियो । ब्राजिलको रेसिफिमा बिताएको ३ वर्षचाहिँ पिता-माताको प्रेम र बलिदान अनि सत्यताको मूल्य बाहिरी ज्ञानको रूपमा मात्र लिएकी मेरो निम्ति परमेश्वरले प्रदान गर्नुभएको ‘सिक्ने र भर्ने’ समय बन्यो । ब्राजिल सुसमाचारमा मेरो शक्ति आवश्यक परेकोले होइनकि मेरो विश्वास हुर्कने प्रक्रियामा त्यो अनुभव र महसुस आवश्यक भएकोले परमेश्वरले यस्तो मौका दिनुभएको हो । ३ वर्षसम्म सुसमाचारमा ध्यान दिने क्रममा मैले, हामीलाई बचाउन विनाविश्राम कार्य गर्नुहुने पिता-माताको महान् प्रेम र बलिदान थोरै भए पनि महसुस गर्नुको साथै धैर्यताको रहस्य र सन्तहरूसँग मिलापमा रहने तरिका पनि सिकें ।

कोरियामा हिँड्ने सुसमाचारको बाटोमा पनि सिक्नुपर्ने र भर्नुपर्ने कुराहरू धेरै छन् । मैले आशिष् पाउन योग्यको स्वरूप लिन सकूँ भनेर परमेश्वरले धेरै समय र प्रक्रिया तयार गरिदिनुभएकोले अब म पनि परमेश्वरको कार्यमा थोरै सहयोग बन्न सक्ने गहिरो आशा गर्दछु । त्यो आशा पूरा गर्नको निम्ति, मलाई प्रदान गर्नुभएको ठाउँमा म लगनशीलतापूर्वक सुसमाचार प्रचार गर्दै परमेश्वरको सोरको प्रतीक्षा गरिरहेका भाइ-बहिनीहरू खोज्नेछु । सबै कुरामा खुशी र धन्यवादी भएको ब्राजिलको समयजस्तै म सबै कार्य सधैँ खुशी र धन्यवादी मनद्वारा गर्नेछु ।